आमाले प्रयेक दिन फोन गरेर सोध्नुहुन्छ,‘बाबु भात खाइस’ मैले ‘खाएँ’ भन्दै जवाफ दिन्छु। आमाले फेरि भन्नुहुन्छ, ‘जताततै नहिड्ँनु, गाडीले हान्ला नी!’ आमाको कुरा सुनेर रिसाउँदै भन्ने गर्छु, ‘म बच्चा होइन, मेरो धेरै चिन्ता नगर्नुस् न!’ आमाले भन्नु हुन्छ, ‘तिमीहरुको बुबाले छोडेर गइहाले, मेरो सहारा नै तिमीहरु हौँ बाबु! तिमीहरुलाई केही भयो भने म कसको सहारामा बाच्ँने भन त?’ आमाको कु्रा सुनेर भावुक हुन्छु अनि आमालाई सम्झाएर भन्ने गर्छु–‘म ठिक छु आमा मेरो भन्दा पनि आफ्नो ख्याल राख्नुस् है!’
प्युठानबाट काठमाडौं आएको ६ वर्ष बित्यो। तर मेरी आमाको लागि म नौलो सहरमा छु। सायद श्रीमान गुमाएकी मेरी आमालाई छोरा पनि गुमाउँछु भन्ने पीर होला।
मलाई मेरी एक्ली आमालाई छोडेर आउन मन थिएन। तर मलाई बाध्यताले गाउँ बस्नै थिएन। पढ्नका लागि काठमाडाैं आउनैपर्याे।
‘एसईई’ को परीक्षा दिएर काठमाडौं जाने मेरो ठूलो रहर थियो। तर परीक्षाको नतिजा देखेपछि मेरो सबै सपनाहरु टुक्रिएर गयाे। मैले सोचेँझैँ रिजल्ट नै आएन।
रिजल्ट देखेर हताश भएँ। काठमाडौं जाने मेरो सपनालाई मैले विश्राम दिएँ। तर आफूलाईभन्दा धेरै मलाई माया गर्ने मेरा बाबु सम्मानका दाइ र मलाई सानैदेखि पुल्पुलाएर हुकाउर्नु भएकी मेरी आमाले मलाई सम्झाउन थाल्नुभयो। तर मैले उहाँको कुरै मानिनँ। काठमाडौं जान्ने पढ्दिनँ भन्दै घुर्की लगाउन थालेँ।
मेरो व्यवहारबाट घरका परिवार दुखी हुनुभयो। त्यो देखेर मनलाई आफैँदेखि रिस उठ्न थाल्यो। अनि मेरा दाइ र आमालाई भन्न थालेँ, ‘तपाईँहरु चिन्ता नलिनुस् म काठमाडौं गएर धेरै पढ्छु।’
मेरो कुरा सुनेर खुसी हुँदै मलाई काठमाडौं पठाउने तयारी भयो। डेढ दशक बढी बिताएका गाउँलाई छोडेर काठमाडौं आउनु दुख लागिरहेको थियो तर खुसी पनि उत्तिकै थिएँ। नयाँ रहर घुम्ने अवसर जो मिलेको थियो।
काठमाडौं जानुअघि मैले मेरा गाउँका साथीहरुलाई भेट्न गएँ। उनीहरुले मलाई भन्दै थिए, ‘ध्रुर्वे तँ त भाग्यमानी रहिछेस्। हामीलाई छाडेर काठमाडौं जान लागिस् है।’
साथीहरुको कुरा सुनेर मख्ख परेको म जवाफ दिन्थे, ‘अँ भाग्यमानी नै रहिछु नी!’
काठमाडौं जानका लागि साथीहरुसँग छुट्दै गर्दा साथीहरुले मलाई भनेका थिए, ‘मान्छे बनेर गाउँ फर्केस् है!’ मैले ‘हुन्छ’ भन्दै उनीहरुबाट बिदा लिएँ।
काठमाडौं जाने दिन छोरालाई बिदा गर्न दैलोमा बसेकी मेरी आमाले रातो टिका लगाइदिँदै रुँदै भन्नुभएको थियो, ‘राम्रो पढ्नु, असल हुनु, गाउँ फर्किएर आउँदा ठूलो मान्छे बनेर आउनु!’
आमाको कुरामा सहमति जनाउँदै भने, ‘आमा म ठूलो मान्छे बनेर आउँछु। मेरो पीर नलिनु है!’ अनि ठूलो मान्छे बन्ने आशमा आमासँग बिदा मागेर काठमाडौं हानिएँ।
काठमाडौं जानका लागि उत्साहित हुँदै बसमा चढ्न थालेको म सिट नम्बर–१४ मा बसेँ। अनि सोच्न थालेँ–‘कति खेर पुग्छ होला काठमाडौं।’ मनमा कुराहरु खेलाउँदा खेलाउँदै कतिखेर काठमाडौं आइपुगेछु थाहै भएन।
सडकभरि गाडीको जाम अनि पैदलयात्रीको भीड। त्यसैमाथि फोहोरको थुप्रो। काठमाडौंको रुप देखेपछि म निराश हुन थालेँ। अनि सोचेँ, ‘यो भन्दा राम्रो त मेरो गाउँ नै रहिछ।’
पढ्नका लागि काठमाडौं आएको म सुरू सुरूमा कोठामा बसे केहिँसमय पछि एक होस्टेलमा बस्न थालेँ। आफ्नो घर जस्तो हुँदैन रहिछ काठमाडौंको कोठा र होस्टेल।
काठमाडौं आएपछि मलाई आमाको यादले सताउन थाल्यो। गाउँमा कहिले खाली पेट नबस्ने म काठमाडौं आएर कति दिन त भोक्कै सुतेँ।
गाउँमा हुँदा आमासँग झगडा गरेर घुर्की लगाएर खाना नखाँदा मलाई आमाले जबरजस्ती खाना खुवाइ दिनुहुन्थ्यो।
आमाले गर्नुभएको ती माया सम्झदा लाग्छ कि, बेकारमा आएछु काठमाडौं। तर मैले आमाले मप्रति देख्नु भएको सपना–ठूलो मान्छे भएर पनि त देखाउनु नै छ। त्यसैले जस्तोसुकै दुख सहेर पनि म ठूलो मान्छे बन्न खोज्दैछु।