आफ्नै घर खरीद गर्ने एनआरएनए अमेरिका पहिलो एनसीसी

गैर आवासीय नेपाली संघ (एनआरएनए) का संसारभर रहेका ८२ राष्ट्रिय समन्वय समिति (एनसीसी) मध्ये आफ्नै भवन खरिद गरेर एनआरएनए अमेरिका पहिलो बनेको छ।

अमेरिकाले अमेरिकाको भर्जिनिया राज्यमा आफ्नै घर खरीद गरेको छ। अक्टोबर ४ तारिख बिहान अध्यक्ष वुद्धि सुवेदी नेतृत्वको कार्य समितिका केही पदाधिकारीहरु उपस्थित भएर घर खरीद कार्य टुंगोमा पुर्याएका थिए । 

भर्जिनियाको फेयर फ्याक्स काउण्टिमा अवस्थित यो घर कन्डोमनिय हो। जसमा एउटा हल सहित ५ वटा कोठा रहेका छन्। कोठाहरुलाई व्यवसायिक प्रयोजनमा लगाउने एनआरएनएको योजना रहेको अध्यक्ष सुवेदीले बताए। 

संस्थालाई व्यवस्थित गर्न आफ्नै ठेगाना चाहिने भएकोले घर खरीद गरिएको कोषाध्यक्ष राजिव श्रेष्ठले बताए। बरिष्ठ उपाध्यक्ष तथा भवन खरीद गर्न बनेको आर्थिक समितिका संयोजक कृष्णजीवि पन्तले चन्दादाता सबैलाई धन्यवाद दिएका छन्। पन्तले यो भवन खरीद गर्न एक महिनाको अवधिमा २ लाख ८० हजार डलर चन्दा संकलन गरेका थिए।

‘एउटा डाईनामिक कर्मचारी राखेर अमेरिकामा रहेका नेपालीका आशा र गुनासा सुन्ने व्यबस्था गर्नेछौं’ अध्यक्ष सुवेदीले नेप्लिज डायस्पोरासंग भने। उनले भने ‘यो घर पुरै पैसा तिरेर खरीद गरिएकोले संस्थालाई अतिरिक्त आर्थिक भार थपिने छैन बरु एनआरएनए अमेरिकालाई थप आर्थिक उपार्जनको अवसर हुनेछ।’

आगामी दिनमा संघका कामहरु व्यवस्थित हुने बताउदै उपाध्यक्ष डिलु पराजुलीले अब आफूहरु सदस्य संख्यामा वृद्धि गर्न सक्रिय हुने बताए। ‘भवनका माध्यमबाट भावना जोड्न खोजेका हौं।’ सचिव अनुप खनालले भने।

आफ्नै घर खरीद गर्ने एनआरएनए अमेरिका पहिलो एनसीसी हो। एनआरएनएका अहिले ८२ वटा देशमा एनसीसी सक्रिय छन्।

प्रकाशित मिति: : 2022-10-09 17:35:00

प्रतिकृया दिनुहोस्