आषाढको अन्तिम साता। झिमझिम बर्सिरहेको थियो आकाश। तामाकोशी नदी किनारको होटलमा नास्ता खाएर यात्रारत भयौँ जिरिका लागि। तामाकोशी नदीको सुन्दर दृश्य छुट्यो। समयको सुई घुमिरहँदा जिन्दगीका कतिपय पालाघडी छुट्दै गए। तर एउटै कुरा बटुल्दै गइयो। त्यो बटुल्दै लगिएको चिज थियो, सम्झना।
बाटाेभरि एकनाशको वर्षा भइरह्यो। कुहिरोले आफ्नो साम्राज्य विस्तार गर्दै जान थाल्यो। माथिबाट हतारिँदै आएका माटोका ढिस्काहरू सडकमा थचक्क बसिदिन्थे, जसरी पुलिसको कुटाइ खानुपर्दा भाग्ने मार्ग नपाएपछि भुइँमा थचक्क बस्छ कुनै आन्दोलनकारी। त्यस्तै कतिपय ढिस्काहरू सडक किनारमा शरण लिन पुग्थे भने कतिपय सडकमाथि लम्पसार बनेर राज गरिरहे जस्ता देखिन्थे।
गुणस्तरीय र चौडा थियो सडक। भरखर कालोपत्रे गरिएजस्तो सडकका किनाराहरू टल्किएकै थिए। मन्द गतिमा चलिरहेको हावाले चिसो बढाउँदै जान थाल्यो। तिलक सिंह पेला र जनक भट्टले दौडाइरहेकै थिए आ-आफ्ना मोटरबाइक। अँध्यारोले छोप्दै जाँदा अगाडिको सडकबाहेक केही देखिंदैन थियो। माथि डाँडाबाट टिलपिलाएका बत्तीहरूले आभाष दिलाउँथे, अब जिरी धेरै टाढा छैन भन्ने।
जाडोले लुगलुग काँपिरहेका हातले बाइकको एक्सलरेटर बटार्न धौधौ परिरहेको थियो पेला र भट्टलाई। गर्ल्याम्म खसिदिन्थ्यो बाटोमा पहिरो। कतिखेर टाउकोमा ढुङ्गा बजारिन्छन् भन्ने त्रास एकातिर। ठुलो पहिरो आएर सडक नै अवरुद्ध भइदियो भने कसरी जिरी पुग्ने होला भन्ने पिर अर्कोतिर।
पिर र त्रासको सङ्गम बनेको थियो त्यो साँझ। उसो त जिन्दगीका गौंणाहरूमा झ्याप्प आइदिन्छ बेलाबखत त्रास, दुःख, पिर आदि। कहाँ कतिखेर के हुन्छ, कसलाई के थाहा। तथापि साहस नगुमाई गन्तव्यमा हिँडिरहनु नै त हो जिन्दगी। आकाशका त्यान्द्राले बेरिरहनुपर्छ बेलाबखत जीवनलाई। भोलिको आश नगर्ने हो भने त देख्न सजिलो कहाँ हुन्छ र घामको झुल्को पनि।
नेपालको स्विजरल्याण्ड भनेर चिनिने जिरी बजार पुगेर लामो सास तानुन्जेल रातको आठ बजिसकेको थियो। त्यस रातका लागि थकाइ मिटाउने ओछ्यान नै जिन्दगीको स्विजरल्याण्ड कल्पिरहेको थियो मनले। छोडिसकेको थियो आकाशले साइरन बजाउन। जिरी बजारस्थित किङ्स होटेलको एउटा कोठामा दिनभरिको थकाइ मेटाउन लम्सार पर्छ ज्यान। मेरो लागि पहिलो यात्रा नभए नि साथीहरूको लागि पहिलो यात्रा थियो जिरीसम्मको।
झरीमा भिजेको ज्यान, किनारामा थन्किन्छ। लुगा हेङ्गरमा झुण्डिन्छन्। जुत्ता र मोजा कौसीमा शरण लिन पुग्छन्। अनि सोच्छु सजिलै गरिने यात्रा पनि के यात्रा। पछिसम्मै यादगार बन्नसके पो आइपुग्छ बारम्बार सम्झनामा।
बिहान सूर्यका किरणसँगै बादलुको घुम्टो उघ्रिँदै गयो। जिरी बजार नवदुलहीको झैं लजालु पारामा विस्तारै अनुहार देखाउन थाल्यो। चारैतिरका हरिया डाँडाहरू मुसुक्क मुस्कुराउन थाले। पुराना जमानामा कन्या खोज्न हिँडेका लमी जस्ता हामी जिरीबाट फर्किने तयारी गर्न थाल्यौं। मानौँ राति नै कन्याका बुवासँग कुराकानी गरेर बिहेको लगन छिनी फर्किँदैछौं। दुई/चार दिनमा पुनः दुलहासहितको जन्ती लिएर आउनु छ।
तामाकोशीको किनार नपुगुन्जेल बाटो किनारतिर ठाउँठाउँमा देखिन्थे बाटोमा नेपाली मार्वलका खानीहरू। देख्दासमेत आकर्षक, बलिया, गुणस्तयुक्त सुन्दर थिए मार्वलहरू। विडम्बना त्यस्ता उद्योग न सरकारले आफू खोल्छ, न त खोल्न प्रोत्साहित तुल्याउँछ जनतालाई। बाहिरबाटै ल्याउन खोज्छ सबै कुरा। कमिसनको चक्कर र व्यक्तिगत स्वार्थमा डुबेको मुलुकको गति यस्तै न हो।
त्यो यात्रा सधैँजसो एक फकिरको जिन्दगी बिताइरहेका गायक सङ्गीतकार तिलकसिंह पेलाको अगुवाइमा तय गरिएको यात्रा थियो। ती फकिरलाई न घरबार गर्न मन छ, न त पद र पैसाकै लोभ छ। बिन्दास अनि लोभलाग्दो जिन्दगी बिताइरहेका छन्। तिनलाई उदार मनले साथ दिन आइपुगेका थिए, शिक्षक जनक भट्ट।
जिरी बजारबाट आधा घन्टाको दूरीमा रहेको जिरेश्वर मन्दिर, चिया बगानलगायतका घुम्नु पर्ने कतिपय ठाउँ नपुगेरै फर्कियौं हामी। फर्किँदा आकाश खुलेको कारण निकै सुन्दर दृश्य देखिन्थे टाढा-टाढासम्म। चरीकोट पुगेपछि योजना बन्छ, भ्यू टावरको टुप्पामा गई चारैतिर हेर्ने। चरीकोट बजारबाट नजिकै देखिने भ्यू टावरसम्मको दूरी ५ किमि थियो। भ्यू टावर पुग्ने बाटो हेर्दा लाग्थ्यो केवल बजेट पचाउन ल्याइएको योजना हो कि जस्तो।
सवारी साधनका निम्ति सहज थिएन। जेनतेन २ किमि दूरीसम्म बाइक धकेलेर सुइय्य सुस्केरा हाल्न पुगेका भट्ट र पेला बाध्य भए बाटोमै बाइक रोक्न। तत्पश्चातको यात्रा थियो पैदल। भिज्दै उत्सुकताका साथ भ्यू टावर पुग्दा भोटे ताल्चा झुण्डिएको थियो टावरको च्यानल गेटमा। तलबाट घाँटी तन्काएर टावरको टुप्पो हेरी फर्किनु शिवाय थिएन विकल्प।
टावरबाट चौतर्फी दृश्य हेर्न हैन मात्र टावर हेरेर फर्किनु पर्ने नौलो अनुभव थियो त्यो। टावरको टुप्पोबाट चारैतिर हेर्न भनेर गएका कतिपय मन उदास बने। तथापि तिनले एकछिन भ्यू टावरको छेउमा नृत्य गरेर रमाइलो गरे। अन्ततः हामीसँगै फर्किए, तिनका पाइला पनि।
साँझ चरिकोटस्थित पारस होटलमा बास बसेर भोलिपल्ट बिहान बाहिर हेर्दा मुस्कुराइरहेको थियो गौरीशङ्कर हिमाल। जिरीबाट हेर्न खोज्दा कुहिरोले लुकाएको गौरीशङ्कर हिमाल मुसुक्क मुस्कुराएको देखियो चरिकोटबाट। गौरीशङ्क हिमाल हेर्न लालायित बनेका पेला फोटो खिच्ने धुनमा तल्लीन भए। गौरीशङ्कर हिमालको दृश्यले निकै लोभ्याएको थियो पेलालाई। त्यही गौरीशङ्क हिमाललाई आधार मानेर निर्धारण गरिएको छ नेपालको मानक समय। ज्योतिषहरूले जन्मकुण्डली तयार गर्दा त्यही हिमाललाई आधार मानेर छुट्टयाउने गर्दछन् पूर्व-पश्चिमको समय।
जनक भट्टका बूढाबूढीसँग बिदा मागेर हाम्रो यात्रा तय भयो काठमाडौंका लागि। सुदूरपश्चिमेली गाउँघर सम्झाउने कैयौं दृश्य देखिन्थे। बाल्यकाल सम्झाउने कतिपय बालबालिकाका दिनचर्या देखिन्थे। कतै पोखरी थिए। कतै खरी ढुङ्गाका खानी थिए। घुम्तीले सजिएका सडकका पाटाले कल्पिन लगाउँथे जिन्दगीका घुम्ती।
त्यो यात्रा वास्तवमै जिन्दगीको यादगार यात्रा थियो। बाल्यकालमा गाईबाख्रा चराउँदा लुथरुम्म भिजेर घर फर्केको याद दिलाउन मद्दत पुर्याउने यात्रा थियो। भारतमा दरवानी गर्न घरबाट भागेको ज्यान धर्मशालामा लखतरान परेको कल्पना गर्न लगाउन बल पुर्याइरहने यात्रा थियो।
आकाशले गड्याङगुडिङ गरेर पानी पर्दाताका जङ्गलमा च्याउ खोज्न हिँडेको परिवेश सम्झाउने खालको थियो। अनि तिलकसिं पेलालाई नौलो सङ्गीतको सिर्जना गर्न लगाउने र जनक भट्टलाई झरी जस्तै भिजाइरहने प्रेमिकाको यादमा डुबाउन उद्यत गर्ने खालको थियो। आषाढको अन्तिम साता। झिझि बर्सेको झरीले कालीदासको मेघदूत सम्झाउँथ्यो। संक्षेपमा भन्नुपर्दा विगतका दिनकी सम्राई, वर्तमानको अनुभव र भविष्यका लागि सम्झनाको कुटुरो बनेको थियो जिरी यात्रा।