एनआरएनए जापानको विवाद टुङ्गियाे, नयाँ कार्यसमिति गठन

एक वर्षदेखि विवादमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्  जापानको विवाद टुङ्गिएको छ। गतवर्ष जुलाई ३० तारिक सम्पन्न निर्वाचनलाई रद्द गरेर फेरि जुलाई २९ मा फर्केर नयाँ कार्यसमिति बनाउनेमा सहमति भएपछि विवाद टुङ्गिएको हो।

एनआरएनएका केन्द्रीय तीनै जना अध्यक्ष, उपाध्यक्षहरु, दुवै महासचिव र अन्य केन्द्रीय पदाधिकरीहरु, अभियन्ताहरु र वर्तमान अध्यक्ष मण्डल लगायतका पदाधिकारीहरुको रोबहरमा उक्त विवाद सुल्झिएको हो।

एनआरएनए जापानको कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनमा मा धाँधली भएको थियो। धाँधली गरेर शिवप्रसाद पौडेल नेतृत्वको समिति विजयी भएको थियो। त्यो कुरापछि आएर अनुसन्धानबाट खुल्यो। निर्वाचनमा धाँधली भएको भन्दै छानबिनको माग गर्दै अनिता गुरुङको समूहले एनआरएनएनए केन्द्रमा उजुरी गरेको थियो। सोही उजुरीलाई आधार मान्दै अनुसन्धान अघि बढाइयो र निर्वाचनमा धाँधली नै भएको पुष्टिसमेत भयो। तर, पौडेल समूह त्यो कुरा मान्न तयार भएन र त्यो कुरा नेपाल प्रहरीको साइवर ब्यूरोसम्म पुग्यो।

अनलाइनमार्फत् भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरी असम्बन्धित पक्षले मतदान गरेर धाँधलीपूर्ण निर्वाचन गरेको भन्दै भएको विवादलाई ३० जुलाईको निर्वाचन शुन्य गरी २०२१ जुलाई २९ तारिखमा फर्किने र जुलालई २९ को अवस्थालाई नयाँ कार्यसमिति गठन गर्ने कुरामा सहमति भएपछि विवाद अन्त्य भएकाे हो।

विभिन्न चरणमा भएका दुई पक्षीय वार्तापछि मंगलबार अनलाईन जुममा उपस्थित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु कुल आचार्य, रविना थापा, बद्री केसीसहित महासचिव गौरी जोशी र टोकियोमा रहेका संरक्षक भवन भट्ट, उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरूङ क्षेत्रीय संयोजक डिपी कंडेल, उपसंयोजक ददिवल खड्का एनआरएनएका अभियन्ता सालिकराम भण्डारी, विजय थकाली, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, महासचिव सिद्धार्थ श्रेष्ठ, एनआरएनएका अभियन्ता अधिवक्ता डा. बलराम श्रेष्ठ, निवर्तमान कार्यवाहक अध्यक्ष अनिता गुरूङ, सरोज खत्री, बुद्धि घिमिरे लगायतको सहमतिबाट असन्तुष्ट पक्षकी नेतृ अनिता गुरूङलाई संरक्षक र अन्य अध्यक्षका प्रत्याशीहरूलाई चाहना राखेमा सल्लाहकारमा ल्याउने र अन्य असन्तुष्ट उम्मेदवारलाई विभिन्न पद र विभागमा समेट्ने गरी भएको सहमतिले विवादको अन्त्य भएको दुवै पक्षले बताएको छ।

मंगलबार भएको ५ बुँदे सहमतिअनुसार एनआरएनए जापानका आगामी कार्यकालको निर्वाचन सुव्यवस्थित गर्नको लागि अधिकार सम्पन्न अनुगमन समिति गठन गर्ने, शिवप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गर्ने र अनिता गुरुङलाई संरक्षक बनाउने, निष्पक्ष निर्वाचनको विश्वसनीयता र सर्वस्वीकार्य हुने गरी सदस्यता बनाउने, विश्वासनीयता सुनिश्चित गर्ने, संघको खाता बाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याउने, विभिन्न विभागलाई पूर्णता दिनको लागि उपमहासचिव ओम गुरूङको संयोजकत्वमा शिवप्रसाद पौडेल र अनिता गुरूङ सदस्य रहने गरी तीन सदस्य उपसमिति गठन गरी सो समितिको सिफारिसमा नवगठित कार्यसमितिलाई सेप्टेम्बर १५ सम्ममा एनआरएनएका संरक्षक भवन भट्टले सपथ ग्रहण गराउने पनि सहमति भएको छ।

तत्कालीन अध्यक्ष मण्डलमा उजुरी परेपछि राजन प्रधानासँगको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो।

सो समितिले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद् जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावनाविपरित अनाधिकृत रूपमा मतदान गरिएको पाइएको प्रतिवेदन दिएको थियो।

प्रकाशित मिति: : 2022-08-17 01:04:00

प्रतिकृया दिनुहोस्