सामाजिक सञ्जाल : नेताहरूकाे चुनाव प्रचार गर्ने नयाँ विकल्प !

सुदिप बराल

काठमाडौं
BreaknLinks
BreaknLinks

नेपालमा इन्टरनेटको पहुँचमा व्यापक विस्तार र सामाजिक सञ्जालको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको प्रयोगले पनि व्यापकता पाएको छ। अधिकांश मानिसहरु सामाजिक सञ्जालको पहुँचमा छन्। उनीहरु आफ्ना दैनिक गतिविधिहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्न लालायित हुने गर्दछन्।

सामाजिक सञ्जालको प्रयोग गर्ने सम्बन्धमा नेपालका नेताहरु पनि अछुतो छैनन्। प्रायः अधिकांश नेताहरुले सामाजिक सञ्जालमा जोडिएर आफ्ना सामाजिक सञ्जालमार्फत राजनीतिक गतिविधिहरु समेत गर्दै आइरहेका छन्।

सामाजिक सञ्जालमा सम्प्रेषण भएका कुराहरु छोटो समयमा व्यापक प्रसार हुने भएकाले पनि नेताहरुले हाल डिजिटल चुनावी अभियानको रुपमा चुनावी गतिविधिको प्रचारप्रसार गर्नका लागि यसको प्रयोग बढाउँदै लगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे भेरिफाइड फेसबुक र ट्विटर अकाउन्ट खोलेका छन्। तर, सामाजिक सञ्जालमा उनी खासै सक्रिय छैनन्। उनको सञ्जालमा धेरैजसो बधाई, शुभकामना र समवेदनाहरुजस्ता औपचारिक पोष्ट मात्रै गर्छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली फेसबुक र ट्विटर दुवैमा सक्रिय छन्। उनले टिकटक र इन्टाग्राम अकाउन्ट समेत खोलेका छन्। उनले आफ्नो सञ्जालको उपयोग गर्दै आफ्ना धारणाहरुसमेत सम्प्रेषण गर्ने गरेका छन्। उनी जुन सञ्जाल लोकप्रिय हुन्छ त्यसमा आफ्नो खाता खोलिहाल्छन्। उनले सामाजिक सञ्जालमार्फत चुनाव केन्द्रित गतिविधिहरु समेत गरिरहेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको पनि भेरिफाइड फेसबुक र ट्विटर अकाउन्ट छ। उनी सामाजिक सञ्जालमा धेरै नै सक्रिय छन्। उनले पनि सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेका छन्। उनले आफ्नो सञ्जालमार्फत् राजनीतिक कार्यक्रमका साथै चुनावी गतिविधिहरु पनि सेयर गर्ने गरेका छन्।

यता नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सधैं चर्चाको शिखरमा रहने नेता हुन्। सामाजिक सञ्जालमा धेरै ‘फलोअर्स’ हुने नेपाली नेताहरुमध्ये उनी सबैभन्दा अगाडि छन्। उनले विभिन्न मिडियामा प्रकाशित समाचारहरु सेयर गर्नुका साथै राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत समाजका हरेक महत्त्वपूर्ण घटनाहरुमा सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा प्रस्तुत गरिरहेका हुन्छन्। जसका कारण उनी बेलाबेला विवादमा समेत पर्ने गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाले नेता भीम रावल लगायतका नेताहरु पनि सामाजिक सञ्जालको उपयोग गर्दै आफ्ना धारणा र गतिविधिहरु सेयर गरिरहेका हुन्छन्।

नेपाली राजनीतिका प्रायः सबै युवा पुस्ताहरु सामाजिक सञ्जालमा सक्रिय छन्। कांग्रेसका युवा नेताहरु गगन थापा, विश्वप्रकास शर्मा, एमालेका युवा नेताहरू योगेश भट्टराई, महेश बस्नेत, राप्रपाका युवा नेताहरू ज्ञानेन्द्र शाही, रेखा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अभियान्ता पुकार बमलगायत नेताहरु सामाजिक सञ्जालमा सक्रिय रहेका छन्।

यी नेताहरुका ट्विट र स्टाटसले राष्ट्रिय मिडियामा समेत ठाँउ पाउने गरेका छन्। कुनै बेला त उनीहरुका स्टाटसले राष्ट्रिय बहस समेत ल्याउने गरेको छ।

जनतामा इन्टरनेट पहुँच वृद्धि हुँदै जानुले नेताहरुलाई कार्यकर्ता र मतदातासम्म पुग्न सामाजिक सञ्जालको प्रयोग अब अनिवार्य बनेको छ। सामाजिक सञ्जालको बढ्दो लोकप्रियताले यो निर्वाचनको परिणामलाई प्रभावित पार्न सक्ने माध्यम बन्दै गइरहेको छ।

गत स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उमेदवारहरुले अप्रत्यासित जित निकाले। काठमाडौं महानगरमा मेयर पदका उमेदवार बालेन साहले सामाजिक सञ्जालको भरपुर उपयोग गर्दै मतदातालाई प्रभावित गर्दै जित निकाल्न सफल भए। बालेन चुनावका बेला एक्कासी चर्चामा आएका पात्र हुन्, उनलाई चर्चाको शिखरमा पुर्‍याउन सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेका थिए।

उता धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई पनि सामाजिक सञ्जालमार्फत् उदाएका व्यक्ति हुन्। उनी पहिलादेखि नै सामाजिक सञ्जालमा सक्रिय रहँदै विकृतीको विरोध गर्दै आएका थिए। उनले पनि सामाजिक सञ्जालमार्फत् आफ्ना एजेण्डाहरु प्रचार गरेर जित निकालेका थिए।

स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको प्रभाव देखेर हाल धेरै उमेदवारहरु यसप्रति आकर्षित भएमा छन्। गगन थापा, रवि लामिछाने, पुकार बम, ज्ञानेन्द्र शाही, रेखा थापा, लगायत भर्खर राजनीतिमा आएका स्वतन्त्र उमेदवारहरु पनि आफ्ना निर्वाचन केन्द्रित गतिविधिहरु सामाजिक सञ्जालमा सेयर गरेर मतदातालाई प्रभावित पार्न प्रयासरत छन्।

भर्खर राजनीतिमा आएका मात्र होइन, पुराना राजनीतिक पार्टीहरु पनि चुनाव प्रचारका लागि सामाजिक सञ्जालतर्फ आकर्षित बन्दै गइरहेका छन्। जसका लागि उनीहरुले गोप्य रुपमा सूचना प्रविधिमा पोख्त व्यक्तिहरुको साइबर समूह समेत गठन गरेका छन्।

उनीहरुले सामाजिक सञ्जालमार्फत आमसभा र भाषणको लाइभ, चुनावी गीत र प्रचार सामग्री सेयर गर्नुका साथै, नियोजित रूपमा प्रोपागान्डा, भ्रम फैलाउने, चरित्र हत्या गर्ने जस्ता सामाग्री समेत सम्प्रेषण गरिरहेका छन्। जसलाई निर्वाचन आचारसंहिता २०७९ ले बर्जित समेत गरेको छ।

निर्वाचन आचारसंहिता २०७९ मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिनेजस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ।

प्रकाशित मिति: : 2022-10-19 21:55:00

प्रतिकृया दिनुहोस्