थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

Symbolic Picture
Symbolic Picture

 देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो।

एक हजार सात सय २९ जनाको पिसिआर र दुई हजार एक सयको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७६ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार चार  सय ९५ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत छ।

हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४४ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ। 

हाल होम आइसोलेसनमा एक हजार ९४, संस्थागत आइसोलेसनमा ५० र आइसियुमा १२ सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ रहेको छ।

शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु, जुम्ला र दार्चुला छन्।

उपत्यकाको काठमाडौँमा चार सय ५५, ललितपुरमा एक सय ६० र भक्तपुरमा २० जना सक्रिय सङ्क्रमित छन्। कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।  
 

प्रकाशित मिति: : 2022-09-27 17:50:00

प्रतिकृया दिनुहोस्