त्यो अभाव जसले मलाई पत्रकार बन्न बाध्य बनायो

अर्जुन बिष्ट

काठमाडाैं
BreaknLinks
BreaknLinks

जिन्दगीमा चुनौती र अवसर दुबैलाई नजिकबाट चिन्ने अवसर पाएँ र आज पत्रकारिताको विश्वविद्यालयमा पत्रकारिता सिकिरहेको छु।

मेरो गाउँका केही व्यक्ति शिक्षक थिए। पढे/लेखेपछि शिक्षक बन्नैपर्छ भन्ने मान्यता त्यतिबेलाकाे समाजले राख्थ्याे। हुन पनि गाउँमा शिक्षककाे छुट्टै शान थियाे। शिक्षकहरूप्रतिकाे प्रेम, सद्भाव र हेर्ने दृष्टिकाेणप्रति फरक किसिमकाे छाप थियाे, गाउँलेहरूमा। स्कुल पढ्दादेखि नै प्राय: मान्छेहरु फलानोको छोराजस्तै मास्टर (शिक्षक) बन्नुपर्छ भन्थे।

समाजको प्रशंसा, शिक्षकप्रतिको आकर्षणले मेरो दृष्टिकोणमाथि थप मलजल गराउन थाल्यो। १० कक्षा उत्तीर्ण भएपछि शिक्षक बन्ने दृढ संकल्पसहित मैले उच्च शिक्षाको लागि नयाँ शैक्षिक यात्रा सुरु गरेँ। शिक्षकप्रतिको सम्मानले नै मेरो मानसिकतामा बदलावको भाव जाग्याे। त्यतिबेला लाग्थ्याे, समाजकाे सबैभन्दा  प्रतिष्ठित पेसा शिक्षक नै हो। डाक्टर, इन्जिनियर, पाइलटलगायत अरू शिक्षकको अगाडि केही होइन।

समय बित्दै जाँदा घरपरिवारले पनि छाेराले अब आफ्नाे खर्च आफैं जुटाए हुन्थ्याे भन्ने अपेक्षा राखेकाे थियाे। मध्यम वर्गीय परिवारमा जन्मिएको मलाई जे गरेर भएपनि पैसा कमाउनु महत्वपूर्ण थियाे। सामाजिक उत्तरदायित्व र गाउँलेहरूको शिक्षकप्रतिको आकर्षण देखेर मलाई शिक्षक बन्नु थियो। तर, मन भने शिक्षण पेसामा खुसी थिएन।

शिक्षणमा रूचि नहुँदा नहुँदै पनि लहैलहैमा र रहरैरहरमा वि.सं. २०६८ मा गाउँकै एक निजी विद्यालयमा पढाउन थालेँ। जागिरे जीवनको हप्तादिन नपुग्दै गाउँ/घरमा प्रशंसा सुरु भइसकेको थियो। समाजमा शिक्षक बने मात्रै असल मान्छे भइन्छ भन्ने गलत बुझाइ र सोचको विकास भयो। त्यही बुझाइ, सोच र विचारको सिकार बनेँ, म।

पढाउँदै जाँदा शिक्षण पेसा नै मनपर्न छोड्यो। किन हो कुन्नी मलाई पढाउने कामप्रति पटक्कै रूचि लागेन। शिक्षक बन्नु केवल दिन कटाउनलाई मात्रै हो भन्ने लागेर जागिर छाेड्दिएँ। स्कुलमा बालबालिकासँग रमाउने, कराउने बानी बसेको मान्छे म केही दिन रन्थनिएँ। मनमा अनेकौँ सवाल खेलिरहे तर मसँग कुनै जवाफ थिएनन्। त्यसपछि लोकसेवाकाे तयारी सँगै वैदेशिक रोजगारलगायतका काममा बढी चासोका साथ अघि बढेँ। त्यसैबीच मैले काठमाडौँ जाने निर्णय गरेँ।

कुनै खास लक्ष्य, याेजना बिनै गाउँ छाेडेर सहर पुस्ने निर्णयमा पुगेकाे थिएँ। काठमाडौँ पुगेपछि रुकुममा सँगै स्कुल पढ्दाको साथी भेटेँ। उसले भर्खरै नयाँ बानेश्वरमा क्याम्पस पढ्न सुरू गरेको रहेछ। हामी एसएसली उत्तीर्ण गरी आ-आफ्नो पेसामा व्यस्त थियौँ। कक्षा ११ मा पढ्दै गर्दा मैले निजी स्कुलमा पढाउन सुरु गरेको थिएँ। ती साथी, ती याद फेरि सम्झिएँ। स्कुल पढ्दाको साथी काठमाडौँमा भेट्दा म नयाँ मान्छेको लागि ढुङ्गा खोज्दा देउता मिले झैँ भयो।

केही दिन साथीसँगै घुमफिरमै समय बित्यो। काठमाडौँ त आएँ तर के गर्ने? कसरी अगाडि बढ्ने? मलाई कुनै तरिका थाहा थिएन। त्याे साथी पनि त्यति पाको उमेरका थिएनन्। केही समय अलमलमै बिते। अब अरुको कुरा सुन्नुभन्दा आफैं निर्णय लिनु ठिक लाग्यो। अलमलबाट बाहिर निस्किएर एक्लिएँ। कोटेश्वरमा कोठा लिएर बस्न थालेँ।

थाक्दै, गल्दै, सम्हालिँदै, भौतारिँदै काम खोज्दाखोज्दै कतिबेला पत्रकार बनेछु पत्यै पाइनँ। त्यही संघर्षशील यात्राबाटै सुरू भयाे पत्रकारिताकाे नयाँ यात्रा। म परिस्थितिले पत्रकार बनेँ।

मेरो घरपरिवारको संख्या ठुलै थियो। म केही बन्छु र त्यसमै जीवन समर्पण गर्छु भन्ने सोचेको पनि थिइनँ, किनकि घरपरिवारमा त्यस्तो बुद्धिजीवी कोही थिएन। बाबा, आमाको बुढ्याैली उमेर, भाइ सानाे, दाजु छुट्टा भइसकेको र दिदीहरु पनि आ-आफ्नो घर व्यवहारमा लागिसकेको र यसो हेर्दा घरको आर्थिक अवस्थाका कारण निश्चित लक्ष्य र योजना तय गर्न सकेकाे थिएन।

स्कुल पढाउन छोडेपछि मसँग ठोस योजना पनि थिएन। जस्ताेसुकै हाेस् मलाई कामको आवश्यकता थियाे। यो व्यस्त सहरमा जस्तोसुकै काम गरेर भएपनि बाँच्नु थियो। झन् पत्रकारिता पढ्छु र पत्रकार बन्छु भनेर त सोचेकै थिइनँ। काठमाडौँमा बेरोजगार भएर बस्नुको पीडा मलाई राम्ररी थाहा छ।

यताउति भौतारिँदै काठमाडौँ छिरेको पनि दुई/तीन महिना बितिसकेको थियो। साथी-भाइ, आफन्त भेटघाटमै केही दिन बिताएँ। पहिलो पटक काठमाडौँ छिरेको मलाई राम्रोसँग ठाउँहरु पनि थाहा थिएन। कामको खोजीमा एक्लै डुलेँ, एक्लै भौतारिँदा कोटेश्वर झर्नुपर्ने मान्छे कहिले सूर्यविनायक पुग्थेँ त कहिले बसपार्क, आफ्नै कोठासमेत याद हुँदैनथ्यो।

विस्तारै बानी पर्न थाल्यो। काठमाडौँलाई चिन्न थालेपछि एनजिओमा जागिएर पाएँ। समयसँगै काठमाडौँले सोच बदलिदियो, योजना बदलिदियो र ठोस लक्ष्यसहित जीवन जिउन पनि सिकायो। जेमा भएपनि जागिर खानुबाहेक मेरा लागि अर्को विकल्प थिएन। एनजिओको जागिरले पहिलो निर्णय पढ्ने, अनि राम्रो काम खोज्ने भयो।

गम्भीर समीक्षापछि पत्रकारिता पढ्ने निर्णय गरेँ। पढ्दै कमाउँदै गर्ने निर्णयसहित प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा स्नातक तहको पत्रकारिता अध्ययन सुरु गरेँ। पढाइ बिहानी सत्रमा हुने भएकोले सोही अनुकूल कामको खोजीमा लागिरहेँ। एकपटक लोकसेवाअन्तर्गत खरिदारको परीक्षासमेत दिएँ तर सफल भइनँ।

एनजिओमा सेक्रेटरी भएर काम गरिरहेकोले कार्यालय सञ्चालनसम्बन्धी केही जानकारी बटुलेको थिएँ। स्नातक तह प्रथम वर्षको परीक्षा पनि सकियो। उता जागिरको अवधि पनि सकियो। फेरि बेरोजगार! त्यसपछि म प्रमाणपत्र हातमा लिएर जागिरको खोजीमा भौतारिरहेँ। कतै योग्यताअनुसारको काम मिलेन त, कतै कामको लागि योग्यता पुगेन।

पत्रपत्रिकामा छापिएका विज्ञापन हेरेर अन्तर्वार्ता दिन जाने/आउने गरेर दिनहरू बित्दै थिए। बिरानो सहरमा न कोही चिनेको, न आफू नै सक्षम भएजस्तो लाग्ने। चिनेका केही आफन्तहरु पनि जागिर लगाइदिने बहानामा कहिले महँगा रेष्टुरेन्ट त कहिले सिंहदरबारका क्यान्टिनमा बिल तिर्न मात्रै लगाउँथे। केही महिना यसैगरी भौतारिँदै बित्यो।

उता क्याम्पसमा दोस्रो वर्षको पढाइ सुरु भइसकेकाे थियाे। त्याे बीचको दौडाहामा काठमाडौँमा जागिर लगाइदिने झुटो आश्वासन र स्वार्थमा हुर्किएका आफन्तहरुको नियत मज्जाले बुझ्न पाइयो। सबैको नियत बुझेपछि फेरि शैक्षिक योग्यताका प्रमाणपत्र हातमा बाेकेएर जागिरको खोजीमा निस्किएँ।

थाक्दै, गल्दै, सम्हालिँदै, भौतारिँदै काम खोज्दाखोज्दै कतिबेला पत्रकार बनेछु पत्यै पाइनँ। त्यही संघर्षशील यात्राबाटै सुरू भयाे पत्रकारिताकाे नयाँ यात्रा। म परिस्थितिले पत्रकार बनेँ। संघर्ष र निरन्तरकाे मेहनतले सचेत त बनायो नै, त्योभन्दा बढी एक जिम्मेवार पेसामा आवद्ध भएर बाँच्न पनि सिकायो।

हातमा शैक्षिक योग्यताका प्रमाणपत्र बोकेर सयौँ ठाउँ चहार्नुको पीडाले वास्तमै मलाई परिवर्तन गरायाे। झुटो आश्वासनमा आफन्तबाटै ठगिने कयौँ युवाहरुको आवाज बन्ने संघर्षसहित पत्रकारिताको मैदानमा उत्रिन पुगेँ। विगतको भोगाइले आज खुसीका साथ पत्रकारितामा रमाउन सक्ने भएको छु। जिन्दगीमा चुनौती र अवसर दुबैलाई नजिकबाट चिन्ने अवसर पाएँ र आज पत्रकारिताको विश्वविद्यालयमा पत्रकारिता सिकिरहेको छु।

क्याम्पसको समयमा साथीभाइसँग पत्रिका पढ्दा, छलफल गर्दा राजनीतिक विषयमा वादविवाद गरिरहन्थेँ। उनीहरु भन्थे, ‘तेरो रुचि पत्रकारितामा छ, त्यही लाइनमा लाग्।’ तर उनीहरुलाई मेरो अभाव के थाहा? म त पत्रिका पढ्ने बहानामा कामको विज्ञापन हेरिरहेको हुन्थेँ।

भोलिका दिनमा यही पत्रिकामा आफैंले समाचार छाप्नुपर्छ भन्ने सोच कहिल्यै आएन। किनकि मेरो मस्तिष्कमा त शिक्षकपछि सरकारी जागिरले मात्रै जीविकोपार्जन हुन्छ भन्ने सोच थियो। तर, त्यो भ्रमले दिगोपना लिएन। पढ्दै जाँदा, फिल्डमा भिज्दै जाँदा पत्रकारितामा केही गर्छु भन्ने आँट ममा थपिन थाल्यो। दृढ संकल्पसहित अब मैले पत्रकारितालाई अङ्गाल्नुपर्छ भन्ने मानसिकताको विकास भयो। जागिर खोज्दा भोगेको पीडा, कमिसनले थलिएका युवा, हेपाहा प्रवृत्ति र असमानताका विरुद्धमा आवाज उठाउन म पत्रकार बन्नुपर्छ भन्ने भित्रैदेखि इख ममाथि जाग्यो।

सामान्य परिवारमा हुर्किएको एउटा लुरे केटो २०६२/०६३ सालको जनआन्दोलनको मुखैमा राजधानी छिरेर पत्रकार बन्नु त्यो बेलाको चानचुने कुरा थिएन। न मलाई मोफसलको अनुभव थियो, न त कुनै प्रविधिमा दक्ष थिएँ। थियो त केवल पढाइ र लेखन शैलीमा सामान्य ज्ञान। यही प्रयोग गरेर मलाई जीवन धान्नु थियो।

उसो त पत्रकारितामा पैसा कमाउन सकिँदैन भन्ने आममानिसको बुझाइ छ। त्यो समयमा मलाई धेरै पैसा कमाउन सकिने जागिरको खाँचो थियो। तर त्यो सम्भव भएन। विभेदकारी व्यवहारको विरुद्धमा मैले कलम चलाउनु थियो। जति कमाउँछु, त्यतिमै रमाउँछु भन्ने साेचका साथ पत्रकारितामा होमिएँ। यदि कोही चुनौतीपूर्ण र अभावग्रस्त जिन्दगी जिउँछ भने त्यो पत्रकार हो। यो अधिकांश मान्छेलाई थाहा छ। अन्य पेसामा चुनौती र अभाव नै छैन भन्न खोजिएको भने होइन। तर जति पत्रकारले गर्नुपर्छ, त्यो दु:ख सायद अन्य  पेसामा छैन। संयोगवश म त्यही पेसा चुन्न विवश भएँ।

क्याम्पसमा पत्रकारितासम्बन्धी पढ्थेँ। केही आधारभूत कुरा थाहा पाइसकेको थिएँ। तर समाचार लेख्न त्यति ज्ञान थिएन। २०६७/०६८ तिर नेपालमा अनलाइन मिडिया खासै थिएनन्। दैनिक पत्रिका, रेडियो र टेलिभिजन मात्रै थिए। त्यो पनि अहिले जस्तो धेरै सङ्ख्यामा थिएनन्। महिना दिनमै मिडिया बदलेर जागिर पाइहाल्ने अवस्था थिएन। काम पाउन निकै गाह्रो थियो। पत्रकारितामा चिनेका कोही थिएनन्। एक्लै संघर्ष गर्दै जानीनजानी समाचार, स्टोरी तयार पार्न भने म कहिल्यै पछि हटिनँ।

प्रायः म मान्छेको भीडभाडमा बढी हिँड्थे। रत्नपार्क, सुनधारा, स्वयम्भू, न्युरोड, दरबारमार्ग र पशुपति मेरो लागि अड्डा नै भइसकेका थिए। यी ठाउँहरुमा अनेक किसिमका पात्रहरुसँग भेट हुन्थ्यो। उनीहरुको कथा व्यथा सुन्थेँ अनि त्यसलाई स्टोरीमा ढाल्न प्रयास गर्थेँ। समाचारभन्दा स्टोरीको खोजी र लेख्न बढी रुचाउँथे।

एकदिन खुला मञ्चमा स्वर्गीय प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसको बृहत कार्यक्रम थियो। त्यही कार्यक्रममा समाचार संकलनका लागि थुप्रै पत्रकारहरु देखिए। त्यो भीडमा एकजना चितवनका पत्रकारसँग परिचय भयो। लामो गफगाफपछि उनले चितवनकै एक स्थानीय पत्रिकामा काम गर्ने अवसर रहेको सुनाए। आफूले त्यो पत्रिकामा कुरा राख्ने बचन दिए। मलाई काम चाहिएको हो। सानो ठुलो नभनी काम सिक्छु भन्ने उद्देश्यका साथ म केही दिनपछि चितवन गएँ। ती साथीले सुरुमा परिचयपत्र बनाउनुपर्छ भनेर फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रसहित दुई हजार नगद मागेर लिए। तर उनले परिचयपत्रको बहानामा मलाई काम लगाइदिएको कमिसन खाएका रहेछन्। पछि अफिसले कार्ड नि:शुल्क दिँदा थाहा पाएँ।

त्यो पत्रिका साप्ताहिक रहेछ। साप्ताहिकमै भएपनि स्टिन्जरका रुपमा झुन्डिए एउटा समाचार लेखेको ४ सय ५० रुपैयाँ पाइन्थ्यो। साप्ताहिक पत्रिका, त्यसमाथि स्टिन्जर मासिक तलबको कुरा नगरम! करिब ६ महिनापछि फेरि काठमाडौँ फर्किएँ। त्यसपछि म औपचारिक रुपमा राजधानी दैनिकसँग आबद्ध भएँ। सुरुमा फिचर लेख्न लगाइयो। समसामयिक विषयमा फिचर लेखेर राजधानी दैनिकमा जोडिएँ।

राष्ट्रियस्तरको दैनिक पत्रिकामा काम गर्न पाउनु मेरो लागि अवसर र चुनौती दुवै थियो। मेरो पत्रकारिताको जग नै यहिँबाट सुरु भयो भन्दा पनि हुन्छ। पछि विस्तारै राजनीतिक विटमा कलम चलाउन थालेँ। पत्रकार सम्मेलन, गोष्ठी, सभा, समारोहमा जाँदा सुरुमा के प्रश्न गर्ने? कार्यक्रममा कसरी बस्ने ? कसरी बोल्ने? भन्ने बारेमा कुनै पनि ज्ञान थिएन। चिनजानको पनि कोही थिएन। केही चिनेका साथी चितवनमै छुटे। दिनभर रिपोटिङ गरेर बेलुका न्युजरुममा जान्थेँ। दिनभरको रिपोर्टलाई छपाउन सम्पादकसँग एक किसिमको लडाइँ नै गर्नुपर्थ्यो। सकिनसकि दुःख गरेर तयार पारेको रिपोर्ट नछापिँदा कतिबेला त दिक्क मात्रै लाउथ्यो। तर क्रमशः परिचय गर्दै जाँदा फिल्डमा पनि साथीभाइ बढ्दै गए  बानी पर्दै गयो। पत्रकारितामा पनि निखारिँदै गएँ।

एक दशक लामो अनुभव बटुल्दै गर्दा पत्रकारिता क्षेत्रमा धेरै अवसर र चुनौती भेटेँ। १० वर्षे पत्रकारितामा विभिन्न टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइन सञ्चार माध्यममा काम गर्ने अवसर पाउँदा आफैंमा गौरवताको भाव जाग्दोरहेछ। त्यो अभाव जसले मलाई पत्रकार बन्न बाध्य बनायो। त्यो व्यवहार जसले आज सामाजिक असमानताका विरुद्धमा डटेर लाग्न सिकायो।

निरन्तर मेहनत गरे सफल भइइन्छ भन्ने एउटा विश्वास आज आफैंमाथि पैदा भयो। बिचौलिया र कमिसनवादीहरुले बिथोल्नै लागेको त्यो मेरो यात्राले जिन्दगीमा कहिल्यै नबिर्सने छाप बसालेको छ। जसको कारण जीवन एक सिकाइ भने झैँ १० वर्षदेखि म पत्रकारितामा बामे सरेर सिक्दैछु। किनकि मलाई चुनौतीसँग खेल्न र अवसरसँग जुध्न मनपर्छ। यी दुबै यही पेसामा पाइन्छ।

प्रकाशित मिति: : 2022-09-04 22:10:00

प्रतिकृया दिनुहोस्