‘के छ गफाडी खबर? मैले त तिमीलाई अझसम्म पनि चिन्न सकिनँ यार!’ सिल्भियाले ठट्यौली पारामा प्रश्न तेर्साइ।
प्रश्न भुइँमा झर्न नपाउँदै स्टेफनले किबोर्ड तिर औँला लम्काउँदै प्रतिउत्तर फर्कायो, ‘अब चिनेर पो के गर्नु छ र? तिमी कसैकी भैसक्यौ अनि म कसैको भैसकेको छु।’
प्रतिउत्तर पछि सिल्भिया केहीबेर मौन बसी। मानौँ यो जवाफले उसलाई निकै झट्का लागेको छ। विगतका यादहरु उसका अगाडि नाचिरहेका छन्। र ती यादहरुसंग ऊ रमाउँदै छे। स्टेफनसंग जिस्किएका पलहरु, पत्रमा कोरिएका प्रत्येक शब्दहरु उसलाई हिजो जस्तै लागेको छ। सायद यस्तै-यस्तै यादहरुमा भुलिरहेकी होली।
‘ओहो! कति सेन्टिमेन्टल कुरा गर्न जानेको तिमी? म अफिसमा छु, व्यस्त भएर नि।’ विगतलाई बिर्सेको भान पार्नलाई उसले आफूलाई संयम राख्ने प्रयास गरी। तर पनि स्टेफनले उसको कुरामा पटक्कै विश्वास गरेन। गरोस् पनि कसरी, सिल्भियाले आफूलाई कति माया गर्छे भन्ने कुरा केवल उसैलाई मात्र थाहा छ।
‘इट्स ओके।’ छोटो जवाफसहित उसले प्रसंग अन्तै बदल्यो। स्टेफन स्पेनमा र सिल्भिया अस्ट्रियामा आफ्ना आम-बुवासंग बस्दै आएका छन्। दुवै नेपाली मुलका युरोपियन नागरिक हुन्। स्टेफन पराजुली र सिल्भिया सापकोटा। स्टेफन त्यहाँको नगरपालिकामा अफिसरको रुपमा काम गर्दै आएको छ। उता सिल्भिया भने नर्स बनेकी छ।
स्टेफन र सिल्भियाको भेट पत्रमित्रताबाट सुरु भएको थियो। सिल्भिया कक्षा ८ पढ्दा ऊ भर्खर ११ मा अध्ययनरत थियो। दुवै नेपालको सरकारी विद्यालयमा अध्ययनरत थिए।
बिदाको क्रममा स्टेफन उसको फुपूदिदीको घर गल्कोट पुगेको थियो। फुपूदिदीकोमा उहाँकी मामाकी छोरी लक्ष्मी बस्ने गर्थिन्। भिनाजु बाहिर भएको हुनाले उनले दिदीलाई घरको काममा सघाउने तथा त्यहीँ बसेर पढ्ने गरेकी थिइन्। तिनै लक्ष्मीकी साथी सिल्भिया थिइ। उनीहरु एकै कक्षामा संगै अध्ययन गर्दथे। फुपूदिदीकोमा आउँदा स्टेफनले उसलाई देखेको थियो। पछि लक्ष्मीसंग सिल्भियाको ठेगाना मागेर आफैँबाट पत्राचारको सुरुवात गर्यो।
‘अलिअलि परिचित र धेरै अपरिचित मित्र सिल्भियामा नमस्कार! मैले पत्रमित्रको स्वरुप यो पहिलो पत्र प्रेषित गरेको छु, अवश्य स्वीकार गरिदिनुहोला।’ पत्रको सुरुवातसंगै उसले बिट मार्यो ‘आश छ यो पहिलो नभएर हाम्रो लागि जुनीजुनीको लागि साइनो गाँस्ने पत्र बन्नेछ।’
पहिलो पत्र प्राप्त गर्नासाथ सिल्भिया सुरुमा रिसाएकी थिइ। लक्ष्मीसंग झोँक्की पनि। तर पछि लक्ष्मीले स्टेफनको बारेमा सबै कुरा भनेपछि भने केही मत्थर भइ। साथी बन्ने बाचा गरी। केही हप्तापछि पत्रको जवाफ फर्काइ, ‘प्रिय परिचित हुन् लाग्नुभएको मित्र स्टेफनजीमा हृदयभरिको सम्झना र माया छ। मित्रता स्वीकार गर्दछु।’
सिल्भियाले उसको कलेजकै ठेगानामा पत्र प्रेषित गरी। पत्र प्राप्त गर्नासाथ स्टेफन खुसीले उफ्रियो। अझ त्यसमा पनि उसले लेखेकी प्रिय र मुटुभरिको माया शब्दले झनै तरंगित बनेको थियो।
समयक्रमसंगै उनीहरुको मित्रता झाङ्गिदै गयो। पत्र आदान-प्रदान तीव्र गतिमा हुँदै गयो। लाग्थ्यो उनीहरु साथी-साथी नभएर साचिकै प्रेमी-प्रेमिका हुन्। स्टेफन फुपूदिदीलाई भेट्ने निहुँ बनाउँदै गल्कोट गैराख्थ्यो। सोही क्रममा सिल्भियासंग पनि भेट गर्दथ्यो। त्योबीचमा पुलको काम चाहिँ लक्ष्मीले गरेकी थिइ।
सिल्भियाको घरसम्म स्टेफन पुगेको थियो। एकअर्काको परिवारबीच दुवै जानकार थिए। दुवैका बुवाहरु युरोपियन भूमि स्पेन र अस्ट्रियामा कार्यरत थिए। उनीहरुबीच एक प्रकारले अघोषित प्रेम बसेको थियो। एकअर्काको पत्र आएन भने दुवै पानीबिनाको माछो जस्तै हुन्थे। पत्र मायाका शब्दले भरिएका हुन्थे। मौका मिले महिनामा एकपटक फोनमा कुराकानीसमेत हुन्थ्यो उनीहरुको।
उनीहरुको पत्राचार र मित्रताबारे न त फुपूदिदीलाई थाहा थियो, न त उनीहरुको घरपरिवारलाई नै। तर एकदिन उनीहरुको मित्रतामा ठेस पुग्ने खालको कार्य हुन पुग्यो। जसमा दोषी लक्ष्मी देखिइ। भाइको बिहेको लागि भनेर लक्ष्मी र फुपू माइत आए। फुपूको माइत र स्टेफनको घर नजिकै थियो। सिल्भियाले जन्मदिनको गिफ्ट र पत्र स्टेफनको लागि पठाइकी थिइ।
‘लौ तिम्रो सामान, सिल्भियाले पठाएकी’ लक्ष्मीले सबैको सामु उक्त नासो स्टेफनलाई दिइ। उ खुशी हुँदै आफ्नो बाटो लाग्यो। यता लक्ष्मीलाई भने फुपूदिदीले केरकार गर्न थालिन्। सबै कुरा बताएपछि पनि उनीहरु राजी हुन तयार भएनन्। किनकि त्यो नासोमा प्रेमको अंकित जस्तो देखिने सिसामा सजाइएको कृत्रिम गुलाफको फुल रहेको थियो। जुन सबैले देखेका थिए।
पछि स्टेफनको आमाले पनि थाहा पाइछन्। ‘तँलाई कुकुर, पढ्नु-सड्नु छैन। अहिल्यैदेखि केटीको पछिको लागेर हिँड्। नाला-साल झरेको छैन गति यस्तो छ। इज्जत नै फाल्ने भइस् हैन?’ आमाले निकै झपारिन्। ‘हैन ऊ मेरो साथी हो। अरु केही होइन।’ उसले सम्झाउन खोज्यो तर आमाले उसको कुरा सुनिनन्। बरु फुपूको मार्फत सिल्भियालाई गालीसमेत गर्न भ्याइछन्। यो कुरा स्पेनमा रहेका बाउसमक्ष पुगेछ। फोन आएको बेलामा उसलाई थर्काउनुसम्म थर्काए। ऊ निर्लज्ज बन्यो।
जे जति भएपनि स्टेफन सिल्भियाप्रति आकर्षक थियो। उसले निरन्तर पत्र पठाइरहन्थ्यो। तर जब उसकी आमाले सिल्भियालाई गालि गरिन तब सिल्भिया पनि अलि आक्रोस जसै भयाकी थिय। आक्रोश र घृणा उसमा भन्दा पनि उसको आमाप्रति देखिन्थ्यो। ‘अब हाम्रो मित्रतालाई यहिँ बिट मारौँ, स्टेफन। तिम्रो परिवारले हाम्रो मित्रतालाई सहज लिन सकेन।’ यस्तै-यस्तै लेख्दै पत्र पठाइ। उता पत्रको जवाफमा उसले आफूहरुको मित्रता अझै झाँगिने भन्दै लेख्यो ‘प्रिय सिलु आइ लाभ यु।’
स्पेनमा रहेका बुवा घर फिर्ता भए। त्यहाँको स्थायी बसोबासको कागज बनेपछि उनी गाउँ फर्केका थिए। अब सबै परिवार उतै लैजाने योजना थियो। सोहीअनुरूप सबै परिवारको दिल्लीस्थित स्पेनिस दूतावासमा गएर भिसा आवेदन दिए। केही समयको अन्तरालपछि स्टेफनको परिवारको भिसा आइपुग्यो। उनीहरु सबै स्पेन जाने योजना बन्यो र स्पेन पुगे।
स्पेन जाने बेलामा उसले सिल्भियालाई कल गर्यो। सिल्भियाले गएर नबिर्सनु, प्रगति गर्नुबाहेक अरु केही भन्नै सकिन। उसले नमिठो मान्दै फोन बीचमै राखिदियो।
स्पेन पुगेपछि पनि उसले सिल्भियालाई बारम्बार फोन सम्पर्क गरिराख्थ्यो। तर उता सिल्भिया भने लक्ष्मीको फुपू र उसको आमाको बोली सुनेर अलि हच्किएकी थिइ। लाग्थ्यो सिल्भियाको मायामा कमी आएको छ।
एकदिन इन्टरनेटमा पढ्दै जाँदा उसले झस्किने समाचार देख्यो। जुन ऊ र सिल्भियासंग मेल खान्थ्यो। जहाँ लेखिएको थियो, ‘एउटै गोत्रमा कहिल्यै पनि विहावारी नगर्नु , यो निकै घातक हुन्छ।’
स्पेन पुगेको डेढ वर्षमा ऊ नेपाल फर्क्यो। फर्केको ३ दिनमै उसले सिल्भियालाई भेट्यो। ‘सिल्भिया म नहुँदा कति मिस गर्यौ भन त?' उसले मन चोर्न खोज्यो।
‘मलाई छोडेर गएपछि कुहिरेनीसित पो फसेउ कि?’ सिल्भियाले जवाफ दिइ। त्यसपछि भने ऊ केही बोलेन। सिल्भिया नारायणगढ बसेर पढ्ने गर्दथी। उसले पढ्ने क्याम्पसको मैदानमा उसले भेटेको थियो।
कुराकानी गर्दै जाँदा उसको मुखबाट फुत्त निस्कियो ‘एउटै गोत्र बिहे गर्न हुँदैन रे नि त, अनि हामी दुई गोत्रीय रहेछौँ।’ सिल्भिया अलि रिसाए जस्तो गरी र भनी ‘त्यसो भए अर्की केटी खोज न त। गोत्र मिल्ने र परिवारलाई मिल्ने।’ स्टेफन नजवाफ बन्यो।
त्यो भेट संगै उनीहरुको प्रेममा तुसारापात आयो। केही वर्षसम्म सम्पर्क नै हरायो। उता सिल्भिया पनि अस्ट्रियाको राजधानी भियना आइपुगेकी थिइ। उसको बुवाले ऊसहित सबैलाई त्यहीँ ल्याएका थिए। ऊ नर्स पढेर त्यहीँको एक अस्पतालमा कार्यरत थिइ। यता स्टेफन पनि स्पेनको युनिभर्सिटीको अध्ययन सकेर स्थानीय नगरपालिकामा कार्यरत रहेको थियो।
स्टेफन फेसबुकमा निकै समय बिताउने गर्दथ्यो। उसले सिल्भियालाई फेसबुकमा निकै खोज्ने प्रयास गर्यो तर भेटाउन सकिरहेको थिएन। एकदिन सिल्भियाको साथी रोहनमार्फत उसको जानकारी लियो र एड रेक्वेस्ट पठायो।
सिल्भियाले एसेप्ट गर्दै मेसेज पठाइ ‘ओहो! गफाडी यत्रो दिनसम्म कता हरायको?’ सिल्भियाको शब्दमा उस्तै माया देखेर ऊ झन् चकित बन्यो। ‘तिमीलाई खोज्दै थिएँ, बल्ल भेटियौ।’ जवाफ पठायो।
दिनैपिच्छे उनीहरुको कुराकानी हुँदै गयो। यसै क्रममा एकदिन स्टेफन बोल्यो, ‘सिल्भिया किन-किन अहिले पनि तिमीलाई म उत्तिकै म पराउँछु, चाहन्छु। तिमीसंग गफिँदा अर्कै आनन्द आउँछ।’
‘हो, मलाई पनि त्यस्तै हुन्छ। मन एकदमै खुशी हुन्छ’, उसले भन्थी। उनीहरुबीच जिस्किनेको सिमा नै हुँदैनथ्यो। मित्रताबाट प्रेममा पुगेर पनि अधुरो रहेका उनीहरुको फेरि फेसबुक प्रेम झांगिएको छ।
उनीहरुको मित्रतालाई फेरि फेसबुकले निरन्तरता दियो। उनीहरु पुन: पहिले जस्तै कुराकानी गर्दै गए। एकदेखि डेढ घण्टासम्म फेसबुक च्याटमा व्यस्त रहन्थे। दुवैको बिहे भैसकेको थियो। स्टेफनले नेपालमै गएर बिहे गरेको थियो भने सिल्भियाले त्यहीँ बस्ने नेपालीसंग बिहे गरेकी थिइ।
दुवै उत्तिकै खुशी देखिन्थे। तर माया विगतमा जस्तै उत्तिकै। स्टेफनसंग गफिएपछि सिल्भिया आफ्नो सबै टेन्सन दुर भएको अनुभव गर्छे। खुशी हुन्छे, मख्ख पर्छे। उता स्टेफन पनि निकै खुशी देखिन्छ। कहिलेकाहीँ भन्ने गर्छ ‘पूर्व जन्ममा हाम्रो नाता प्रगाढ हुनुपर्छ।’