बढ्न थाले डेंगुका बिरामी, भरिन थाले अस्पताल

ममता आचार्य

काठमाडौं
Breaknlinks
Breaknlinks

नेपालमा पछिल्लो समय डेंगुबाट ग्रसित भएका बिरामीहरुको सङख्या बढ्दै गएको छ। 

डेंगुका बिरामी बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा डेंगु बिरामीको चाप पनि बढ्न थालेको छ। 

वीर अस्पतालमा दिनाैँ सयौँको सङख्यामा डेंगुका बिरामी आउने गरेको अस्पताले जनाएको छ। त्यसैगरी टेकु अस्पतालमा पनि दैनिक सय जनाभन्दा बढी डेंगुका बिरामी आउने गरेको अस्पतालका सुचना अधिकृत नवराज गौतमले जानकारी दिए। 

हालसम्म अस्पतालमा भर्ना भएका २२ जना डेंगुका बिरामीहरुमध्ये ४ जना आइसियुमा र १८ जना ओपिडिमा रहेको उनी बताउँछन्। 

दिनहुँ डेंगुका बिरामीहरुको सङख्या बढिरहेता पनि हालसम्म कसैको मृत्यु नभएको उनले बिएल नेपाली सेवालाई बताए। उनका अनुसार पछिल्लो वर्षको तुलनामा यस पटक भने डेंगुका बिरामीहरुको सङख्या बढी छ। 

मौसमको कारण फैलिरहेको डेंगु खतरनाक नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

'डेंगुको बिरामी बढ्नुको कारण मौसम हो, त्यसैले यो अरु भाइरस जस्तो खतरनाक छैन' उनले भने, 'तर आफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरी छ।' 

डेंगु भनेको के हो?

डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। 

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ। त्यसैले घर आसपासमा पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी राख्नु हुँदैन। 

के-के हुन् डेंगुका लक्षण?

डेंगुको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। 

योसँगै असाध्यै टाउको दुख्नु,आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,ढाड, जोर्नी तथा मांसापेशिहरू लगायत वाकवाकी र पेट दुख्नु पनि डेंगुका लक्षण भएको पुनले बताए। 

डेंगुबाट बच्न के गर्ने?

डेंगुबाट बच्नका लागि सर्वप्रथम लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्ने उनी बताउँछन्। 

पानीको ट्याङ्किमा लामखुट्टे प्रवेश गर्न नदिने, जम्मा भएका पानी सफा गर्ने र लामखुट्टेको टोकाईबाट बच्न बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्ने उनले जानकारी दिए। 

'डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु हो' उनले भने,  'त्यसैले लामखुट्टेबाट टाढा बसेकै राम्रो हो।'

  

प्रकाशित मिति: : 2022-08-31 21:28:00

प्रतिकृया दिनुहोस्