नेपाली राजनीतिमा अहिलेको पाँचदलीय गठबन्धनको सरकार निर्वाचनमा जान भागबण्डा मिलाउन छलफल गरिरहेका छन्। १६५ सिट रहेको प्रतिनिधिसभा सदस्यका लागि पाँचदलीय गठबन्धनमा घटक दलहरुको माग कुलमा २६५ को हाराहारीमा छ।
नेपाली कांग्रेसभित्रै संस्थापन इतरको नेतृत्व गरेका डा. शेखर कोइरालाले १०० सिटभन्दा तल सिट बाँडफाँट भए नमान्ने र पार्टीभित्र विद्रोह हुने भनाइ राख्दै आएका छन्। उता प्रचण्ड नेपाली कांग्रेसले आधा राखेर बाँकी अन्य सिट गठबन्धन घटमा छोड्नुपर्छ भन्छन् भने माधव नेपाल २३ सिट जितेको कांग्रेसलाई ७० सिटभन्दा बढी दिन सकिँदैन भन्छन्।
गठबन्धन नेपाली कांग्रेसले माधव नेपालको दलसंग गठबन्धन गरेका हुन् कि प्रचण्ड समूहको दलसंग गठबन्धन गरेका हुन्? अहिले गठबन्धनको छलफल र वार्ताबाट यस्तै प्रश्न गर्न सकिन्छ।
गठबन्धन क-कसले र कसकाे नेतृत्वमा गरेको हो? यो विसष पनि अहिल्यै भागबण्डाको वितरणमा देखिएको घटकका दलको अभिव्यक्तिले यस्तो संसय देखिन्छ। नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय सरकार छ। यसैको नेतृत्वमा यो पाँचदलीय गठबन्धन निर्माण भएको मान्नुपर्ने हुन्छ। तर अहिले माधव नेपाल र प्रचण्डको भागबण्डा वितरणमा ‘कांग्रेसलाई यति सिट मात्र दिन तयार’ भन्ने अभिव्यक्ति कांग्रेसले अरु चार दलसंग गठबन्धन गरेको हो भन्ने प्रश्न उठ्छ।
अहिले कांग्रेसले गठबन्धन नगरी निर्वाचनमा जाँदा कांग्रेसको तत्कालीन अवस्था राम्रो देखिन्छ। जनधारणा पनि गठबन्धनको विपरीत छ। गठबन्धनले नेकपा माओवादी र एकीकृत समाजवादीलाई सवल र सक्षम अवस्थामा निश्चय पनि पुर्याउँछ। यो अवस्थाले वाम घटकहरु विभाजित र अलग-अलग हुने र आपसमा पुन: मिल्न नसक्ने दम्भ यिनीहरुमा आउन सक्छ। यो कांग्रेसको राजनीतिक बुजाइ हो भने त्यो गलत हुनसक्छ। त्यस्तो अवस्थामा यी दुई दल कांग्रेसकै लागि भारी हुनसक्छ। यस कारणले पनि हो कि यिनीहरुको भागबण्डामा मागेको सिट संख्याको जोडले यही बताउँछ।
निर्वाचनपछि कांग्रेसको सिटभन्दा यिनीहरुको कुल संख्या बढी हुनसक्छ। निर्वाचनपछि गठबन्धनको सरकार बन्ने त निश्चय नै छ, यस्तो अवस्थामा यी दुई दलसंग यिनीहरुकै नेतृत्वमा सरकारमा सम्मिलित हुने अवस्था आएर कांग्रेस खुम्चने परिस्थिति आउँछ। यो अवस्था कांग्रेसले देखेर पनि गठबन्धन बाध्यता र आवश्यकता हो भन्ने कुरामा कांग्रेसभित्रै फरकमत राख्नेको पनि दरो उपस्थिति छ। त्यो उपस्थितिको संस्थापन इतरकाे नेतृत्व गरिरहेका डा. शेखर कोइराला समूह छ।
डा.शेखरले १०० सिटभन्दा तलको भागबण्डा नमान्ने र त्यस्तो भए कांग्रेसमा विद्रोह हुने भनाइ राख्दै गर्दा कस्तो खालको विद्रोह हो त्यो नखुलाए पनि यो समूहसंग विद्रोह गर्ने तीन विकल्प हुनसक्छ।
पहिलो विकल्प
पार्टी फुटाएर अगाडि बढ्ने। त्याे कुरा त्यति भरपर्दो र उपयोगीमूलक छैन। त्यो डा. शेखरलाई नै अनुउत्पादक हुनसक्छ र त्यो समूहसंग रहेका नेता एवं कार्यकर्ता पार्टी फुटाउँदा शेखर समुहमा नै बस्छन् भन्ने यकिन छैन। किनभने १४औं महाधिवेशनमा ल्याएको मतलाई आँकलन गरेर नै पार्टी फुटाउन खोजेका हुन् भने त्यो गलत मूंल्याकन हुनसक्छ। त्यतिखेरको मत सभापति शेरबाहादुर देउवाप्रतिको असन्तुष्टिको मत हो। उनकाे कार्यशैली र पार्टीभित्र नीति र विधिविपरीत हिँडेको मत हो। अर्को मत हो, संस्थापन इतरको पुस्तान्तरण एवं रुपान्तरण। नीति र विधिप्रति दृढताको मत हो, कांग्रेसप्रति वितृष्णा मत होइन। अत पहिलो विकल्प सायदै रोज्लान्।
दोश्रो विकल्प
अहिले सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग गरेको भेट र त्यो भेटले उत्पन्न गरेको समाचार। नेपालमा अनलाइन समाचार प्रायोजित रुपमा पनि आउने गरेको हुँदा डा.शेखर कोइराला र केपी ओलीको चुनावी तालमेलसम्मका सामचार आएका छन्। यो कहिँकतै पनि आधिकारिक रुपमा पुष्टl भने भएको छैन। वर्ग र समूह विशेषलाई राजनीतिक लाभ पुर्याउन यसरी समाचार प्रायोजित भएर आउने गरेको सन्दर्भमा नै लिँदा हुन्छ।
तथापी यो राजनीतिक अनुमानलाई सही नै मान्दा पनि १४औं महाधिवेशनपश्चात डा. शेखर कोइरालाले बनाएको आफ्नो छवि र उचाइमा स्खलन हुने बाटो सायदै रोज्लान्। कोइराला परिवारको अहिले राजनीतिक विरासत बोकेका डा. शेखर कोइरालाले त्यति मात्र हैन, सिंगै कोइराला निवासको बिडो र जग सम्हालेका र त्यो निवासको परम्परा, संस्कारमा समेत आँच आउने गरी एमालेसंग चुनावी तालमेल गर्ने छैनन्।
नेपालका पूर्व र सुदूरपश्चिमबाट भ्रमणमा आउनेहरु कोइराला निवासको एतिहासिक प्रजातान्रिक पृष्ठभूमि, नेपाली कांग्रेसका संस्थापक नेताको निवास परिसरमा गएर अवलोकन गर्ने फोटो, खिच्ने जनइच्छामा पनि ठेस लगाउने अनाकर्षण पैदा गराउँछन्। यस्तो सायद डा. शेखर कोइरालाबाट हुँदैन। अहिलेसम्म डा. शेखरबाट निवासको साख र गरिमा बचाएकै छन्। यो कार्यमा उनकाे अहिलेको राजनीतिक प्रतिबद्धता र कार्यशैलीले अझ अक्षुण राख्ने हुँदा केपी ओलीसंगको तालमेलको समाचारलाई विरोधीहरुको प्रायोजित समाचार मान्नुपर्ने हुन आउँछ। यो दोस्राे विकल्प उनकाे लागि उपयोगी उनैले देख्दैनन्।
अर्को नदेख्ने कारण यो पनि छ, नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन गर्दा केपी ओलीको प्रतिगमनविरुद्ध संविधानको मर्म र भावनामा गरिएको प्रहारविरुद्ध यो गठबन्धन हो भनेकै कारणबाट पनि अहिले सामाजिक सञ्जालमा ओली र डा. शेखरको चर्चा भएजस्तो राजनीतिक समीकरण देखिँदैन।
कांग्रेसको यही निर्णयले डा. शेखरलाई रोक्छ। त्यति मात्र हैन, केपी ओलीले कमल थापा र राजेन्द्र लिङ्गदेनसंगको गठबन्धन वार्ता गरिरहेको अवस्थामा प्रतिगमनका विचार दृष्टिकोणको बाेकेको आरोप लागेका केपी ओलीसंग मिलेर चुनावमा जाँदा त्यो प्रतिगमनको दोषको आरोप आफूले समेत बाेक्न कोइराला विरासत बोकेका डा. शेखर कोइरालाले चाहँदैनन र यो दोस्राे विकल्प पनि उनकाे लागि घातक सिद्ध हुन्छ।
तेश्रो विकल्प
अहिले गठबन्धनको भागबण्डाको कुरामा छलफल र बहस चलिरहेको सन्दर्भमा डा. शेखर कोइरालाले १०० सिटभन्दा तलको भागबण्डा स्विकार्य नहुने बताउँदै त्यस्तो भए विद्रोह हुने बताएका छन्। पार्टीभित्र ६० र ४० को भागबण्डाको कुरा पनि संगसंगै उठाइरहेका छन्। अस्ति भर्खर पार्टीको केन्द्रीय समितिमा डा. शेखर पक्षको मनोनीत संख्या हेर्दा देउवाले सकेसम्म पेलेर नै लाने रणनीति बुझाइ संस्थापन इतरको छ। ४० प्रतिशत भागबण्डा खोजेका संस्थापन इतर २० प्रतिशतमा खुम्चनुले पनि यो बुझाइ आएको हुनसक्छ।
भागबण्डामा कांग्रेस ८०/८५ सिटमा झर्दा संस्थापन इतरले माग गरेको ४० प्रतिशत नपाउने निश्चय गरेकै कारण १०० सिटभन्दा तल नस्विकार्ने बताएको हुनसक्छ। यसो गर्दा केही सिट बढाउन सक्ने अवस्था संस्थापन इतरको हुनसक्छ।
अब १०० सिट भागबण्डा नपरे विद्रोह गर्ने कुरा यही कारणबाट आएको हुनसक्छ। अहिलेसम्म गठबन्धनको रस्साकस्सी र अन्य घटकहरुको दावीलाई हेर्दा १०० सिट नपाउने पक्कापक्की छ। यस्तो अवस्थामा डा. शेखर कोइराला के गर्छन् त?
अब उनले तेस्राे विकल्प सुरु गर्न सक्छन्। यो तेस्राे विकल्पमा उनले पार्टी पनि नफुटाउने र केपीसंग पनि चुनावी तालमेल नगरी प्रतिनिधिसभा सदस्य र प्रदेससदस्य सबै सिटमा आफ्नो उम्मेदवारी दिन सक्छन्। यो उनलाई माथिका दुई विकल्पमा यही तेस्राे विकल्पको रोजाइ हुनसक्छ। यो बाटो उनलाई गुणात्मक रुपमा उचित र दुरागामी रुपमा फाइदाजनक लागेको हुनसक्छ।
संस्थापन इतरले मागेको ४० प्रतिशत त देउवाले दिने छैनन्। अधिकतम पाए १५ सिटमा संस्थापनले चित्त बुझाउनुभन्दा १६५ सिटमा नै खडा गरेको अवस्थामा १४औं महाधिवेशनको भन्दा राम्रो नतिजामा आउन सक्छौँ भन्ने संस्थापन इतरको बुझाइ हुनसक्छ र अर्को पक्ष गठबन्धन घटकको चुनावी नतिजाको आँकलन पनि प्रभावित हुनसक्छ। त्यस्तो अवस्थामा संस्थापन इतर नै भोलि सरकार निर्माणमा प्रमुख घटक बन्न सक्छ।
यी तीन विकल्पमा तेस्राे विकल्प सही हुने संस्थापन इतरको ठहरले डा. शेखर कोइरालाले विद्रोहको कुरा राखेका हुनसक्छ र उनले भने जस्तो विद्रोह सायद यही हो।