राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि मत मागेर विजयी भएको एमालेले पाँच वर्षका लागि प्राप्त जनमत चार वर्ष पनि टिकाएन । उल्टै पार्टी विभाजित भएर थप कमजोर अवस्थामा निर्वाचनमा जानुपर्ने परिस्थिति सिर्जना गर्यो ।
यस्तो परिस्थितिमा एमाले आउँदो निर्वाचनमा मतदातासामु जाँदैछ। पाँच वर्षअघि एमालेको जुन नेतृत्व थियो, अहिले पनि उही छ । यस्तो अवस्थामा अब केका लागि जनतासँग मत माग्ने ? अहिले एमालेसामु यही यक्षप्रश्न खडा छ ।
एमाले र उसको नेतृत्वसँग यसको वस्तुनिष्ठ उत्तर छैन । त्यसैले एमाले अध्यक्ष केपी शर्मा ओली यो प्रश्नको उत्तरका लागि दिनहुँ मिडिया ट्रायल गरिरहेका छन् ।
यस क्रममा उनी सत्तारूढ गठबन्धनले देश बर्बाद पारेकाले एमालेका लागि होइन, देशका लागि एमालेलाई मत दिनुपर्ने तर्क गरिरहेका छन् । तर, ओलीको यो अहमवादी तर्क सजिलै पत्याइहाल्ने अवस्थामा जनता देखिएका छैनन् ।
जनता ओलीलाई सोधिरहेका छन्– आखिर यो गठबन्धन सरकार कसका कारणले बनेको हो ? पाँच वर्षका लागि दिइएको जनमतलाई बीचैमा तुहाउने नालायक पात्र को हो ? यसका लागि ओली देशी–विदेशी शक्तिलाई देखाएर उम्कन खोजिरहेका छन् । तर, जनता उनको यो सदाबहार बनावटी कारण पनि पत्याउने मुडमा पुगेका छैनन् ।
एकातिर एमालेको ओली प्रवृतिविरूद्ध अंकगणितले प्रचण्ड बहुमतको सत्तारूढ गठबन्धन छ । अर्कोतिर एमालेसँग बाँकि पार्टीहरू जोडेर विरोधी गठबन्धन बनाउँदा पनि त्यो पार लगाउने खालको बिकल्प छैन । यति मात्र हैन, पाँच वर्षअघि नै पाएर बीचैमा तुहाइएको बहुमत फेरि माग्ने ओलीसँग नैतिक धरातल पनि छैन, न त्यसका लागि विश्वसनीय निर्वाचन मुद्दा नै उनीसँग छ ।
तर, यही बेला यस्तो अवस्थामा पुगेका ओलीसँग पार्टी जीवनको उत्तराद्र्धमा एमालेलाई जिताएर विश्राम लिनुपर्ने चर्को प्रतिष्ठाको विषय पनि छ । त्यसो नहुँदा नेकपा र एमाले फुटाएर नेपालको वामपन्थी आन्दोलनलाई रसातलमा पुर्याउने खलनायकका रूपमा उनी इतिहासमा दर्ता हुने निश्चित छ। त्यो सम्भावित अभियुक्त हुनबाट कसरी जोगिने, ओली अहिले यही भयग्रस्त मानसिकतामा छटपटाइरहेका छन् ।
अमेरिकामा ट्रम्प प्रवृति र नेपालमा ओली प्रवृति एउटै चरित्रका हुन्। उनीहरूका लागि पार्टी सत्ता चढ्ने भर्याङ मात्र हुन् । त्यसैले उनीहरूको पार्टी जित्न उनीहरू हार्नुपर्छ। यस सन्दर्भमा, एमालेको जीत हुन ओली प्रवृतिको हार हुनुपर्छ ।
अझ यसो भनौ, यसरी चौतर्फी दबाबमा परेका ओली एक किसिमले विक्षिप्तै अबस्थामा पुगेका छन्। उनका पछिल्ला गतिविधिलाई हेर्दा त्यसैको छनक मिल्छ। साँच्चै भन्ने हो भने उनी सम्भावित हारको भयले कापिरहेका छन्। अब उनी के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्थामा पुगेका छन्।
यी सबैखाले प्रतिकूलताले अब ओलीले वामपन्थीबाट दक्षिणपन्थी युटर्न लिने सम्भावना बढ्दो छ। सत्ताका लागि जे पनि गर्न तयार ओलीका लागि अब बिकल्पका रूपमा हिन्दू राष्ट्रको कार्ड बाँकि छ, उनी त्यही कार्ड लिएर चुनावी खालमा आउने सम्भावना बढ्दो छ।
यसका लागि उनले केही वर्ष पहिलेदेखि नै आधार पनि बनाउँदै आएका छन्। पछिल्लो समय उनले एमाले र यसको ठूलो पार्टीपंक्तिलाई राष्ट्रवादको रामनामी ओढाएर हिन्दू धर्मको अनुयायी बनाइसकेका छन्।
यस क्रममा ओलीले चितवनको ठोरी नै रामजन्मभूमि अयोध्या भएको दाबी गरेर त्यतै कतै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति पनि प्रतिस्थापन गराइसकेका छन् । उनी प्रधानमन्त्री हुँदा आफ्नै पैसामा ती मूर्तिहरू बनाउन लगाई बालुवाटारमै प्राण प्रतिस्थापन गराएर हस्तान्तरण गरेका थिए । उनको यो कदम आफूलाई कम्युनिष्ट भन्ने एमाले र उनका अनेयायीलाई वैचारिक रूपमा हरितन्नम बनाउने खालको त थियो नै, सदियौदेखि रामजन्मभूमी अयोध्या भनेर सुनिरहेका हिन्दुहरूका लागि चौकाउने विषय पनि थियो । यो विषय नेपाल-भारत सम्बन्धमा आँच आउने सम्वेदनशील विषय पनि हो । तर, उनी त्यसका लागि पनि तयार थिए। यसले उनी रामभक्तिमा लिप्त भैसकेको र त्यसका लागि जुनसुकै जोखिम लिन पनि तयार भैसकेको प्रमाणित गरेको थियो ।
नामले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी) अनि पार्टी झण्डामा हँसिया हथौँडा राखेको कम्युनिष्ट पार्टीका अध्यक्षले गरेको यो धार्मिक कार्यलाई कुनै पनि अर्थमा वामपन्थी आवरण दिन सकिँदैन । तर, ओली यसलाई इतिहासको बर्को ओढाएर अझै पनि आफू कम्युनिष्ट भएको भ्रम छरिरहेकै छन् ।
यही बीचमा ओलीले पशुपतिमा सुनको जलारी चढाउने अर्को धर्मभीरू कर्मकाण्ड रचे। उनले मुलुक कोरोना कहरमा डुबेको बेला करोडौंको सुन किनेर पशुपतिमा जलारी चढाउने उर्दी जारी गरे। यही क्रममा उनका अनुयायीले सुनमा पनि करोडौंको घोटाला गरे । अहिले उनी बेला बेला पशुपतिको आरतिमा सहभागी पनि हुन थालेका छन् ।
ओलीको धर्मभीरू कर्मकाण्ड यतिमा मात्र सीमित छैन। उनले हिन्दू राष्ट्र नै मूल एजेण्डा बनाएका कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सूर्य चिह्न दिएर गत स्थानीय निर्वाचनमा सहकार्य नै गरे । अहिले उनी हिन्दूवादी मात्र होइन, राजावादीसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्वाचन गठबन्धन बनाउन दिलोज्यान दिएर लागिपरेका छन् ।
यी तमाम क्रियाकलापले कुनै समयका अतिवादी वामपन्थी ओली अहिले आएर अतिवादी दक्षिणपन्थी कित्तामा पुगेको देखिँदैछ । यस सन्दर्भमा महान ग्रीक दार्शनिक अरिस्टोटलको एउटा भनाइ स्मरण गर्न सकिन्छ। उनले भनेका छन्– ‘अतिवाद जहिले पनि छेउमा हुन्छ, उसका लागि बीचमा ठाउँ नै हुँदैन ।’
ओलीको यो विचलन त्यसैको जल्दोबल्दो दृष्टान्त हो । यी सबै पृष्ठभूमिमा ओली अब हिन्दू राष्ट्रको निर्वाचन कार्ड लिएर मैदानमा आउने छन् । यो कार्डले उनलाई धेरै कोणबाट फाइदा पुग्ने उनको ठम्याइ छ ।
पहिलो, नेपालमा बहुसंख्यक हिन्दू छन् र उनीहरूको मनमा कतै न कतै नेपाल हिन्दू राष्ट्र भइदिए हुने थियो भन्ने लागेको छ । राजनीतिमा धर्मको डाइनामिक्स सधैंभरी संवेदनशील हुन्छ। यो सबै बुझेका वाचाल ओली यही धार्मिक भावनाको झिल्कोमा आगो सल्काएर निर्वाचनको बैतरणी तर्न चाहन्छन् ।
दोस्रो, नेपालमा सत्तामा पुग्न दक्षिणका इष्टदेवतालाई सधैँभरि दाहिना राख्नुपर्छ । अहिले दक्षिणमा हिन्दूवादी भारतीय जनता पार्टी सत्तामा छ र त्यसका मुखिया मोदी नेपाल हिन्दू राष्ट्र भएको देख्न चाहन्छन् । त्यस शर्तमा उनी नेपालमा जुनसुकै पार्टीलाई पनि आशीर्वाद दिन तयार छन्। ओली यो चालका बारेमा जानकार छन् । त्यसैले उनी दक्षिणी इष्टदेवतालाई दाहिना बनाउन पनि हिन्दू कार्ड खेल्न तयार छन् ।
तेस्रो, हिन्दू राष्ट्रको एजेण्डा लिएपछि एमालेले यो वा त्यो नामका सारा राजावादीसँग गठबन्धन पनि गर्न सक्छ । र, ‘राजा आउ, देश बचाउ’ भन्नेहरूको व्यक्तिगत समर्थन पनि प्राप्त गर्न सक्छ । यसो गर्दा एमालेले थप भोट बैंकको जोहो गर्छ र उसको निर्वाचन डुंगा पार लाग्न सक्छ ।
चौथो, ओली धर्मभीरू हुँदै गएका छन्। उनको यो विचलनले उनमा धर्मप्रति अगाध श्रद्धा पैदा हुँदै गएको छ भने दैवीशक्तिप्रति पनि ठूलो विश्वास जागृत हुन थालेको छ ।
हिन्दू राष्ट्रको एजेण्डा लिएपछि श्रीपशुपतिनाथले उनको निर्वाचन मनोकांक्षा पूरा गरिदिने विश्वास पनि उनमा पलाएको हुन सक्छ । उनले जनतालाई भनिदिन सक्छन्– मलाई भगवानले यसपटक जीतको वरदान दिएका छन् । यसरी उनले जनतामा एक किसिमको भ्रम पनि छर्न सक्छन् ।
ओलीले हिन्दू कार्ड वरदान हुने देखे पनि यो अभिषाप हुने सम्भावना पनि उतिकै छ । यसले उनलाई तात्कालीन रूपमा निर्वाचनमा केही फाइदा गरे पनि अन्ततः उनको वामपन्थी राजनीतिको भने नराम्ररी अवसान हुन्छ । यो उनका लागि मात्र हैन, एमाले पार्टीको जीवनमा पनि एक अभिषापपूर्ण परिघटना हुने छ ।
एमाले भित्रको ठूलो वामपन्थी तप्काकै विरोधको सामना ओलीले गर्नुपर्ने छ । त्यसैले ओलीका लागि यो निर्णय जति सकसपूर्ण छ, त्यति नै चुनौतिले भरिएको पनि छ ।
तर, ओली दुस्साहसका पर्यायवाची हुन् । उनको राजनीतिक जीवन यस्तै दुस्साहसको ग्राफ भएर यहाँसम्म आइपुगेको हो । आफ्नो निर्णयको बचाउका लागि हजार झुटको सहारा लिन पनि पछि नपर्ने ओलीले यसका लागि पनि त्यस्ता कुतर्कहरूको जोहो गरिसकेका होलान् । यसबिचमा उनले त्यस्ता केही कुतर्कहरूको मिडिया ट्रायल पनि गरिसकेका छन् ।
नेपालका राजनीतिक शक्ति, मिडिया र आमजनताले के बुझ्न जरूरी छ भने ओलीको यो कदम अन्तरघाती मात्र हुने छैन, नेपाल र नेपालको कलिलो लोकतन्त्रका लागि त्यति नै मात्रामा हानिकारक पनि हुने छ ।
वामपन्थी ओलीभन्दा दक्षिणपन्थी ओली हजारौ गुणा खराब हुने निश्चित छ । कारण प्रष्ट छ, उनी राजनीतिक जीवनको उत्तराछद्र्धमा छन् र यो सम्भावित कदमपछि उनी मूल्य, मान्यता, सिद्धान्त सबैबाट स्खलित पनि भइसकेका हुनेछन् ।
ओलीसँग सत्तामा पुग्न न गतिलो गठबन्धन छ, न कुनै चुनावी मुद्दा । यसरी हरितन्नम अवस्थामा पुगेर बर्बराइरहेका ओलीका लागि बचेको कार्ड भनेको हिन्दू कार्ड नै हो । अब उनी यही कार्ड चुनावी खालमा उत्रनेछन्। यो कार्डले पनि उनलाई बैतरणी तार्न सक्ने त हैन तर मुलुक धार्मिक विभाजनको संवेदनशील मुद्दामा धकेलिन सक्छ ।
त्यस्तो अवस्थामा उनले के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्था सिर्जना हुन्छ, के भन्छन् भन्दा पनि के भन्दैनन् भन्ने परिस्थिति सिर्जना हुन्छ ।
एउटा राजनीतिक नेता र ऊ नै सर्वेसवा भएको मुलुकको ठूलो पार्टी जब सम्भावित हारको मानसिकताबाट विक्षिप्त भएर सबै कुरा गर्न तयार हुन्छ, त्यस्तो अवस्थामा देश, प्रणाली र जनताले पनि ठूलो हानी व्यहोर्नुपर्ने हुन्छ । विश्वको इतिहासमा यस्ता एक हैन, अनेकौ उदाहरण पाइन्छन् । आगामी निर्वाचन नेपाल र नेपालीका लागि एउटा त्यस्तै परिघटना हुने सम्भवनाको धेरै नजिक छ ।
त्यसैले यो निर्वाचनलाई जनमत प्रकट गर्ने एक प्रजातान्त्रिक परिघटनाका रूपमा अभ्यास गर्न देशका सबै जिम्मेवार राजनीतिक दल, मिडिया, नागरिक समाज र अन्ततः जनताको अहम् भूमिका हुन्छ । यो भूमिकाबाट विमुख हुने अधिकार कसैलाई पनि छैन ।
यसका लागि ओली प्रवृतिलाई कुनै पनि अर्थमा परास्त गर्न जरूरी छ । यो प्रवृति परास्त हुँदा सबैभन्दा बढी जित्ने भनेको एमालेले हो । अहिले एमाले बामाले भएर सबैभन्दा बढी हारेको छ । अर्थात् बामाले फेरि एमाले बन्न ओली र ओली प्रवृतिको शर्मनाक हार आवश्यक छ ।
त्यसो भयो भने एमाले फेरि जितेर वामपन्थी मूल्य, मान्यता र सिद्धान्तको सही राजनीतिक लिकमा आउँछ । नेपाल र नेपालको लोकतान्त्रिकरणमा अहम् भुमिका भएको एमाले सबै कोणबाट त्यो लिकमा आउन जरूरी छ ।
यति हुँदाहुँदै पनि सत्य के हो भने यो वा त्यो जुन कोणबाट भए पनि ओली नै आसन्न निर्वाचनको केन्द्रमा हुनेछन् । उनले जित्नका लागि अनेक हत्कण्डा प्रयोग गर्नेछन् ।
त्यसबाट सिंगो जनमत ठाडो चिरामा ध्रुवीकरण हुनसक्छ जुन देशका लागि हानिकारक छ । त्यसैले पनि आउने निर्वाचनसम्म देशका सबै जिम्मेवार राजनीतिक दल, मिडिया, नागरिक समाज सचेत भएर तमाम ओली-हत्कण्डालाई संयमतापूर्वक निस्तेज पार्न जरूरी छ ।
त्यसका लागि उनका क्रियामा प्रतिक्रिया गर्ने मात्र हैन, आफूले क्रिया गरेर उनलाई प्रतिक्रिया दिन बाध्य बनाउने रणनीति पनि अख्तियार गर्न जरूरी छ ।
अन्यथा, मुलुक दक्षिणपन्थी भासमा परेर अर्को प्रतिगमनको नजिक पुग्न सक्छ । अहिले ओली नै दक्षिणपन्थी प्रतिगमनका मोहोरा हुन्, सम्बन्धित सबैको बेलैमा होश खुल्न जरूरी छ ।