प्रमुख नगदे बालीका रुपमा लिइने अकबरे खुर्सानीले उचित मूल्य नपाउँदा यहाँका किसान मारमा परेका छन्। अरु बेला यो मौसममा अकबरे एक केजीको रु चार सयदेखि रु पाँच सयसम्म पथ्यो तर, अहिले एक केजीको रु एक सय ५० देखि बढीमा रु दुई सयसम्ममा बेच्न किसान बाध्य भएका छन्।
छथर गाउँपालिका–६ सुदापका किसान शेरबहादुर पौडेलले अघिल्लो वर्ष यही सिजनमा अकबरे प्रतिकिलो रु दुई सय ५० भन्दाबढीमा बेचेका थिए। यो वर्ष उनले प्रतिकिलो रु एक सय ५० भन्दा बढीमा बेच्न पाएका छैनन्।
'खोई यो साल त अकबरेको भाउ पो छैन', पौडेलले भने, 'अहिले अघिल्लो सालको भन्दा यस वर्ष अकबरे पनि बढी फलेको छ। त्यही भएर कसैले खुर्सानीको भाउँ नै लगाउँदैनन्।'
अरुबेला तेह्रथुमको वसन्तपुर, लसुने, जिरिखिम्ती, म्याङ्लुङ, शुक्रबारे बजारमा अकबरे किन्नेको भीड नै लाग्थ्यो। आजभोलि बजारमा अकबरे किन्ने पनि छैनन्। बारीमै कुहिने डरले पनि सस्तोमा बेच्नुपरेको अर्का किसान खगेन्द्र मगरको भनाइ छ।
आर्थिक वर्ष २०७८-७९ मा तेह्रथुम जिल्लामा २९ हेक्टर क्षेत्रफलमा चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७-७८ मा २८ हेक्टर क्षेत्रफलमा तीन सय ८० मेट्रिक टन अकबरे उत्पादन भएको थियो। तथ्याङ्कमा अघिल्लो वर्ष उत्पादन घटेको भए पनि समयमै पानी परेकाले यो वर्ष उत्पादन बढ्ने अनुमान गरिएको छ।
यो वर्ष अधिकरुपमा अकबरे फलेका कारण पनि बजार मूल्य कम भएको हुन सक्ने कृषि ज्ञान केन्द्र धनकुटाका सूचना अधिकारी सुरज खनाल बताउँछन्।
बर्सेनि अकबरे उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन र भण्डारणका लागि सरकारले चासो दिएको छैन। पूर्वी पहाडी जिल्लामा अकबरेको उत्पादन र व्यापार राम्रो भए पनि किसानले उत्पादन गरेका खुर्सानीको भण्डारण र उचित बजारको प्रबन्ध कसैले गरेको छैनन्।
नेपालका सबै भूभागमा अकबरेको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुन्छ। खाना पचाउने, माइग्रेन, कोल्ड फ्लु भएकालाई पनि राहत दिने तथा हाडजोर्नीमा हुने दुखाइ कम गराउने आदि फाइदा भएका कारण पनि अकबरे प्रायःमानिसले मन पराउँछन्।
कृषि ज्ञान केन्द्रले पनि अहिलेसम्म अकबरेको बजार व्यवस्थापन वा यसको विस्तारका लागि कुनै कार्यक्रम ल्याएको छैन।
व्यावसायिकरुपमा अकबरे खेती गर्ने किसानले अनुदानको माग गरेका छैनन्। जसले गर्दा पनि अनुदानको कार्यक्रम ल्याउन नसकिएको सूचना अधिकृत खनालको भनाइ छ। बाला भट्टराई