आज थारू समुदायले ‘अट्वारी पर्व’ धुमधामका साथ मनाउँदैछन्। दाङसहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठुलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन्।
यो पर्व भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार मनाइने थारु अगुवाहरु बताउँछन्। तर अट्वारी पर्व मनाउने विषयमा थारु समुदायमा विवाद पनि देखिने गरेको छ।
आज हामीले अट्वारी पर्वका अवसरमा पर्व मनाउन किन हुन्छ विवाद? पर्वको विशेषता के हो? पहिले र अहिलेका पुस्ताले पर्वलाई मनाउने परम्परामा केही फरक छ ? लगायतका विषयमा कुराकानी गरेका छौँ।
प्रस्तुत छ बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले दाङका थारु अगुवा तथा साहित्यकार छविलाल कोपिलासँग गरेको कुराकानीको सम्पादित अंश :
अट्वारी पर्व कस्तो पर्व हो?
अट्वारी पर्व भनेको खासमा यो थारु समुदाय एउटा प्रकृति पूजक भएका कारणले यस पर्वमा सूर्यलाई पुजा गर्ने गरिन्छ। सूर्य भनेको रवी यसलाई खासमा अग्नीका रुपमा पनि लिइन्छ। त्यसैले यस पर्वलाई आइतबार मनाइन्छ। आइतबार मनाइने भएका कारण हाम्रो भाषामा आट्वारी भनेको आइतबार भन्ने हुन्छ।
पुरानो परम्परा हेर्ने हो भने भदौ महिनादेखि लिएर दसैँसम्मको सबै आइतबार वर्त बस्ने चलन थियो। जुन अहिले छैन। पछि विभिन्न कारणले गर्दा सबै आइतबार बस्ने भएन। अट्वारी पर्व आयो भने प्रत्येक वर्ष केही न केही विवादहरु भएको हामी सुन्छौँ। यस वर्ष पनि विवाद देखिएको छ।
वास्तवमा यो विवाद, विवाद मात्र बनाइएको हो। धेरैको तर्क अट्वारी पर्व तीज पर्वको पछि मनाउने भन्ने छ। पहिले भदौ महिनादेखि दसैँसम्मको ५ वटा आइतबारमा वर्त बसेर यो पर्व मनाइन्थ्यो। तर पछि धेरै खर्च हुने भएपछि यो पर्व पहिलो आइतबार मात्र मनाउने गरियो।
यो तीजपछि मनाउनुपर्छ भन्ने तर्क छ। पायः यो के हुन्छ भने कुशे औँसीको पहिलो आइतबार तीजपछि नै पर्छ तर अपवादको रुपमा १० वर्षपछि यो आइतबार तीजअघि पनि पर्छ। त्यसैले धेरैजसो कुशे औँसीको पहिलो आइतबार तीजपछि पर्ने भएकाले त्यसमा अभ्यस्त भइसकेकाहरु तीजको पहिले मनाउने गर्दा विवाद हुने गरेको छ। यसो गर्नु हुँदैन। यो संमयोग मात्र हो।
अट्वारी पर्वको आफ्नै मान्यता छ। यो पर्व पर्नका लागि कुशे औँसीको पहिलो र अष्टमीको दोस्रो आइतबार हुनुपर्छ। तीजसँग यसको कुनै सम्बन्ध हुँदैन। हामीले के बुझ्नुपर्छ भने अट्वारी मनाएको ४ वटा आइतबारपछि दसैँ आयो भने सहि समयमा अट्वारी मनाएको हौँ भनेर बुझ्नुपर्छ।
कसरी मनाउने गरिन्छ अट्वारी पर्व?
यो पर्व पुरुषहरु वर्त बसेर मनाउने पर्व हो। तर पछि महिलाहरु पनि वर्त बस्ने गर्छन्। विशेष गरेर शनिबारका दिनमा हामीले यो भतर खाने भन्छ। हाम्रो दाङमा दड्कट्न खाने पनि भनिन्छ भने अरु ठाउँमा दर खाने पनि भनिन्छ। यही दर खानका लागि हामीले शनिबार दिउँसाेभरि विभिन्न परिकार बनाउने हुन्छ। त्यसमा विशेष गरेर माछा हुनुपर्छ। यो दर हामीले रातिको भाले बास्नुभन्दा अघि नै खानुपर्छ। भाले बासेपछि भने खान पाइँदैन।
भाले बासेपछि दर खाएमा आइतबार वर्त बस्ने पाइँदैन। बस्यो भने त्यो जुठो मानिन्छ। त्यसपछि आइतबार रोटी अनिवार्य रुपमा हुन्छ। अरु दही, फलफूल हुन्छ। यो दिउँसाेको एक दुई बजेसम्म तयार पार्नुपर्छ। रोटी पाकिसकेपछि अग्यारी (आगोमा हवन गर्ने ) दिने चलन छ।
अर्को कुरा यो अट्वारीमा चखो आगो बाल्नुपर्छ। गन्यारी भन्ने काठ हुन्छ। त्यसलाई घोटेर आगो निकाल्ने र आगो बालेर रोटी पकाउने चलन छ। अग्यारी दिइसकेपछि हामीले अग्रासन निकाल्नुपर्छ। जुन अग्रासन भनेको खाने परिकार के हुन्, ती खानेकुराबाट चेलीबेटीका नाममा छुट्याइन्छ र वर्त बसेकाहरुले खाने गरिन्छ। खाने पनि साँझको सूर्य अस्ताउनुअघि मात्र हो।
आइतबारका दिन नुन खान पाइँदैन। सोमबारका दिन माछाका सुकिटी अनिवार्य हुन्छ। खरिया, फुलौरीलगायत खाने कुरा हुन्छ। त्यो पनि विजोर संख्यामा ५, ९ वटा विजोर संख्यामा हुन्छ। सबै खाने कुरा तयार भयो भने फेरि आइतबारका जस्तै अग्यारी दिने र पातकै टपरीमा अग्यारी राख्ने चलन छ। त्यो निकालेपछि मात्र खाने गरिन्छ। त्यसपछि चेलीबेटीहरुलाई अग्यारी लगेर चेलीबेटीको घरमा गएर त्यहाँ उनीहरुले स्वागत गर्ने र त्यहाँ खानपिन रमाइलो भयो भने अट्वारी सकिन्छ।
अट्वारी पर्वको मिथक के हो?
यो महाभारतसँग जोडिएको छ। महाभारतमा भिम भन्ने पात्र छन्। उनको यो अट्वारी पर्वसँग जोडिएको छ। कुरु क्षेत्रको लडाइँ लड्न जानुभन्दा पहिले पाँच पाण्डपहरु रोटी पकाइरहेका हुन्छन् तर लडाइँ उत्कर्षमा पुगेको हुन्छ। उनीहरु लडाइँ लड्न गए र लडाइँ जितेपछि सुरुमा तावामा राखेको एकापट्टी मात्र पाकेको रोटी खाएर उनीहरुले भोक मेटाए भन्ने गरिन्छ। जुन अहिले अट्वारीमा एकापट्टी पकाएको रोटी खाने गरिन्छ।
अर्को मिथक दंगीशरण राजासँग जोडिएको पनि छ। थारुहरुको राजा उनी हुन्। उर्वसीका लागि कृष्ण र दंगीशरणको ठुलो लडाइँ हुन्छ। त्यो लडाइँमा भिले दंगीशरणलाई सघाएको र लडाइँ जितेको भन्ने गरिन्छ। जुन अट्वारीसँग जोडिन्छ।
अट्वारी पर्व मनाउने चलन कम हुँदै गएको भनिन्छ किन?
किनभने एकचरण थियो। जनयुद्ध पहिले सबैले मनाए। तर अट्वारी मनाउँदा बढी जाँड खाने र जथाभावी सुत्दा युद्धको समयमा जे पनि हुन सक्ने भएपछि यस पर्वलाई रोक्ने अभियान नै चलेको थियो। र अर्को महामारीका कारण पनि हो। भदौमा अट्वारी पर्व सुरु भइसकेपछि झाडापखाला लाग्ने गरेको थियो। यसमा कारण के देखिएको थियो भने अट्वारी पर्वमा खाने कुराहरु खाएपछि देखिएको थियो।
त्यसकारण यो धेरैमा यो पर्व मनाउनु हुँदैन भन्ने भयो। अर्को पुरुषहरु वर्त बस्ने छ। तर अन्य समुदायमा पुरुष वर्त बस्ने चलन छैन। यसको प्रभाव पर्दै गएपछि यसको महत्व कम हुँदै गएको देखिन्छ। यसले गर्दा केही कम भएको देखिएको छ।
तर पछिल्लो समयमा अट्वारी पर्व मनाउने चलन फेरि बढेको छ। सामाजिक सञ्जाल, अरू थप प्रचार-प्रसार भएपछि यसको महत्व बढेको छ र थारु अगुवाहरु यस पर्वको महत्वका विषयमा भन्दै संस्कृति बचाउन सचेत गराउँदा नयाँ पुस्ताहरुले निकै महत्वका साथ यो पर्व मनाउन थालेका छन्। अहिले स्थानीय सरकारले बिदा दिन थालेको छ। यसको महत्व पछि बढ्दै गएको छ।