जुम्लामा पाँच दिनसम्म चल्ने तेस्रो प्रादेशिक व्यापार महोत्सव सुरू

जुम्लामा तेस्रो प्रादेशिक कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव सुरू भएको छ। 

उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा सुरू भएको महोत्सवले कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको बजारीकरणका लागि सघाउ पुगाउने अपेक्षा गरिएको छ।

महोत्सवमा कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कर्णालीमा उत्पादन हुने स्थानीय वस्तुको बजारीकरण, सांस्कृतिक परम्पराको संरक्षण र पर्यटन क्षेत्र प्रर्वद्धन गर्न सके आर्थिक समृद्धि हुने बताएका छन्। 

मौसम प्रतिकूलताका कारण महोत्सवमा सहभागी हुन नसकेका मन्त्री शाहीले टेलिफोनबाट महोत्सवलाई सम्बोधन गरेका थिए। उनले महोत्सव कृषि र पर्यटन क्षेत्र संरक्षण, सांस्कृतिक र औद्योगिक क्षेत्र विकासका लागि बलियो आधार हुनेमा जोड दिएका छन्। 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भौगोलिकरूपमा पछि परेको कर्णालीको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको पक्षमा महोत्सवले सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्। 

उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादनको विभिन्न परिकारको स्वाद चाख्न पाइनेछ। रैथाने सांस्कृतिक क्रियाकलापको प्रस्फुटनको साथै उद्योगधन्दा र कलकारखानामा कर्णालीवासीको ध्यान केन्द्रित गर्नेछ।

महोत्सवमा ४५ स्टल राखिएको छ। स्टलमा कर्णालीमा पाइने सबै प्रकारको खान्की उपलब्ध छ। नेपाली सेनाको नन्दाबक्स गण, जिल्ला स्वास्थ्य कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। 

कोरोनाको बुस्टर डोज लगाउन नसकेकालाई खोप लगाइने र महोत्सव अवधिभर आउन सक्ने स्वास्थ्य समस्याको उपचारका लागि सहज हुने भएको छ। पहिलो दिनमा स्थानीय कला संस्कृतिको प्रदर्शनी भएको थियो। दोस्रो दिनदेखि राष्ट्रिय कलाकारको प्रस्तुति हुनेछ।

लोक तथा दोहोरी गायक विष्णु खत्री, गायिका राधिका हमाल र प्रिती आलेले महोत्सवमा प्रस्तुति राख्नेछन्। महोत्सव असोज ५ गतेसम्म चल्नेछ। महोत्सव एक करोडको कारोबार हुने लक्ष्य रहेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-09-16 20:26:00

प्रतिकृया दिनुहोस्