एउटा धर्मनिष्ठ ‘हिन्दूवादी भाइ मोदी’

भारतीय प्रधानमन्त्री नरेन्द्र भाइ दामोदरदास मोदी एउटा धर्मनिष्ठ हिन्दू हुन्। धर्म–राजनीतिको आडमा दुईपटक भारतीय सत्ता–राजनीतिमा पुगेका उनी मठ–मन्दिर, नदी–तलाउ, हिमाल–गुफाप्रति पूर्ण वफादार छन्। 

प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह वा यूपीका मुखिया योगी आदित्यनाथ सत्ता राजनीतिका देखिने यात्री मात्रै हुन्। उनीहरू हिँड्ने हिन्दू–मार्ग ‘भाजपा–आरएसएस’ भएकाे जानकारहरू बताउँछन्। 

अधिकांश भारतीयहरू हिन्दू धर्मावलम्बी हुन्। अन्य धर्ममार्गी जो हिन्दू होइनन्, उनीहरू पनि आफ्नो धर्मप्रति वफादार नै छन्। 

मोदी मन्दिर जान्छन्। पूजा गर्छन्। हिन्दूप्रति मोदीको भक्ति देखेर भारतीयहरू रमाउँछन्। मोदीको जयजयकार गर्छन्। ‘जयश्री राम’को नारा घन्काउँछन्। आलोचनकहरू उनलाई ‘भगवान् मोदी’ पनि भन्छन्। तर उनी निरन्तर हिन्दूकाे प्रचारमै केन्द्रीत छन्।

उनी शब्दैपिच्छे महाकालेश्वर मन्दिरदेखि राम मन्दिरको चर्चा गर्छन्। भारतीय हिन्दू मतदाताको मन तान्छन्। मोदी जहाँ पुग्छन्, उनीनिकट भारतीय टेलिभिजन पनि पछिपछि दौडिन्छन्। उनकै जयजयकार गर्छन्।

मोदी भारतकाे प्रधामन्त्री मात्रै होइनन्, धर्म प्रचारक पनि हुन्, उनी। चुनाव आयो मोदी आए। चुनाव आयो राम मन्दिर आयो। चुनाव आयो मुस्लिम विरोधी भावना आयो। शिक्षा, स्वास्थ्य वा रोजगारीबारे मौन उनकाे पार्टी भाजपा हिन्दू–मुस्लिममै रुमल्लिएको छ। गोदी मिडियालाई अघि राखेर चुनाव केन्द्रीत आफ्नो र भाजपाको सक्दो प्रचार गर्छन्, मोदी। 

भारत एउटा विशाल राष्ट्र हो। अनेकौँ धर्म र जातजाती बसोबास गर्छन्। जहाँ ७९.८ प्रतिशत हिन्दू छन्। १४.२ प्रतिशत मुस्लिम छन्। २.३ प्रतिशत इसाई छन्। ३.७ प्रतिशत अन्य भारतीयहरू देशका विभिन्न क्षेत्रमा बसोबास गर्छन्। हिन्दू–मुस्लिमबीच मनभेद हुँदा एउटा मुलुक तीन टुक्रा बन्दापनि मोदीतन्त्रले हिन्दू इतर समाजलाई हेपिरहेको छ।

भारतीय संविधानले कसैलाई विशेष अधिकार दिएको छैन। सबै बराबर छन्, सम्मान योगदानका लागि तयार छन्। संविधानले ‘समानता’ स्पष्ट रूपमा उल्लेख गरेको छ। तर हिन्दू अतिवादी संगठन आरएसएस र भारतको सत्ताधारी पार्टी भाजपा संविधान मान्ने बाटोमा छैनन्।

मोदी सत्तामा पुगेयता भारतीय मनहरू बाँडिएका छन्। मुस्लिम समुदायविरूद्ध भाजपा र आरएसएरले घृणाको भाव फैलाइरहेका छन्। भारतीय प्रधानमन्त्री मोदी मन्दिर बनाउन मरिहत्ते गर्छन्। तर मस्जिद र चर्चप्रति उद्दार छैनन्। 

नयाँ युगले रुचाएका मोदी ‘हिन्दूवादी मोदी’ बनेका छन्। उनी भारतीय जगतका साझा प्रधानमन्त्री बन्न सकेनन्। मोदी मात्रै होइन, गृहमन्त्री शाह र मोदीपथका अर्का नाइके योगी हिन्दूप्रति कट्टर र वफादार छन्।

प्रकाशित मिति: : 2022-10-18 09:06:00

प्रतिकृया दिनुहोस्