दीपावल्यै नमो नमः

दसैंको धुमधाम सकिएपछि दीपावलीको रमझम सुरु हुन्छ। पहाडको गाँउ ठाउँमा सरसफाइ तथा रङ-रोगन दसैंभन्दा पहिल नै भइसकेको हुन्छ भने तराईका गाउँहरुमा सो कामहरु दसैंपछि र तिहारभन्दा पहिले मात्र हुन्छ। तराईका गाउँहरुमा पक्की घरहरुमा रङ-रोगनको, सरसफाइको काम सुरु हुन्छ भने कच्ची घरहरुको लिपाइ-पोताइ तथा वरिपरिका घाँस, खरको सफाइको काम सुरु हुन्छ।

धेरै वर्षात हुने नक्षत्रहरु हालैमा सिद्धिएको हुनाले वर्षातको कारणले बिग्रिए, भत्किएका फुसका पर्खाल(टाटी) मा माटोले लिप्ने पोत्ने काम आवश्यक भएको हुन्छ। फुसको टाटीमा बान्हा चलाएर दुरुस्त पारिन्छ। ‘मटखोना’ बाट माटो ओसार्ने काममा गाउँघरका महिला, युवती तथा किशोरीहरुलाई भ्याइ-नभ्याइ भइरहेको हुन्छ।

माटो ओसारेर त्यसमा पराल वा गहुँको भुस मिसाइ पानी हालेर कादो(लेदो) तयार हुन्छ र त्यही कादोले फुसको पर्खाल(टाटी) लिप्ने (मसिनल) काम हुन्छ। त्यो लेवार सुकेपछि गोबर र माटोको महिन लेदो बनाएर छेवछल (plaster) गर्ने काम हुन्छ। त्यसपछि पहेलो माटोको घोल बनाएर पोत्ने काम हुन्छ। यस प्रकारले पुरानो घर पनि नयाँ जस्तो भएर आउँछ।

कात्तिक महिनाको कृष्ण पक्षको तेरस तिथिदेखि यमपञ्चक सुरु हुन्छ। तेरसको दिनलाई धनतेरस भन्दछन् र यस दिन सुन, चाँदी, पित्तल, ताम्बा, स्टिल वा आल्मुनियम जस्ता गच्छेअनुसारको धातुको भाँडो वा गरगहना घरमा भित्र्याउँदा शुभ हुन्छ भन्ने जनविश्वास रहेको छ। चतुर्दशी तिथिलाई नरक चतुर्दशी वा ‘जमदियरी’ भन्दछन्। यस दिन रात्रिको समयमा खानपिनपछि एउटा सिंगाे दियो बालेर गोबरको मानमाथि अक्षता, फूल तथा सिक्काका साथ राखिन्छ। भोलिपल्ट बिहानै कसैले न देख्ने गरी त्यो पइसा टिपेर खल्तीमा राखी जुवा खेल्न गएमा हाँरिदैन भन्ने अन्धविश्वास रहेको छ।

तेश्रो दिन लक्ष्मी पूजा हुन्छ। साँझपख घरघरमा पाकेको माटाको दियरी घरको कुना काप्चा तथा कौसीमाथि लहरै बालिन्छ। गच्छेअनुसारका विभिन्न किसिमका पटाका, छुडछुडी, बम तथा रकेट उडाएर मनोरञ्जन गरिन्छ। गृहस्थको घर-घरमा दालभात, दही तथा विभिन्न किसिमका तरुवा, पकौडी, पापड, अचारजस्तो परिकार तयार हुन्छ, जसलाई सबैभन्दा पहिले गाई-गोरुलाई ख्वाएर मात्र घरका मानिसहरुले खान्छन्।

गृहस्थहरुको हली आएर गाई-गोरुका सिङमा तेल लगाइदिन्छ। यसैबेला कुनै गोठबाट भोजपुरी गीतको आवाज आउँछ–भइया रे...केकर खोनावल हउंअ‍े सागर पोखरवा, केकर बन्हावल हउंअ‍े आँट रे..बाजन बोल..। गीतको कडी सुनि सकेपछि अर्को गोठबाट जवाफ आउँछ– भइया रे.. आरे भाइ... राजाके खोनावल हउंअ‍े सागर पोखरवा, रानी के बन्हावल हउंअ‍े आँट रे.. बाजन बोल। यस प्रकारले घण्टौं प्रश्न उत्तर भइरहन्छ। अन्त्यमा हली, हलीका छोरा, नातीहरु गृहस्थकै घरमा साथैमा खाना खान्छन् र घरमा रहेका महिलाहरुका लागि खाना घर लग्दछन्। हलीले ल्याएको तेलको भाँडोबाट गृहस्थको कपालमा तेल लगाउन अनिवार्य हुन्छ, किनकि त्यसो गर्दा शुभ हुन्छ।

रात्रि प्रहर वा शुभ साइतमा लक्ष्मी माताको श्रद्धा र विश्वासका साथ पूजा आराधना हुन्छ। भगवती महालक्ष्मी चल–अचल,दृश्य–अदृश्य सबै सम्पत्तिहरु, सिद्धिहरु तथा निधिहरुको अधिष्ठात्री साक्षात नारायणी हुन्। भगवान श्रीगणेश सिद्धि–बुद्धिका तथा शुभ–लाभका स्वामी तथा सबै अमंगल र बिघ्नहरुका नाशक हुन्। श्रीगणेशले सत–बुद्धि प्रदान गर्ने देवता हुन्। अतः महालक्ष्मीका साथै गणेशको पूजनले कल्याण, मंगल तथा आनन्द प्राप्त हुन्छ। महालक्ष्मी तथा श्रीगणेशको पूजनका साथै श्रीदेहलीविनायक, मसिपात्र, लेखनी, सरस्वती, कुबेर, ढक–तराजु, तथा दीपमालाको पनि विधिवत पूजन गर्ने परम्परा रहेको छ।

तराईमा रहेको विश्वासअनुसार माता लक्ष्मीको यस प्रकारले पूजा आराधना गर्दा लक्ष्मीजीका साथै उनकी बहिनी दरिद्रा पनि आइपुग्दछिन्। लक्ष्मी पूजाको रातभरि दुइटै दिदी-बहिनीलाई घरमै बास गराएर रात्रिको तेश्रो प्रहरमा दरिद्रालाई घरबाट धपाइन्छ। यस कामको लागि घरमुली महिला (गृहस्थीन) नाङ्लोलाई उल्टो पारेर हँसियाले ठोकी ठटाएर– इशर रहस, दलिदर भागस... इशर रहस, दलिदर भागस... इशर रहस, दलिदर भागस...  भन्दा भन्दै र नाङ्लो ठटाउँदै घरको कुना काप्चा चहार्दै अन्त्यमा लगेर गोबरको मानमा हँसिया छिराएपछि दरिद्राको प्रभावबाट कल्याण हुन्छ भने जनविश्वास रहेको पाइन्छ।

चौथो दिन गोवर्धन पूजा हुन्छ। घरको द्वारमा घर मूलीले, घरमा रहेको गाइ–गोरु, बेर्‍ही–भखारी, सिलौटो–जातो आदिको प्रतिकको रुपमा गाइको गोबरले आकृति बनाउँछिन्, सिन्दुर, अक्षताले पूजा गर्छिन्। त्यही दिन केही मानिसहरुले भैंसीको डाढ खेलाउँन्छन्। सुंगुरको पूजा गर्ने बेलामा भोजपुरीको लग्न सुरु हुन्छ–सगुनी से सगुनी सगुनी सऽऽरा ..हिने, .. सगुनिया भल पावल, लगनिया अगुताइल हे...। ताहि सगुनी चलेलन ब्रह्म बाबा... बिहसत पइसिने आवास.. सगुनिया भल पावल ..., लगनिया अगुताइल हो...।

चौथो दिन बिहानै गोधन कुट्ने काम हुन्छ। गाउँभरिको गोबरको आकृतिलाई उखेलेर एक ठाउँमा ल्याएर हलोले कुटिन्छ। नानाथरि गीत गाउँदछन्, भाइलाई, दाइलाई सराप्दछन्, जिभ्रोमा काँढा रोप्द छन् र पुनः आशीर्वाद दिन्छन्। पाँचौं दिन बजडी ख्वाएर भाइटीका र यम पञ्चक समाप्त हुन्छ।यसपालीको दीपावलीलाई स्वागत गर्दै हामीहरु माता लक्ष्मीलाई प्रसन्न पारौं –

त्वं ज्योतिस्तवं रविश्चन्द्रो विद्युदग्निश्च तारकाः। 
सर्वेषां ज्योतिषां ज्योतिर्र्दीपावल्यै नमो नमः।।

प्रकाशित मिति: : 2022-10-24 07:00:00

प्रतिकृया दिनुहोस्