जुम्लाकाे सबैभन्दा ठूलाे ताल गिडीदह प्रचारका लागि सम्मेलन हुँदै

प्रसस्तै प्रयटकीय सम्भावना भएकाे र जुम्लाकाे सबैभन्दा ठूलाे तालकाे रुपमा परिचित गिडी दहकाे प्रचारकाे निम्ति 'गिडीदह सम्मेलन' हुन लागेकाे छ। खासै आकर्षक नभएका क्षेत्रहरुकाे प्रचार हुँदा पर्यटककाे घुँइचाे लाग्ने गरेकाे छ।

तर, रहस्यमयी भनेर चिनिने तातोपानी गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा रहेकाे गिडीदह भने गुमनाम छ। यस अघि दहको संरक्षणका लागि सरकारी स्तरबाट कुनै प्रयास नहुँदा यसपालि वडा पालिकाले आफै दहकाे प्रचार थाल्ने भएकाे हाे।

असाेज चार गतेदेखि ८ सतेसम्म ठूलाे प्रतिनिधि मण्डल सहित सम्मलन गर्न लागिएकाे तातोपानी गाउँपालिका चारका वडाअध्यक्ष अमर बहादुर राेकायाले बताएका छन्।

'अब हामी गिडीदहलाई पर्यटकीय गन्तव्य बनाउन हर सम्भव प्रयास गर्नेछाैं,' उनले भने, 'घना जंगलकाे बीचमा रहेकाे गिडीदहले जुम्ला चिनाउनेछ।'

स्थानीय कपिल रोकायाका अनुसार दहले क्षण क्षणमा रंग बदल्ने गर्छ। तालबाट बग्ने गिडी खोलाले तातोपानीका अधिकांश गाउँमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ।

उनले भने, 'गिडी दहकै पानीले आसपासका बस्ती हराभरा भएका छन्, गिडी खोलाको पानीबाट निकालिएको बत्तीले गाउँहरू झिलीमिली भएका छन्। तर त्यही खोलाको मुहानको रूपमा रहेको गिडी दह संरक्षण हुन सकेकाे छैन।'

गिडी दह जंगलभित्र झन्डै २ दर्जन प्रजातिका वन्यन्तु र विभिन्न लोपोन्मुख पन्छीहरू पनि पाइने उनले बताए। जंगलभित्रको चराको चिर्बिर र वन्यजन्तुको आवाजले पर्यटकलाई रोमाञ्चक अनुभूति प्रदान गर्ने उनको भनाइ छ। 

तर अहिलेसम्म गिडी दहको क्षेत्रफल र गहिराइ नापिन सकिएकाे छैन। 

तातोपानी–४ का वडाध्यक्ष रोकाया गिडी दहले धेरैलाई उज्यालो र गाउँमा हरियाली दिए पनि केही गर्न नसकिएकोमा पछुतो लागिरहेको बताउँछन्। 

'गिडी दहको प्रचारप्रसारका लागि असोज पहिलो साता गिडी दह सम्मेलनको आयोजना हुन लागेको हाे,' उनले भने, 'असोज ४ देखि ८ गते सम्म गिडी दहमा सम्मेलन गर्न थालिएको हो।'

सम्मेलनले कार्यपत्र प्रस्तुत गरी योसँग जोडिएका विभिन्न विषयहरूलाई बृहत् छलफलमा ल्याउनेछ। जसले सरकारी तथा निजी क्षेत्रलाई पूर्वाधार निर्माणका लागि पनि ध्यानाकर्षण गराउने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2022-09-20 08:54:00

प्रतिकृया दिनुहोस्