आजकाल सदरमुकामको बसाइमा एक्लो प्राय छु। एक्लै घरमा बस्दाको पीडा र संवेग पनि छुट्टै हुँदो रहेछ। सुत्न खोज्छु निन्द्रा लाग्दैन। यताउता डुल्न खोज्छु, देख्छु–पुँजीवादको खाल्डोभित्र चुर्लुम्म डुबेका मानिसहरू जो पुँजीको अवचलन र परिचालनबाहेक कुरो नै गर्दैनन्। दलालीकरण भ्रष्टिकरणमा मात्र जीवन व्यतित गरिरहेका छन्। मानौं, उनीहरूका लागि संसार नै पुँजी हो। पुँजी त न्यूनतम आवश्यकता पुरा गर्ने थलो हुनुपर्ने हो तर यहाँ त प्रतिस्पर्धी दलाल पुँजीले जीवन र जगत खाइसकेको छ। दसैँ तिहारमा हुने हाम्रो आफ्नो मुल संस्कृति र चलनलाई खाएर नयाँ आधुनिकता ल्याएर समाजलाई नयाँ कृत्रिम आयमतिर डोर्याएका छन्, यहाँका साम्भ्रान्त परिवारका मानिसहरूले।
म बाल्यकालमा हुँदा मलाई याद भएसम्म मेरा बा-काकाहरूले मलाई जीवनको बाटो डोर्याउनु भएको हो। दसैँ हरेक वर्ष आउने गर्छ। बुवाका लागि दसैँ सधैँ नै पीडायुक्त नै हुने गर्थ्याे। हजुरबुवाको एकोतिष्टको श्राद्ध गर्थ्याे दसैंको दिन। बुवाको दसैँ खल्लो हुनु स्वाभाविक थियो। हामी श्राद्धको भात खान पाइन्छ भनेर पनि रमाउँथ्यौं। प्रत्येक गाउँ समाजको आ-आफ्नो दसैँं मनाउने परम्परा, नियम र अभ्यासहरू हुने गर्छन्। हाम्रो गाउँमा पनि आफ्नै साँस्कृतिक अभ्यास छ।
घटस्थापनामा देउघरबाट देउताको देउरोलाई मन्दिरमा लगि त्यहीँ जमरा राखी विधिवत रुपमा दसैँं आएको अनुभव दिलाउँछ, ग्रामीण समाजले। पूजा गर्नेहरू १० दिन नै पूजा गर्छन्। देवी भगवतीका लागि ब्रत बस्छन्। पूजा नगर्नेहरू आ-आफ्नो सामान्य जीवन बिताउँछन्। त्यसताका बुवासंग पैसा हुँदैनथ्यो। दसैँ सामान्य खर्चमा टर्थ्याे। हामीलाई दश रुपैयाँ दिनुहुन्थ्यो। बुवाले दसैँमा समेत नयाँ लुगा लगाएको देखेको थिएन। पुरानो लुगामा नै दसैँं टर्थ्याे। कृत्रिमता कतै थिएन, सबै प्राकृतिक मात्र। अहिले बुझ्दैछु मन, बुद्धि, कर्म र भोजन सबै प्राकृतिक थियो। १३ जनाको संयुक्त परिवार थियो। सबै एक ठाउँमा टीका लगाउथ्यौं। अझ थप बाहिरबाट आउने फुपूहरूलगायत मान्यजनहरू आउनुहुन्थ्यो। आर्थिक अभाव थियो र पनि रमाइलो थियो।
बुवाको देहान्त भएको पनि २१ वर्ष भइसक्यो। सबै खुसी आ-आफूमा केन्द्रित भयो। परिवारका सदस्यहरू टाढा भए। भएका सदस्यहरू पनि फरक-फरक स्थानमा बस्ने गर्न थाले। आधुनिकतामा केही सुविधा भए, केही कमजोरीहरू भए।
घरका सबै सदस्यहरू फरक-फरक स्थानमा छन्। दसैँका लागि सबैलाई आशीर्वाद प्रदान गर्ने जेष्ठ सदस्य आमा सेती नदीको किनारको छाप्रोमा बस्दै आउनुभएको छ। उहाँलाई दसैँं-तिहार, चाडपर्व कुनै मतलब हुँदैन। निर्भिक खेतगराका काममा उभि नै राख्नुभएको छ। धान पाक्ने र भित्र्याउने समय छ। यदि बाली नभित्र्याइ दसैँको रमझममा जाने हो भने वर्ष दिन हातमुख जोड्न मुस्किल हुन्छ। त्यसो त अहिलेको पुँजीवादले उत्पादनको न्यूनीकरण र आधुनिक कृत्रिमताको सामाजिक सञ्जालले मानिसलाई निकै नै गरीब बनाएको छ।
आमाले जे गर्नुभएको छ, ठिक गर्नु भएको छ। एक दाना धान उत्पादन भनेको राष्ट्रिय उत्पादनको विकास हो भन्ने सोचेको छु। आमाले घटस्थापनाका दिन जमरा राख्नुभएको छ। दसैँंको दिन उहाँसंग टीका थाप्न जानेसंग टीका लगाइदिनुहुन्छ, अन्यथा कसैलाई बोलाउनु हुन्न हामी परिवारका सदस्यलाई समेत। हामी आमाको हातको टीका थाप्न जान्छौं गाउँमा। टीका लगाइदिएर पुनः खेतगरामा गइ काम गर्न थाल्नुहुन्छ। सेलरोटी र सामान्य तरकारी पकाइराख्नु हुन्छ। माछा मासु भन्ने हुँदैन। नखाएर होइन, नकिनेर। आमा एक कुशल समाजवादी किसान हुन् भन्ने मेरो बुझाइ छ।
श्रीमती आफ्नो काममा निकै नै अभ्यस्त देखिन्छिन्। जनतासंग जोडिएका विभिन्न सामाजिक काम गर्नमा व्यस्त भएकाले दसैँंको अघिल्लो दिनमात्र भेट हुन्छ होला। उनको दसैँं हाम्राेभन्दा पृथक हुने गर्छ। उनी आधुनिकतामा बढी विश्वास गर्छिन्। दसैँं तडकभडक नै होस् भन्ने चाहन्छिन्। भित्र पीडायुक्त जीवन होस् वा जस्तो सुकै होस्, बाहिरको आधुनिक पुँजीवादी समाजसंग प्रतिस्पर्धा गरी अगाडि जानुपर्छ भन्ने मान्यता छ। पीडालाई समाजमा देखाएर कुनै उपलब्धि हुँदैन भन्ने मानसिकता एक अर्थमा ठिक पनि हो।
समाज बडो अकर्मण्यका बीच रुमलिएको छ। यस्तोमा नयाँ परिस्थितिसंग सन्तुलन मिलाएर अगाडि बढ्नुपर्छ भन्ने मानसिकतासित मैले पनि सहमति जनाउनुपर्छ र पनि आधुनिकताले मानिसलाई गरीब बनाउने कामबाहेक केही गर्दैन भन्ने मैले बुझेको छु। पुराना सनातन संस्कृतिहरू हराएका छन्। त्यतिबेला ग्रामीण परिवेशमा खासै खर्च हुँदैनथ्यो। हाम्रो समाजमा नवरात्रिभरि पूजाआराधना गर्ने र दसैँंको दिनलाई मात्र हर्षाेल्लासका साथ मनाउने चलन थियो।
गाउँका सबै मानिसहरू नवरात्रिभरि मन्दिरमा जान्थे। पूजाआजामा व्यस्त हुन्थे। साकाहारी नै रहन्थे। नवरात्रिसम्म उपवास गर्थे, नभए एक दिन उपवास अवश्य गर्थे। दसैँको बिहान पुरानो भए पनि धाेएको लुगा लगाएर मन्दिरमा जान्थे। नवदुर्गा भगवती मानिसमा अवतार भइ सबैलाई टीका जमरा लगाइ दिन्थिन्। अनि मात्र घरमा मान्यजनबाट टीका थाप्ने गरिन्थ्यो।
गाउँमा दुधदही हुनेको घरबाट नहुनेको घरमा दुधदही दिने चलन थियो। सबैले गाउँमा सामूहिक एक बोका वा खसी काटिन्थ्यो। एक भाग मासु लगिन्थ्यो। सबै समाजका मानिसहरू एक ठाउँमा जम्मा हुन्थे। भारतबाट आउने लाहुरेहरू हातमा टेप रकर्डर र क्यासेटहरू ल्याइ डेउडा गीतहरू चर्को आवाजमा सुनाउँथे। टेप रकर्डरसंगै त्यसमा लाग्ने ब्याट्री सेलहरू दशौं जोर ल्याउँथे।
गाउँका प्राय मानिसहरू तम्बाकु नै खाने चलन थियो। लाहुरेहरू सिगरेट ल्याएर गाउँका दाजुभाइलाई दिन्थे। उनीहरू निकै खुसी हुन्थे। यदाकदा सामान्य खालको रक्सी खाएका मानिसहरू पनि भेटिन्थे। कहिलेकहीँ त दाजुभाइहरूबीच झगडा पनि हुने गर्दथ्यो। ग्रामीण परिवेश अहिले पनि लगभग उस्तै छ, तर अहिले सामाजिक सञ्जालका देखिएका कृत्रिम आडम्बरतासंग प्रतिस्पर्धा गर्न मानिसहरू तछाडमछाड गरी लागिपरेका देखिन्छन्।
मेरा छोराछोरी राजधानीस्थित सरकारी स्कुलमा पढ्छन्। दसैँका लागि उनीहरू घर आउँदैछन्। हामी अहिले उनीहरूको ब्यग्र प्रतिक्षामा छौं। सबैसंगै दसैँं मनाउँछौँ भन्नेमै छौं। राजधानीतिर पढाउनु हाम्रो रहर कदापि होइन। बाध्यता भयो। यहाँका सरकारी स्कुलमा पढाउने शिक्षकहरूसँग कितावको ज्ञानभन्दा राजनीतिको ज्ञान बढी देखियो। नमूना भनिएका स्कुलहरूको नतिजा हेर्दा करिब शून्य जस्तै देख्यौं।
यहाँ जनताका छोराछोरीको पढाइको गुणस्तरलाई ध्यान दिइँदैन। जनताको आय नहुने र विद्यालय शिक्षा निशुल्क दिनुपर्छ भन्ने हेतुले ठाउँठाउँमा सरकारी विद्यालयहरू खुलेका हुन्। जनतासंग छोराछोरीलाई पढाउने आय हुँदैन। त्यसैका लागि राज्यले सरकारी शिक्षकको तलब भुक्तानी गरी जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनु भनेको हुनुपर्छ। यहाँका प्राय सबै विद्यालयहरू राजनीतिक भर्ति केन्द्र जस्ता भएका छन्। यदाकदा एक/दुई विद्यालयमा गुणस्तर कायम हुन खोजिरहेको देखिन्छ। शिक्षा भनेको सबैका लागि हो र सर्वसुलभ तरिका दिइनुपर्छ भन्नेमा हामी सबैको एकमत छ। आउने दिनमा सबै स्थानीय पालिकाका सरकारहरूले शिक्षा र शिक्षकको गुणस्तर हेर्नु हुने नै छ भन्नेमा ढुक्क छु।
यस वर्ष दसैँमा छोराछोरीहरू गाउँ केन्द्रित गराउने पक्षमा छु। उत्तर आधुनिक समाजमा छोराछोरीहरूलाई सहरको हावाले छोएको पक्कै होला। ग्रामीण परिवेशमा छोराछोरीहरू जान मान्दैनन्। गाउँको जनजीवनसंग साउती गर्न मान्दैनन्। गाउँमा समस्याहरू छन्। सहर जस्तो गाउँ होइन। यहाँ जे छ, कृत्रिम छ तर गाउँमा जे छ, प्राकृतिक छ। त्यहाँ ढुङ्गा-माटो छ, हावा-पानी छ। यहाँ मन मस्तिष्क चार्ज गर्ने शुद्ध वातावारण छ।
यहाँ आफूलाई रिचार्ज गर्न सकिन्छ। ध्यान गर्न सकिन्छ। यहाँ प्राकृतिक हाँसो छ। प्राकृतिक खुसी छ। त्यसैले त सिद्धार्थ गौतमले राजगद्दी त्यागेर जंगल र पानीका बीच आफ्ना जीवनका तीस बसन्त बिताएका होलान्। यो विषय छोराछोरीहरूले बुझ्दैनन्। इन्टरनेटले चलाएको जिन्दगीले मानिसलाई कति दिन टिकाउने हो थाहा छैन र पनि छोराछोरीका लागि इन्टरनेट नै भगवानभन्दा महान बनेको छ। मेरो परिवारभित्र आधुनिकता छैन भन्ने पक्षमा म छैन। सामाजिक सञ्जालको प्रतिस्पर्धामा सदस्यहरू अगाडि नै छन्। र पनि आर्थिक उत्पादन र खर्चको सिमामा रहेर नै चाडपर्व मनाउनु पर्छ भन्नेमा हाम्रो सहमति नै हुने गर्दछ।
मैले फेसबुक चलाउन छोडेको करिब डेढ महिना हुन थाल्यो। सामाजिक सञ्जालहरू आवश्यकताअनुसार चलाउनु पर्ने हो तर त्यो लत जस्तै भए पछि जीवन र मनका बाटाहरू परिवर्तन गर्नु थियो गरियो। अहिले आध्यात्म भित्रको समाज के रहेछ भनेर घोत्लिन मन लागेको छ। म यिनै कर्ममा बिलिन भएको छु। यो असल बाटो हो वा खराब थाहा छैन, तर सकारात्मक चिन्तनसहितको ऊर्जावान मनलाई केन्द्रित गरी ध्यान गर्न सके केही गर्न पक्कै सकिन्छ भन्ने विश्वाशमा छु।
यिनै सन्नाटायुक्त दिनहरूबीच दसैँ आएको छ। मलाई न हर्ष छ, न त बिस्मात नै। मैले मेरो जीवनको यथार्थलाई केलाएर हेर्दा म न धेरै क्रान्तिकारी बन्न सकेँ, न धेरै आध्यात्मिक बन्न सकेँ। बीचको निरपेक्षतावादमा रुमालिएको जीवनले कुनै विचारको प्रतिनिधित्व गर्न सक्दैन। त्यसैले दसैँको आदर्श र हाम्रो ग्रामीण परिवेशका बारे केही जीवनका अनुभूतिहरू कोरेको मात्र हुँ। ती दसैं सम्झेर केवल नोस्टाज्कि बनेको हुँ।