दाङको घोराहीमा मगर कला तथा संस्कृति प्रदर्शनी भएको छ। नेपाल मगर संघ दाङको आयोजनामा कला तथा संस्कृति प्रदर्शनी भएको हो।
नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगर समुदायको विभिन्न नाँच, गरगहना, पहिरन आदि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा मगरहरुको भुमे नाँच, भुमे नाँच, पैसेरु नाँच, सालैजो भाका, कौडासँगै मगर भाषाको अक्षरलगायत प्रदर्शन गरिएको थियो। प्रदर्शनमा ५०० बढी दर्शकहरुले अवलोकन गरेका थिए। कार्यक्रमको आकर्षका रुपमा हाँस्य कला खड्कबहादुर पुन (खबपु चन्चलन मगर) ले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य घर्तीमगरले मगर समुदायको विशिष्ट प्रकारको संस्कार संस्कृति भएको भन्दै यसलाई बचाउनका लागि सबै जागरुक हुनुपर्ने बताए। उनले कलासंस्कृतिको मात्र संरक्षण नभई मगर समुदायले आफ्नो विचार निर्माण गर्नु पर्ने पनि बताए।
‘कला संस्कृतिले मनोरञ्जन दिनसक्छ, भावुक बनाउन सक्छ तर विचार निर्माण गर्न सक्दैन,’ उनले भने, ‘अब मगर समुदायले विचार निर्माण गर्नुपर्छ। त्यो विचार भनेको मगरात विचार हो।’ प्रदेशसभा सदस्य घर्तीमगरले अगाडी भने,‘एघाह्र/बह्रसय वर्षपहिले यहाँ मगरात भन्ने राज्यहरु थिए। त्यसको पछि अस्तित्वनै सकियो। त्यो हामीमा मगरात विचारको ह्रासका कारण भएको हो।अब विचारमातर्फ मगरात भाषा, संस्कृतिलाई स्थापित गर्नुपर्छ।’