राप्ती करिडोर : देशकै तेस्रो ठूलो परियाेजना, दाङ र बाँकेका जनता लाभान्वित

Breaknlinks
Breaknlinks

दाङको देउखुरीमा राप्ती करिडोर बन्ने भएको छ। राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर बागमती र धोविखोला करिडोरपछिको देशकै तेस्रो ठुलो करिडोरका रुपमा बन्न लागेको हो।

नेपाल सरकार सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक (एडिबी)को संयुक्त लगानीमा करिडोर बन्न लागेको सहरी विकास मन्त्री मेटमणि चौधरीले बताए। लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यातामा आधारित नयाँ सहरको परिकल्पना गरेको छ।

जसको बिस्तृत परियोजना (डिपिआर) प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ सहरको परिकल्पना गरेको छ। सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर अघि बढ्ने मन्त्री चौधरीले बताए।

यो करिडोर बनेपछि दाङ र बाँकेकाजनता लाभान्वित हुने छन्। दाङको भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर बन्ने सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए। उनकाअनुसार करिडोर राप्ती नदीको दुबैतर्फ बन्ने छ।

नदीको उत्तरी अथवा राप्ती क्षेत्रमा ६७.५० किलोमिटर र दक्षिणि अथवा गढवा क्षेत्रमा ६८.३० किलोमिटर गरेर कुल १ सय ३५ किलोमिटर क्षेत्रमा कोरिडोर बन्ने श्रेष्ठले जानकारी दिए। करिडोर दुबैतर्फ २१ मिटर चौडाइको हुनेछ।

राप्ती करिडोर किन ?

दाङको देउखुरी क्षेत्रमा ठुला सडकको कमी छैन। देउखुरी क्षेत्रबाटै भएर पूर्व–पश्चिम राजमार्ग छ। पूर्वपश्चिम राजमार्गको लक्षिण क्षेत्रबाट बाँकेसम्म हुलाकी राजमार्ग निर्माणाधिन अवस्थामा रहेको छ। हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको बीच क्षेत्रबाट राप्ती करिडोर बन्न लागेको हो।

राप्ती करिडोर बन्नुको मुख्य फाइदा राप्ती नदीमा आउने बाढीले गर्ने कटान, डुवानलाई दीर्घकालिन रुपमा समाधान गर्ने रहेको मन्त्री चौधरीको भनाइ छ। ‘यो परियोजनाले राप्ती नदीको समस्यालाई सधैंका लागि समाधान गर्नेछ,’ उनले भने, ‘सयौँ विगाह जमिन उकास हुनेछ र जनता त्रासमा बच्नु पर्ने छैन।’

यस्तै राप्ती करिडोरलाई पर्यटकीय रुपले पनि हेरिएको छ। खाली ठाउँमा हरियाली पार्कसहित नयाँ सहरसहितको बस्ती बसाल्ने योजना रहेको छ। ‘राप्ती नदी किनारको दुवैतर्फ सडक कालोपत्रेसहित खुला ठाउँमा हरियाली पार्क, नयाँ सहरसहितको बस्ती विकास लगायतको काम हुनेछ।’ मन्त्रीले चौधरीले भने।

यस करिडोरसँग चारवटा सहरको परिकल्पाना गरिएको छ। हाल रहेको पूर्वको भालुवाङसँगै त्यसको पश्चिमतर्फ क्रमशः गढवा, राजपुर र बाँकेकोअगैयामा नयाँ ठुला सहरको विकास गरिने सहरी विकास मन्त्रालयका महानिर्देशक श्रेष्ठले जानकारी दिए।

राप्ती कोरिडोरको काम एडिबीले गर्ने छ भने यसको डिपिआर सहरी विकास मन्त्रालयले गरिरहेको छ। मन्त्री चौधरीले यो परियोजनाले राप्ती क्षेत्रका जनताको जीवन बदल्न भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘यसले भोलिका दिनमा ठुला व्यवस्थित सहर बनाउन सक्छौं,’ उनले भने ‘यो प्रदेशको राजधानी भएकाले विमानस्थल बनाउन पनि आयोजना अघि बढेको छ। ८७ विगाहा जमिन सिसहनियामा छ। त्यहाँ विमान स्थल बनाउन सकिन्छ।’

राप्ती करिडोरको शिलान्यास

राप्ती नदीको दुबैतर्फ करिडोर बनाउने गरी सोमबार शिलान्यास गरिएको छ। राप्ती गाउँपालिका– १ पाखापानी इन्टेक नम्बर २ मा सहरी विकास मन्त्री चौधरीले करिडोरको शिलान्यास गर्दै छिट्टै निर्माणको काम सुरु हुने जानकारी दिए।

उनले आफूले जनतासँग गरेर बाचाहरुमध्ये राप्ती करिडोर एक महत्वूर्ण बाचा एक रहेको भन्दै करिडोरले मूर्त रुप लिने बताए। सधैं आफू मन्त्री, सांसद नहुने भन्दै अब आउने सांसद, मन्त्रीहरुले पनि करिडोर निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले देउखुरीवासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताए। ‘बजेट सुनिश्चितता गरेर काम अघि बढ्ने देउखुरीवासीको अपेक्षा छ। प्रक्रिया अघि बढेकाले भोलिका दिनमा आर्थिक विकासमा टेवा पुग्नेछ,’ उनले भने।

प्रकाशित मिति: : 2022-08-16 12:11:00

प्रतिकृया दिनुहोस्