जनसहभागिता बढाउन गाेठीचाैरमा गज्जबकाे संस्कृति : बल गर विराै, बलिका छाेराै

BreaknLinks
BreaknLinks

बुधबार बिहानैदेखि गुठीचाैर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा जुम्ला सदरमुकाम खलङ्गामा पत्रकारको टाेली लिन गाडी लिएर आफैं पुगेका थिए।

पत्रकार महासंघका अध्यक्ष नेत्र शाही लगायतकाे टाेलीलाई आफ्ना गाडीमा बसालेका उनी सिधै नेपाली सेनाकाे नन्दाबक्स गणमा पुगे। त्यहाँ गणपति रविन थापाले कफी र ब्रेकफास्टकाे व्यवस्था गरेका थिए।

सँगै थापाले एक गाडीमा ३० जना सेनाका जवान पठाइदिए। त्यसकाे डेड घण्टाजतिमा टाेली गाउँपालिकाकाे गुठीचाैर हुँदै कुडी गाउँमा पुग्याे। त्यहाँ भर्खर खाना पकाउने तयारी भइरहेको थियाे।

त्यसकाे नेतृत्व वडा नम्बर १ र २ का अध्यक्षहरु अर्जुनकुमार महतारा र दिपबहादुर ऐडीले गरेका थिए। समयमै खाना पाक्ने छाँटकाँट नदेखेेका पालिका अध्यक्ष बुढाले गाउँलेहरु, नेपाली सेना र प्रहरी जवानलाई जङ्गल लिएर गए।

दुई दिनअगाडि मिस्त्री लगाएर काटिएका काठका गेली ल्याउनुपर्ने थियाे। जाे पुलकाे पिलरकाे रुपमा प्रयाेग हुनेवाला थियाे।

कारण, दसैंकाे दिनबाट परेकाे अविरल वर्षापछि आएको बाढी पहिरोले डोल्पा–जुम्ला सडक खण्डकाे गुठीचाैर- २ मा पर्ने काेदारी पुल बगाएकाे थियाे।

गाउँपालिकाले जनपरिचालन र सरकारी संयन्त्र प्रयाेग गरेर २४ घण्टामै गाडी गुड्ने नयाँ पुल निर्माणकाे अभ्यास गरेकाे थियाे।

पालिका जाेड्ने आन्तरिक सडकहरु धेरै ठाउँमा भत्किएका भएपनि सबै ठाउँकाे बढी पहिराे पञ्छाइसकेकाे गाउँपालिकाले पुल निर्माण गेरेर सडक खुलाउन नयाँ अभ्यास थालेकाे थियाे। साँझ ५ बजेमात्र जङ्गलबाट पालिका अध्यक्ष बुढासहितकाे टाेली काठका गेली लिएर आयाे।

खाना नखाएर दिनभरि काममा लागेका उनले भने,'जनपरिचालन जस्ताे सामूहिक कामकाे चलन खस साम्राज्यमा युगाैंदेखि भएपनि पछिल्लो समय हराउन थालेकाे थियाे। अहिले हामीले फेरि सुरु गर्नलाई म आफैं फ्रन्टलाइनमा भइन भने अरुले काम गर्दैनन्।'

माओवादी युद्धमा जनपरिचालनकाे काम भएपनि पछिल्लो समय उपाभाेक्ताहरु याेजनाकाे भरपर्ने हुँदा सामूहिक कामकाे चलन हराउँदै गएकाे छ। अहिले फेरि कम खर्चमा बढी काम गर्न यस्ताे अभ्यास थालेकाे उनले बताए।

जङ्गलबाट पुलकाे बिमकाे रुपमा प्रयाेग हुने काठका ठुला गेली ल्याएर खाना खाएपछि पहिलो दिनकाे काम सकियाे। त्यतिबेलासम्म बिहानैदेखि ग्याबिन जाली चिनेर नदीकाे वारिपारि दुईटा पिलरकाे खडा गरिसकिएकाे थियाे।

भाेलिपल्ट बिहान फेरि काम सुरु भयाे। जङ्गलबाट ल्याइएका काठका गेली जाे सिङ्गै रुख बराबर थिए। दुई/चार जनाकाे बलले सकिनेवाला थिएन। सामूहिक बलबाट मात्रै सम्भ हुने गुठीचाैर गाउँपालिका- गाेठी गाउँका ६२ वर्षीय लालबहादुर बाेहाेराले बताए।

सामूहिक कामलाई छिटाे, छरिताे सम्पन्न गर्न त्याे सामूहिक बललाई जाेस, जाँगर थप्न र  उत्साह जगाउनका साथै थकान महसुस हुन नदिनका लागि गाउँलेले सदियाैंदेखि याे तलकाे मनाेरञ्जनात्मक, ठट्याैली संस्कृति विकास गरेकाे सारै अद्भुतलाग्दाे छ। जसले सबैकाे बल एकमुष्ट रुपमा लगाउन सहयोग मिल्छ। जुन यस्ताे खालकाे छ।

हस्ते, हस्ते, 
हुम भुन विराै, विरै विराै।
बल गर विराै, बलिका छाेराै।
अघिल्ला विराै, पछिल्ला सुराैं। 
बल गर्‍या चल्छ, सल्लाकाे भाट्टाे।
चलाया चल्छ, सल्लाकाे भाट्टाे।
हस्ते, बल गर विराैं।
तरुनी आइछन्, दहीचिउरा ल्याइछुन्।
गच्काउला गच्काउला।
पियाला जाँग्डा, पैतेला फर्काइछुन्।

यसरी सामूहिक बलले पुल निर्माण हुँदा गाउँलेहरुले उत्सव मनाए। खसी काटियाे, अबिर लाइयाे। उनीहरुले आफ्ना देउताहरुहरु सम्झे। तीनलाई भाग दिए। देउताका बहानलाई मानाे मुठाे चडाएपछि पुल आउजाउ गर्न मिल्ने भयाे।

यसले तिहार जस्ताे चाडबाडकाे बेला जुम्ला सदरमुकाम खलङ्गादेखि डाेल्पाकाे सीमाना चोत्रासम्मको सडक आवतजावत र माल ढुवानीमा सहज बनायाे।

झण्डै १५ दिन सडक अवरुद्ध भएपछि गाउँमा दैनिक उपभाेग्य सामाग्रीकाे अभाव भएकाे गुठीचाैर गाउँपालिका- १ का अध्यक्ष अर्जुनकुमार महताराले बताए।

उनले भने,'पहिराे त हामीले पन्छाइसकेका थियौं। पुल निर्माणकाे लागि लागत ८/१० लाखकाे याेजना चाहिन्थ्याे। नभए सामूहिक श्रम जरुरी थियाे। हाम्राे पालिका अध्यक्षले सामूहिक श्रमकाे रित जगाउने विषय उपयुक्त हुन्छ भनेपछि माही त्यसकाे तयारीमा जुटेका हाैं।'

पुल निर्माणकाे काममा नेपाली सेना नन्दाबक्स गणबाट जमदार भेषबहादुर रायमाझी नेतृत्वको ३० जना सेनाको टोली खटिएको थियाे।

नेपाली सेना नन्दाबक्स गणका गणपति रवीन थापाले वर्षासँगै आएको बाढीले प्रभावित भएको जनजीवन सहज बनाउन सेनाको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा जुटेको बताए।

'अब दैनिक उपभोग्यवस्तु लैजान सहज हुने छ। विपद्‌मा परेका नागरिकका लागि राहत तथा उद्धारका क्रियाकलाप गर्न कठिन हुने छैन,' उनले भने, 'दुई हप्तादेखि अत्यावश्यक कामका लागि सदरमुकाम खलङ्गा आउन नसकेका स्थानीय सहजै रुपमा आउन सक्नेछन्।'

बिरामी बोक्न एम्बुलेन्स आउजाउका लागि सहज हुने भएकाे छ। डाेल्पाकाे मुड्कुचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकाका नागरिक उक्त सडक हुँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा लिइरहेका वडा नम्बर दुईका अध्यक्ष  दिपबहादुर ऐडीले बताए।

सामूहिक श्रम आफैंमा ठुलाे बल भएकाे गाेठी गाउँका ६६ वर्षीय मनसुर बाेहाेराले बताए। उनले भने, 'ओहोरदोहोर गर्न साह्रै गाह्राे थियाे। सेना, पुलिस, गाउँ टाेल सबै मिलेर बनाउन जाेडताेड गरेका हाैं। सबैकन अप्ठ्यारो थियाे। सामूहिक बलले सुविधा हुन्या भयाे।'

छाेटाे समयमा खाना, खाजा मात्रैमा खर्च गरेर पुल निर्माण भएपछि खुसी देखिएका गाउँपालिका अध्यक्ष बुढाले जनताले हात पसारेर फेला पार्ने सरकार नै स्थानीय तह भएकाे बताए।

उनले भने,'जनसहभागिता विना स्थानीय सरकार सफल हुन सक्दैन। त्यसैले सामूहिक श्रमकाे अवधारणा आएकाे हाे। याे पाली पालिकाले अधिकांश ठाउँमा जनसहभागिता तर श्रमदानबाट धेरे ठाउँकाे विपत् टार्न सहयोग मिल्याे।'

प्रकाशित मिति: : 2022-10-24 10:15:00

प्रतिकृया दिनुहोस्