इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

File photo
File photo

उत्तर पश्चिमी किनाराको शहर जेनिनमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा परी दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका प्यालेस्टिनी चिकित्सक तथा प्रत्यक्षदर्शीले बताएका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'इजरायली सैनिकले घाँटीमा गोली हानेपछि महमुद अल–सौस नाम गरेका एक व्यक्तिको मृत्यु भएको थियो भने अर्का एक व्यक्तिको टाउकोमा गोली लागेको थियो।' घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ। 

प्यालेस्टिनी प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाको एक फौजले शरणार्थी शिविरमा आक्रमण गरेको र इजरायलविरुद्ध आक्रमणमा संलग्न भएको आरोपमा इजरायली सेनाले प्यालेस्टिनीको घरमा छापा मारेको थियो।

त्यसपछि इजरायली सैनिक र प्यालेस्टाइनी बन्दुकधारीबीच भीषण झडप भएको थियो। इजरायली सेनाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनी इस्लामिक जिहाद आन्दोलनका एक जना प्यालेस्टिनी सदस्यलाई पक्राउ गर्न इजरायली सेना शरणार्थी शिविरमा प्रवेश गर्दा बन्दुकधारीले ती सैनिकमाथि गोली चलाएको बताएका छन्।

जेनिनका गभर्नर कमाल अबु रोबले शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणको निन्दा गर्दै सिन्ह्वासँग भने, 'इजरायली सेनाले हरेक दिन जानाजानी प्यालेस्टिनीहरूको घरमा आक्रमण गर्ने गरेको छ।'

‘प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)’ का प्रवक्ता हजेम कासिमले एक विज्ञप्तिमार्फत भनेका छन्, 'इजरायलले जेनिनमा सशस्त्र प्रतिरोधलाई पूर्ण अन्त्य गर्ने प्रयास गरिरहेको छ, तर यो सफल हुनेछैन।इजरायली सेनाले प्यालेस्टाइनी लडाकू र अधिकारकर्मीविरुद्ध सैन्य कारबाही र कारबाही तीव्र पारेपछि गत मार्चदेखि नै पश्चिमी किनारामा तनाव बढ्दै गएको छ।'    

यस बर्षको जनवरीपछि पश्चिम किनारा र पूर्वी जेरुसेलममा महिला र बालबालिकासहित १११ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-10-08 22:07:00

प्रतिकृया दिनुहोस्