जुम्ला विमानस्थलमा ‘प्लेन’ टिकटकाे खाेसाखाेस, दिनहुँ हुन्छ हानाहान (भिडियाेसहित)

दसैंकाे दिनबाट सुरु भएकाे अविरल वर्षाले साविककाे कर्णालीमा सबैभन्दा धेरै क्षति गरेकाे छ। विद्युत, सञ्चारलगायतका संरचना ध्वस्त भएका छन्।

यातायातको उपयुक्त माध्यम कर्णाली राजमार्गकाे कालिकाेट खण्ड पहिराे जाँदा सडक अवरुद्ध छ। सुचारु हुने एकिन छैन।

हाललाई हवाई यातायात एउटा मात्रै विकल्प रहेको छ। तर उडान नियमित नहुँदा अत्यावश्यक कामले जिल्ला बाहिर जानुपर्ने यात्रु अलपत्र परेका छन्।

तिनै मध्येका एक हुन्, १४ दिनदेखि अलपत्र परेका डा. मातृका धिताल। भरतपुर क्यान्सर अस्पतालमा कार्यरत डा. धिताल १६ वर्षपछि दसैं मनाउन भनेर घर आएका थिए। उनी आउँदा आफैँमात्रै आएका थिएनन्। चितवन घर भएका डा. शैलेश गिरीलाई समेत सँगै लिएर आएका थिए।

उनले भने, 'साथीलाई जुम्ला घुमाएर फ्रेस बनाउने भनेकाे तनाव दिन ल्याएजस्ताे पाे भयाे। प्रशासनले हस्तक्षेप गरेर टिकट दिने भनेर ५२ नम्बरमा नाम लेखाएकाे थियाे। नाम लेखेकाे १० दिन हुँदासमेत पालाे आएन।'

बाँकेकाे बैजनाथ गाउँपालिकाकाे स्वास्थ्य शाखामा काम गर्ने लक्ष्मण शाही काेहलपुरमा बस्छन्। उनी दसैं मनाउन भनेर जुम्ला पुगेका थिए। तर टिकट नपाएर जुम्लामै थन्किएका छन्।

'उता कार्यस्थल डुबानमा परेर महामारी फैलिएकाे छ। अफिसले फाेन गरेर हैरान छ', उनले भने, 'छाेरा जान नपाएर झुन्डिएर मर्छु भन्छ। तनाव साह्रै भयाे। टिकट कसैगरी पनि पाइँदैन।'

जुम्ला विमानस्थलमा हरेक दिन यात्रुहरुको भिड लाग्छ। मुस्किलले हरेक दिन एउटा उडान हुन्छ। टिकट नपाएपछि विमानस्थलमा रहेको हजारौंको भिड आक्रोशित हुन्छ। प्रहरीले बल प्रयोग गर्छ। समग्रमा विमानस्थलमा रमिता छ।

यस्ताे रमिता हेरिरहेका मध्येका एक हुन्, ७६ वर्षीया विजय माबुहाङ्ग। २२ दिनअघि काठमाडाैँबाट रारा हेर्ने भनी हिँडेका उनी आजभोलि जुम्ला एयरपोर्टमा रमिता हेर्छन्।

दसैंकाे दिन रारा पुगेका उनले कर्णालीकाे सुन्दरता जीवनकाे उत्तरार्धमा हेर्ने ठुलाे माैका जुरेकाे महसुस गरे। तर, जब त्यही दिनबाट ठुलो वर्षात भयाे त्यसपछि उनकाे नैरास्यता सुरु भयाे।

घर फर्किने भनेरे हिँडेका उनी चार दिन कालिकोट जिल्लाकाे नग्मगाडमा राेकिए। बाटाे कुनै पनि हालतमा तत्काल खुल्ने सम्भावना नदेखिएपछि हिँडेर जुम्ला सदरमुकाम आएका उनकाे औषधि सकियाे।

मुटु, प्रेसर र सुगरकाे औषधि नियमित खाने उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। तर, उनकाे सबै औषधि भेटिएन।

'राेबस्टिङ १० नाम गरेकाे औषधि भेटिएन। राेबास १० मात्रै भेटियो। नियमित खाने औषधि नभएर समस्या भयाे,' निराश हुँदै उनले भने, 'हामीलाई टिकट पाउन साह्रै मुस्किल भयाे। घर फर्किनलाई अरु कुनै उपाय छैन।' अहिले उनी आफ्नै रमिता कसलाई देखाउँ भन्ने भएका छन्।

निजी एयरलाइन्स मात्रै होइन, नेपाल वायुसेवा निगमको जहाजको समेत नियमित उडान नहुँदा काम विशेषले जिल्ला बाहिर जानुपर्नेहरु रोकिएका छन्। सिमित टिकट वितरणमा पनि पक्षपात गरिएको यात्रुको आरोप छ।

यसका प्रत्यक्षदर्शी हुन तातोपानी गाउँपालिका-५ लाम्राका माधव चाैलागाईं। हरेक दिनजसाे टिकट पाइने आशामा एयरपोर्ट जाने उनले आफ्नै आँखाले टिकटमा सेटिङ भएकाे देखे।

'टिकट कसले पाइरहेकाे छ भन्ने कुराकाे टुङ्गाे छैन। कसैलाई केही थाहा पनि हुँदैन,' उनले भने, 'तर प्लेन आउनेबेलामा पुलिस, प्रशासनकाे गाडीले केही आफ्ना मान्छे लिएर आउँछ। अनि तिनीहरु जान्छन्। पहुँच नहुने मान्छेहरु निराश हुनुकाे विकल्प हुँदैन।'

जुम्ला उड्ने ४ वटा एयरलाइन्सले हप्ताको दुई/दुई दिन उडान भर्नुपर्ने तालिका रहेकाे छ। सो अनुसारको उडान भएको छैन।

तर, अगस्ट महिनाको १५ दिनमा समिट एयरले ७ पटक उडान भरेको छ। ताराले ४ र नेपाल एयरलाइन्सले एक मात्र उडान भरेको छ। लामो समयदेखि सीता एयरले उडानै नभरेको जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए।

जुम्लामा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय सबैमा उडान बढाउन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीकाे भनाइ छ।

तर, न नियमित जहाज आइरहेका छन्। न त आउने जहाजले प्रक्रिया पुगेका यात्रु लगेका छन्।  विपत्तिको बेला राज्यको उदासीनताले नागरिक निराश हुँदै गएकाे चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए।

'टिकट वितरणमा राजनीतिकरण सँगै गुण्डागर्दीसमेत भइरहेकाे छ,' उनले भने, 'संकटकाे समयमा हाम्राे यातायातको अरु विकल्पै नहुँदा बारम्बार आग्रह गर्दा समेत राज्यले उदासीनता देखाउनु खेदजन्य छ।'

प्रकाशित मिति: : 2022-10-17 20:30:00

प्रतिकृया दिनुहोस्