लमजुङमा दुई लागूऔषध प्रयोगकर्ता पक्राउ

BreaknLinks
BreaknLinks

लमजुङ प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

नारायणगढबाट बेंसीसहरतर्फ आउँदै गरेको माइक्रो बसमा १ सय ४१ एम्पुल लागूऔषधसहित ती युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलका अनुसार सुन्दरबजार नगरपालिका ७ मा पर्ने लमजुङ प्रवेश गर्ने मुख्य नाका पाउँदीबाट बेसीसहर नगरपालिका १० का २१ वर्षीय सुमन तामाङ र मर्स्याङ्दी गाउँपालिका ८ का २३ वर्षीय दीपक गुरुङलाई पक्राउ गरेको हो।

नारायणगढबाट मंगलबार साँझ बेंसीसहर आउँदै गरेका उनीहरू शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट डाइजेपाम एम्पुल–४७, फेनरगन एम्पुल–४७ र नुफिन एम्पुल–४७ गरी कूल १४१ एम्पुल लागूऔषध र ४ थान सिरिन्ज बरामद गरिएको प्रहरीले बताएको छ।

पक्राउमा परेका सुमन तामाङ र दीपक गुरुङ उपर बुधबार लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए।

लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा–१४ को उपदफा–१ (झ) बमोजिम लागूऔषध कारोबार गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति: : 2022-09-14 21:31:00

प्रतिकृया दिनुहोस्