गठबन्धनको अभ्यास सामान्यतया कुनै पनि राजनीतिक दलले संसदमा बहुमत ल्याउन नसकेपछि सरकार निर्माणको लागि एक वा दुई दल मिलेर सरकार बनाउने प्रक्रिया या विधिलाई नै हामी गठबन्धन भन्छौं। यो अभ्यास छिमेकी राष्ट्र भारत र अन्य लोकतान्त्रिक राष्ट्रहरुमा प्रचलनमा आएको देखिन्छ। यस्तो गठबन्धनको अभ्यास आवश्यकता र बाध्यता पनि हो। संसदको पाँच वर्ष समयावधि रहेको हुँदा पटकपटक निर्वाचनमा जानु मुलुककै लागि आर्थिक रुपले पनि अनुचित हो, यही बाध्यताले गर्दा गठबन्धनको सरकार बन्ने योग हुन्छ।
गठबन्धन सरकारको केही राम्रा पक्षहरु पनि छन्, जस्तो स्थिर सरकारको परिकल्पना, सुशासन, विकास र पुन: निर्वाचनमा जानुबाट रोक्नु। गठबन्धन सरकारमा साझा दायित्व हुन्छ र कुनै पनि निर्णय गर्नु भन्दा पहिले राजनीतिक दलबीच विचार विमर्श गरेर निर्णय लिन्छन् र त्यो निर्णयको सामूहिक उत्तरदायित्व हुन्छ। त्यस्तो निर्णयलाई गठबन्धन सम्मिलित घटकहरुले समेत आफ्नो निर्णय मान्छन्।
नेकपा एमाले एकीकरण हुनु भन्दा पूर्वका सरकार बन्दै, भंग हुँदै स्थिर सरकार हुन नसकेकाे अवस्थामा माओवादी र एमालेको एकीकरणपछि निर्मित नेकपा एमालेले स्थिर सरकार, सुशासन, विकास र समृद्धिको नारा दिएर चुनावमा सहभागिता जनाए। यहाँनेर नेपाली जनता देशमा अस्थिर सरकारका कारणबाट वाक्क र दिक्क भइसकेका, राजनीतिक अस्थिरतताका कारण दिशाहीन सरकारबाट निराश भएका जनताले मुलुकमा सुशासन र विकास एवं समृद्धि हुनकै लागि पनि यो नेकपा एमालेको गठबन्धनलाई निर्वाचनमा स्विकारे।
नेकपा एमालेको गठबन्धन जनभावना अनुरूप नै थियो, जन इच्छा नै थियो र त्यतिखेरको जनआधार पनि स्थिर सरकार सुसाशनकै पक्षमा थियो।जनता चाहान्थे स्थिर बहुमतको सरकारको लागि बरु गठबन्धन गरेर आउन, जनभावना बुझेर त्यहीअनुरूप नेकपा एमाले निर्मित गरे र निर्वाचनमा गए। नेकपा एमालेले बहुमतको सरकार बनाउन सफल भयो।
तर नेकपा एमाले भनिएतापनि त्यो गठबन्धनकै सरकार थियो। त्यो सरकारले गठबन्धन सरकारको राम्रो गुण र धर्म बोक्न सकेन। त्यसले गठबन्धनको दोष र अवगुण मात्रै बोक्यो। गठबन्धनको सरकार दिशाहीन र मूल्यहिनतालाई प्रश्रय दियो। सामूहिक निर्णयमा जान सकेन, सामूहिक उत्तदायित्वको भाव बोक्न सकेन र लोक कल्याणकारी निर्णय लिन सकेन। मन्त्री बन्ने हानथाप र पालो-पालो सरकार प्रमुख हुने समझदारीसम्म पनि अवलम्वन नगरेर गठबन्धनभित्रै तनाव र विवाद सिर्जना भयो, अन्तत: सरकार भंग हुन पुग्यो।
निर्वाचन प्रयोजनको लागि गरिने गठबन्धन राजनैतिक दलको आवश्यकता र बाध्यताभन्दा पनि जनइच्छा, जनभावना अनुरूप हुने हो। यो कुरा नेकपा एमालेको गठबन्धनलाई जनादेशबाट अनुमोदन भएकोले पुष्टि गर्छ।
निर्वाचनअघि गठबन्धन गर्नु भनेको देशमा अस्थिर राजनीति, अस्थिर सरकार, कसैको पनि बहुमतको सरकार निर्माण हुन नसक्दा गरिने परिकल्पना हो। यसमा जनताको यस्तो प्रकारको गठबन्धनमा पूर्ण सहमति र अनुमोदन हुन्छ। यस्तो अभ्यास एकपटक नेकपा एमालेबाट प्रयोग भैसकेको छ।
एकपल्ट नेकपा एमालेको निर्वाचनमा गरिएको गठबन्धन हेरिसके। बहुमतको सरकार पनि आफ्नै असक्षमता, सत्ता लिप्सा र स्वार्थका कारण पुरा समयावधि सरकार सञ्चालन गर्न सकेनन्। गठबन्धन सरकारको एउटा नराम्रो पक्ष यही हो, स्वार्थ र सत्ता लिप्सा, राजनीतिक विचारधारा एवं भ्रष्टाचारले गर्दा गठबन्धन लामो समयसम्म पूर्णकाल चल्न सक्दैन। त्यो कुरा नेकपा एमालेबाट जगजाहेर भइसकेको छ।
यस्तो अवस्था अहिले गठबन्धनकै सरकार छ। त्यस गठबन्धनभित्र विविध विचार, विविध उद्देश्य बाेकेका राजनीतिक दलको गठबन्धन छ। सरकार सञ्चालनसम्मको गठबन्धन त विधि र प्रक्रियाभित्रै पर्ने राजनीतिक विषय हुन्, तर यसपछि निर्वाचनमा समेत गठबन्धन गरेर नै अगाडि बढ्ने कुरा युक्तिसंगत देखिँदैन।
पाँच दलीय गठबन्धनको उद्देश्य के हो? जनतामा जाँदा के भनेर जाने? अहिलेको यो गठबन्धनसंग यसकाे उचित जवाफ छैन। माधव नेपालले भनिसके ‘कत्रो जोखिम मोलेर पार्टी फुटाएर आएँ, अहिले भागवन्डा उब्रेको दिने?’ प्रचण्डको पनि त्यही अवस्था छ ‘भनेजस्तो सिट बाँडफाँट भएन भने यो गठबन्धन भंग गर्दै अर्को गठबन्धन गर्छौँ।’
नेपाली कांग्रेस भन्छ, ‘केपी ओलीको सर्वसत्तावाद, अधिनायकवाद, संविधान र गणतन्त्रमा प्रतिगमन देखिएको हुँदा रक्षाको लागि गठबन्धन गर्नु परेको।’ केपी ओलीको गठबन्धनमा रहेका माधव नेपाल र प्रचण्डजस्ता सहयात्रीलाई मिलाएर गरिएको यो गठबन्धनको जग नै कमजोर छ भन्नुपर्छ।केपी ओलीको तत्कालीन सरकारमा हौसला दिने यी दुईको सहमतिलाई अहिले कांग्रेसले भने जस्तै प्रतिगमनको दोष किन नलगाउने? अर्को कुरा जब नेकपा एमालेबाट माधव नेपालले पार्टी फुटाएर नेकपा समाजवाद बनाए भने प्रचण्ड नेकपाबाट अलग भएर माओवादीमै फर्किए। त्यतिखेर नै निर्वाचनमा गठबन्धन गरेर जाने नेपाली कांग्रेसमा सहमति भएको हुनुपर्छ।
तत्कालीन अवस्थामा त्यसरी अलग भएका यी दुई दललाई अबको निर्वाचनमा नेपाली कांग्रेसले चुनावी गठबन्धन गरेर राम्रो हैसियतमा प्रस्तुत गर्नु पनि नेपाली कांग्रेसमा बाध्यता छ। त्यो बाध्यता भनेको यी दुई दलको सहयोगबाट बनेका प्रधानमन्त्री शेरबाहादुर देउवाको एक्लो बाध्यता हाे। त्यो नै बाध्यता अब नेपाली कांग्रेसमा भयो। यस कारणले भयो कि नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवा हुन् र गठबन्धनको सिट बाँडफाँटमा कांग्रेस लचिलो भएको हुन सक्छ।
तर के अबको निर्वाचनमा यो पाँच दलीय गठबन्धनमा जनमत हुन्छ? जनताले के भनेर यो गठबन्धनमा विश्वास गर्ने। योभन्दा अगाडिको गठबन्धनलाई विश्वास गरेर पाँच वर्षको लागि जनादेश दिएकै हुन्। अब फेरि त्यो पुनरावृत्ति हुन्छ? मुलुकमा निर्वाचनमा जनताको कुनै एक दलमा विश्वास नहुँदा गठबन्धनको खोजी गर्छन्, त्यो परिस्थिति मंसिर ४ को निर्वाचनमा देखिँदैन। जनताको मतलाई सर्वोपरि ठान्ने, जनता सार्वभौम हुन् भन्ने नेपाली कांग्रेसले जनताले नदेखेको, जनताले नरुचाएको गठबन्धन कसरी देख्यो, त्यो आश्चर्य र उदेकलाग्दो छ।