गएको साउन २९ गते बसन्तपुर (बेलहिया बाईपास) सडकमा गोली प्रहार गरी फरार रहेका दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ बर्षिय पवनराज भर र सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ दोगहरा बस्ने २१ बर्षिय मोहम्मद अरसद मुसलमान (काजु) लाई नियन्त्रणमा लिएको हाे।
रोहिण गाउपालिका वडा नं ४ मा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा ११ बजे राति लुटपाट गरेर भागेका उनीहरूले बेलहिया बाईपास सडकमा विकास गुरुङ्ग भेटेपछि गाेली प्रहार गरेका थिए। घटनामा संलग्न भई गोली हान्ने कृष्ण भुज भने फरार नै रहेका छन्।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार उनीहरुको साथबाट ७६ दशमलव एस आरएमओ मेड ईन युएसए नम्बर ७११११ लेखेको अटोमेटिक पेस्तोल र होटलबाट चोरी भएको मोबाईल फोन समेत बरामद भएको छ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर-१ का २८ वर्षिय विकासकाे अवस्था सामान्य रहेकाे र पक्राउ परेका दुबै जनामाथि हातहतियार खरखजाना मुद्दा चलाइएको रुपन्देही प्रहरीले जनाएको छ।