स्वास्थ्य क्षेत्रमा मध्यनेपाल नगरपालिका गण्डकी प्रथम

File Photo
File Photo

लमजुङको मध्यनेपाल नगरपालिका गण्डकी प्रदेशका ८५ पालिकामध्येबाट स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ।

गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा मध्यनेपाल नगरपालिका प्रथम भएको घोषणा गरिएको हो।

स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७ दशमलव चार अङ्क प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव श्रीराम तिवारीका अनुसार पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ। पैयुँले ८६ दशमलव दुई र बेनीले ८५ अङ्क प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन्।

गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताए।

स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका ८ स्थानीय तहमध्ये पनि मध्यनेपाल नगरपालिका प्रथम भएको थियो। स्वास्थ्य कार्यालय लमजुङले आर्थिक बर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धि गतिविधिहरुका मुख्य सूचकहरुको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो।

नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए। उनका अनुसार दूधपोखरी गाउँपालिका ८२ दशमलव ७५ अंकका साथ द्धितीय र बेंसीशहर नगरपालिका ८१ दशमलव ६५ अंकका साथ तृतीय भएको छ।

स्वास्थ्य क्षेत्रमा गण्डकीमै प्रथम भएकोमा खुसी ब्यक्त गर्दै मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्य क्षेत्रमा खटिएका सबै कर्मचारीलाई बधाई तथा धन्यवाद दिएका छन्।

प्रकाशित मिति: : 2022-09-05 08:23:00

प्रतिकृया दिनुहोस्