प्रवाशमा प्रदिप गिरिको सम्झना , विभिन्न देशमा शोक सभा र श्रद्धाञ्जली

काङ्ग्रेस भित्र समाजवादी चिन्तक र वैचारिक व्यक्तित्वको अलग्गै छवि बनाएका दिवंगत नेता प्रदीप गिरिको निधनप्रति संसारभरका नेपालीले दुस्ख व्यक्त गरेका छन्।

विभिन्न देशमा रहेका नेपालीहरुले नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता प्रदिप गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोक सभा र श्रद्धाञ्जली कार्यक्रमहरु आयोजना गरेका छन्।

गत सोमबार स्वर्गीय नेता गिरिको १० औं दिनको पुण्य तिथिको अवसरमा बेल्जियममा रहेका नेपालीहरुले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि नेता गिरिलाई सम्झेका थिए। केहि दिनअघि नेपाल पत्रकार महासंघको युरोप शाखाले समेत नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो।

यसैगरी युएईमा रहेका नेपालीहरुले समेत गत बिहिवार एक कार्यक्रमको आयोजना गरि नेता गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपाली जनसम्पर्क समिति युएईले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा युएई क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरुले स्वर्गीय नेता गिरिको स्मरणमा मौन धारण गरि तस्बीरमा फुलमाला अर्पण गरेका थिए।

कतारमा रहेका नेपालीहरुले पनि स्वर्गीय नेता गिरिको स्मरणमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका छन्। नेपाली जनसम्पर्क समिति कतारद्वारा सनैयामा शुक्रवार आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले नेता गिरिको सिद्धान्त , त्याग र समर्पणको चर्चा गरेका थिए।

शुक्रबार नै संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुले शोक सभाको आयोजना गरि स्वर्गीय नेता गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन। नेपाली जनसम्पर्क समिति अमेरिकाको लङ्ग आईल्याण्ड च्याप्टरले आयोजना गरेको शोक सभामा त्यहाँ रहेका नेपालीहरुले नेता गिरिको स्मरण गर्दै श्रद्धाञ्जली दिएको सभापति विश्वराज बाँस्तोलाले जानकारी दिए।

यसैगरी काङ्ग्रेस निकट प्रवाश संगठन नेपाली जनसम्पर्क समितिहरुको विश्व संजालले हिजो (शनिबार) जुम मार्फत नेता गिरिको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एसिया , युरोप , अमेरिका , अफ्रिका  महादेशका विभिन्न देशमा रहेका नेपालीहरु सहभागी भएका थिए।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा। शेखर कोईराला , अर्जुननर सिंह केसि , जिवन परियार , गुरुराज घिमिरे , देवराज चालिसे लगायतका नेताहरु समेत सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. शेखर कोईरालाले नेता गिरिको व्यक्तित्व , सालिनता र संसदमा उनले खेलेको भुमिकाको चर्चा गरेका थिए। विश्व संजालका सभापति विष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति नवराज शिवाकोटीले स्वागत मन्तव्य राखेका थिए भने सहमहामन्त्री भुपि गोविन्द श्रेष्ठले संचालन गरेका थिए।

यसैगरि स्वर्गीय नेता प्रदिप गिरिको स्मृतिमा आज (आईतबार) दक्षिण कोरियाको डोङ्म्यो स्टेसनमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिंदैछ। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यो कार्यक्रम हुन लागेको हो।

यस्तै नेपाली जनसम्पर्क समिति आयरल्यान्डको आयोजनामा आगामी मंगलबार डुब्लिनको टिचर्स क्लबमा नेता गिरिको स्मृतिमा शोक सभा राखिएको छ।

प्रकाशित मिति: : 2022-09-04 07:00:00

प्रतिकृया दिनुहोस्