शनिबार, १२ जुलाई २०२५

२६ महिनामा बन्नुपर्ने पुल ६ वर्ष सम्म बनेन, जिम्मेवार निकाए मौन

बिएल संवाददाता

बिएल संवाददाता

दाङ
2022-08-26 16:01:00
Breaknlinks
• • •

निर्माण व्यवसायीले कतिसम्म लापर्वाही गर्छन् भन्ने उदाहरण माथि देखिएको पुलबाट लिन सकिन्छ। यो पुल दाङको तुसीपुर उपमहानगरपालिका-१५ को कोठरी-डुरुवा डोड्ने हापुर खोलाको पुल हो।

१९ पुस २०७३ मा सूर्य कन्स्ट्रक्सन प्रालि सुर्खेतले २६ महिनामा सक्ने गरी पुल निर्माणको जिम्मा लियो। सम्झौताअनुसार निर्माण कम्पनीले काम गरेको भए १८ वैशाख २०५७ मा सम्पन्न हुनुपर्ने थियो। तर पुल निर्माणको जिम्मेवारी पाएको ६ वर्ष पुग्दासमेत पुल अलपत्र छ।

करिब १३ करोड रुपैयाँमा सम्झौता भएको पुलको ४ वटा पिलर ठडिनेबाहेक अरु काम हुन सकेको छैन। जसले गर्दा वर्षायममा नागरिकलाई खोला पार गर्न निकै सास्ती हुँदै आइरहेको छ। पुल निर्माणका लागि दुई पटक म्याद थप समेत भैससकेको छ।

पुल निर्माणको काम पुरा हुन नसकेपछि सडक डिभिजन कार्यालय दाङले तेश्रो पटक गत असारमा पुनः एक वर्षका लागि म्याद थप गरेको छ।

‘निर्माण व्यवसायीले समयमै इमान्दारिता पूर्वक काम गरेको भए २०७५ को चैत्रमा पुल निर्माण भैसक्थ्यो’, सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले भने, ‘तर निर्माण व्यवसायीले अनेकन बहाना गर्दा अहिले पिलर मात्रै बनेका छन्।’

सुवेदीका अनुसार पुलको सुपर स्ट्रक्चर निर्माणको काम सकिएको छ तर सव स्ट्रक्चर निर्माणको काम हुन सकेको छैन। ‘पुलको अहिलेसम्म पिलर निर्माणको मात्रै काम सकिएको छ। अब माथिको भाग बनाउन बाँकी छ’, उनले भने, ‘निर्माण व्यवसायीले अब सव स्ट्रक्चरको काम गरेमा पुल निर्माणको काम एक बर्षभित्र सकिने छ।’

२०८० साल असार मसान्तभित्र निर्माण व्यवसायीले पुल निर्माणको काम सक्ने प्रतिबद्धता जनाएपछि एक वर्षको लागि म्याद थप गरिएको सुवेदीले बताए।

सुरुमा पुल निर्माणका क्रममा निर्माण व्यवसायीले जग्गा विवाद र कोरोना संक्रमणको बहाना बनाउँदै पटक–पटक काममा ढिलाई गर्ने गर्दा समयमा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

छिटोभन्दा छिटो पुल निर्माणको काम सक्नुपर्ने भन्दै पटक–पटक व्यवसायीलाई सूचना प्रकाशित गरेर सचेत बनाउने काम सडक डिभिजन कार्यालयले गरेको छ। तर  निर्माण व्यवसायीले बेवास्था गर्दा समयमा पुल निर्माण हुन सकेको छैन। ६ वर्षसम्म पुलको प्रगति ५० प्रतिशतमाथि हुन सकेको छैन।

पछिल्लो समय पुल निर्माणमा व्यवसायीले महंगीको बहाना बनाएर ढिलाई गर्दा असारमा काम नसकिएको सूचना अधिकारी सुवेदीले बताए।

‘६ वर्ष अगाडि निर्माण व्यवसायीले करिव १३ करोडमा ठेक्का लिएको थियो। समयमा काम हुन सकेन। पछि घाटामा परे भनेर काममा ढिलाई गर्यो’, सूचना अधिकारी सुवेदीले भने,‘ठेक्का तोडेर अरुलाई दिँदा पुल निर्माणमा थप ढिलाई हुने देखिएपछि कार्यालयले व्यवसायीलाई पुन: एक पटकलाई म्याद थप गरेर काम गर्ने समय दिएका छौँ।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?