पहिरोपीडितलाई नयाँ घर

File photo
File photo

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ अर्खलेगाउँका पहिरोपीडितका लागि आवास निर्माण कार्य अन्तिम चरण पुगेको छ। गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। उनका अनुसार पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि पहल गरी काम थालिएको हो।

संघ सरकारसंग समन्वय गरी आवास निर्माणको काम भइरहेको छ। एउटा घर साढे ७ लाख रुपैयाँमा निर्माण हुँदै छ। जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख ५० हजार बजेटको व्यवस्था छ। सोही अनुसार किस्ताकिस्तामा भुक्तानी भइरहेको छ। यसमा संघको ५० प्रतिशत, प्रदेशको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट छ।

दशैं अगाडि घर निर्माणको काम सकिने र पीडितले नयाँ घरमा बस्न पाउने गाउँपालिकाले जनाएको छ। अर्खले गाउँमा १८ घर छन्। सबै घर जोखिममा परेपछि लाम्पाटा बगरमा ११ घर निर्माण भइरहेको छ। ६ घर अर्खलेबेंसीमा निर्माण भइरहेको छ। एउटा घर बाहुनडाँडामा बन्ने चरणमा छ। 

गाउँमुनिबाट पहिरोले च्याप्दै आएपछि स्थानान्तरणका लागि घर निर्माण भइरहेको हाे। अर्खलेबेंसी र अर्खलेबेंसी पारी मर्स्याङ्दी गाउँपालिका ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। 

नयाँ घर निर्माण अन्तिम अवस्थामा पुगेको र छिट्टै गाउँबासीलाई स्थानान्तरण गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताए। अर्खले गाउँमा २०७७ सालदेखि पहिरो खसेको र गाउँमुनिबाट पहिरो आउदा सिङ्गो गाउँ नै विस्थापित भएकाे थियाे। उनीहरु वडाको सहयोगमा तत्काल विद्यालय र वरपर त्रिपाल टाँगेर बसेका थिए।

१०० बढी नागरिक अस्थायी रुपमा विस्थापित भएका थिए। हालपनि उनीहरु आफन्तको घर, धन्सारमा बस्दै आएका छन्। गाउँमा पहिरोले समस्या पारेपछि २०७५ सालमै घरमा नबस्न नागरिकलाई भनिएको वडाका पूर्वअध्यक्ष प्रेमबहादुर बस्नेतले बताए। उनका अनुसार दीर्घकालीन रुपमा सर्न नमानेपछि सतर्कता अपनाउन वडा, पालिकाले अनुरोध गर्दै आएको थियो।

त्यसअघि पनि २०५८ सालमा गाउँ वरपर ठूलो पहिरो आएकाे । 

प्रकाशित मिति: : 2022-08-21 11:41:00

प्रतिकृया दिनुहोस्