याे सहरमा मलाई राखी किन्ने झन्झट छैन

Breaknlinks
Breaknlinks

अहो ! डाेराे बाँध्ने दिन (रक्षाबन्धन) आउँदैछ रे नि।

१५ दिनअघि देखि डाेराे बाँध्ने दिन आउँदै छ, भन्दा सुरु हुन्थ्याे कसकाे डोरो धेरै हुने भन्ने गफगाफ। डोरो धेरै हुनेले जित्थ्याे, म प्रतियोगिता राख्थेँ गाउँका साथीहरुसँग। अनि पूर्णिमाकाे दिन एउटै मान्छेसँग दुई/तीन वटा डोरो बाँधेर भए पनि हातभरि बनाउनुको मज्जा बेग्लै। आमा पुन्यु (पूर्णिमा)भन्दा अगाडि राखी ल्याइदिन्थिन् दाइ र भाइलाई बाँधेर पैसा लिन पाउँदा मक्ख हुन्थेँ म। दाइ भाइहरु मेरो सधैं रक्षक हुने छौँ भन्दै मलाई झन् फुर्क्याउथे। अर्को दिन साथीहरुसँग गएर डोरो कसको पो धेरै भयो भनेर गन्दा सधैं म नै पहिलाे हुन्थे। मलाई त्यति भएपछि फुर्किन झन् केही चाहिँदैन्थ्याे।

अहो ! ती दिनहरु साँच्चिकै सारै रमाइला थिए, अविस्मरणीय थिए। तर, अब सायद ती दिन अब कहिले फर्केर आउनेवाल छैनन्। अचेल पहिला जस्तो केही छैन। आज-भोलि प्रगति खोज्दा खोज्दै र भविष्यबारे सोच्दा सोच्दै अलिक फरक भएकाे छ जीवन। पहिला जस्तो साथीहरुलाई भेट्न कहीँ जानु पर्दैन। चाह्यो भने घरमै बसी बसी भिडियो कल हुन्छ। जहाँअनुहार हेर्दै टाढा-टाढाको साथीहरुसँग बोल्न सकिन्छ।

अचेल घरका दाइ भाइहरुसँग खासै कुरा हुँदैन तर सामाजिक सञ्जालमा खुब धेरै दाइ भाइहरु बनाएकी छु, मैले। पहिला आफ्ना दाइ भाइहरु त बिहान उठेर मात्र रक्षाबन्धनको शुभकामना दिन्थेँ। तर, आज भोलि त रातिको १२ बजे नै म्यासेज गर्छन्, रक्षाबन्धनको शुभकामना भन्दै। ती पहिलेका दुई/चार जना साथीहरु त छुटे तर यहीँ सामाजिक सञ्जालकाे माध्यमदेखि हजारौं साथी बनाएकी छु, मैले। जसले राति १२ बजेदेखि म्यासेज गरेका छन्, रक्षाबन्धनको दिन शुभकामना पठाउँदै।

हो, अचेल पहिलाभन्दा धेरै साथी छन्, मेरा। तर, खै किन हो पहिलाको जस्तो माहोल चाहिँ छैन। पहिला जस्तो हातभरि डोरो बाँध्न मलाई मन पर्दैन। हुन त कोही मेरो यो अँध्यारो कोठासम्म डोरो बाँध्न आउँदा पनि आउदैन। पहिला जस्तो मेरो हातबाट राखी बाध्ने कोही छैनन्, न त कोही तेरो रक्षक बन्छु भन्दै मेरो खुट्टा नै कसैले ढोग्छ। साँच्चिकै पहिलाको भन्दा धेरै बदलिएको छु म, अनि मेरा यी इच्छाहरु, सपनाहरु। बदलिएका छन् आफन्तीहरु र साथीहरू। फरक छन्, पहिलाका ती रमाइला र आज भोलिका यी उराठिला चाडहरु। फरक छन्, पहिला वर्तमानमा जिउने दिन अनि आज-भोलि भविष्य बनाउन जिएका यी दिनहरुमा।

भविष्य बनाउन म त्यो सानो गाउँ छाडेर यो ठुलो सहर छिरेकी थिएँ। जहाँ म सरेकी थिएँ साना माटाका घरदेखि ठुला बिल्डिङहरुमा। जहाँ सारेकी थिएँ आफ्ना सपनाहरु गाउँमा अस्पताल बनाउनेदेखि सहरमा ठुलो बिल्डिङ बनाउने सम्ममा। देख्न लागेकी थिएँ, भविष्य। पहिला वर्तमानमा रमाइलो गर्नको लागि बाचेकी म आज भोलि भविष्य बनाउनको लागि जिउन लागेकी थिएँ। पहिला आफ्नो लागि जिउने म आज भोलि सपनाको लागि जिउन लागेकी थिएँ। पहिला बाहिरी संसारमा घुम्न चाहाने म बिस्तारै मोबाइलमा संसार देख्न लागेकी थिएँ। रमाइलोको लागि मान्ने चाड मान्नका लागि वा भनौँ आमाको मन राख्नको लागि मान्नको लागेकी थिएँ, चाड। सायद त्यहीँ  दिनदेखि जुन दिन म सहर छिरेँ जुन दिन मेरो हातमा फोन पर्‍याे हो, त्यहीँ दिनदेखि बदलियो मेरो संसार। त्यहीँ दिनदेखि बदलिए मेरा सपना। त्यहीँ दिनदेखि बदलिए मेरा सम्बन्ध, आफन्त अनि साथीहरू।

आज फेरि डोरो बाँध्ने दिन आएको छ। जहाँ मेरा यी दुबै हात खाली छन्। सामाजिक सञ्जालमा हेर्‍याे भने दाइ भाइ नभएको कुनै सहर नहोला तर आज मलाई राखी किन्ने झन्झट छैन। घरमा यो दिनमा मिठो खाना बनाएर, फलफूल किनेर खाने भन्नुहुन्थ्यो आमा। यसैले आज एक पाउ कुखुराको मासु किनेर ल्याएर मिठो गरि पकाउने छु र त्यसैलाई बिहान साझलाइ पुर्‍याएर खाने छु। पहिला आजको दिन एउटै मान्छेबाट दुई/तीन वटा डोरो बाँध्न खोज्ने म आज पसससम्म जाँदा पनि कतै कसैले चिन्छ कि भनेर डराइ-डराइ हिँड्छु। पहिला चिनेको मान्छेसँग बोलेर नथाक्ने मान्छे म आज भोलि चिनेको मान्छे देख्दा दुई हात जोडेर नमस्कार भन्नपर्ने भएकोले चिनेको मान्छेसँग भेट नहोस् भन्दै प्रार्थना गर्दै हिँड्छु। खै किन यति धेरै बदलिएँ, म।

आज भोलि मनमा एउटा प्रश्नले खुब बास गरेको छ। आखिर जिन्दगी के का लागि ? यत्रो दु:ख के का लागि ? यो आफैंमा आउने बेलाबेलाको बदलाव के का लागि ? अनि फेरि कहिले नसकिने प्रश्न मेरा मनमा बेलाबेला बास बस्न आउँछन् आखिर त्यो पनि के का लागि ?

यही प्रश्नको जवाफ नपाएर आज भोलि रातिमा निन्द्रा नपरेको पनि धेरै भएको छ बेलाबेला आफैं जवाफ पनि नखोजेको कहाँ हो र। धेरै बनाए जवाफहरु जिन्दगी जिउनका लागि मर्नका लागि। जिन्दगी वर्तमानमा होइन भविष्यमा खुसी हुनका लागि। यो दु:ख सब भविष्यमा रुन नपरोस भविष्य खुब उज्ज्वल होस् भन्नका लागि। वर्तमान जस्तोसुकै होस् तर कसैले नदेखेको भोलि बाँचिन्छ कि मरिन्छ थाहा नभएको भोलि राम्रो बनाउनको लागि त हो।

तर, बाँकी रह्यो अर्को प्रश्न बेलाबेला आफैंमा आउनुको बदलाब के का लागि ?

आज भोलि साँच्चिकै खुब बदलिएको छु, म। पहिला जस्तो आँखाबाट आँसु त आउदैनन तर भित्र-भित्र नरोएको दिन पनि कहिले हुँदैन फरक यत्ति छ कि पहिला बाहिर चोट लाग्दा रुन्थे आज भोलि भित्र कता-कता चोट लागेर रुन्छु। पहिला- पहिला आमा कतै जाँदा आमा सम्झेर रुन्थेँ अनि आज भोलि आफैंलाई सम्झेर रुन्छु। पहिला कहिलेकाहीँ रुन्थे आज भोलि सधैं रुन्छु।

साँच्चिकै मलाई यो जिन्दगीबाट फेरि बदलिएर उहीँ सानो बेलाको जिन्दगी जिउने रहर छ। जहाँ थिए, मेरा आफ्नाहरुसँगै। जहाँ थिए, मेरा सपनाहरु आफ्ना जहाँ म जिउथेँ, आजका लागि। हो, मलाई पहिलकै म हुन मन छ।

प्रकाशित मिति: : 2022-08-12 09:27:00

प्रतिकृया दिनुहोस्