आरू, ओखर, स्याउ, नास्पती, वागवानी फारम
सन्चो छ कि बिसन्चो छ, जिउ छ क्या आराम?...
भौगोलिक बनोट, रहनसहन, उत्पादनअनुसार नै साहित्य सृजना हुन्छ। जुम्लाको फलफूल उत्पादनसँग जोडिएको माथिको गीत खबर आदनप्रदान गर्न पनि उपायोगी हुँदै आइरहेको छ।
पछिल्लो पाँच दशकयता जुम्ला स्याउले परिचित भइरहेको छ। कुनैबेला 'गाउँ आयो गु आयो' भन्ने थियो। आज गाउँ आयो स्याउ आयो नारा घन्किरहेछ। (यहाँका बुढापाकाका अनुसार २०२४ साल आसपासतिर जुम्लामा स्याउका बिरुवाहरू भित्रिएका हुन्।)
२०६३ सालमा जुम्ला-सुर्खेत ट्रयाक रोड खुलेपछि मात्र यहाँका किसानहरूले स्याउ र ओखर लगाउन तीव्रता दिए।
मुस्ताङको सबै ठाउँमा स्याउ फल्दैन। तर जुम्लामा त्यस्तो कुनै ठाउँ छैन, जहाँ स्याउ नफलोस्। त्यसैले आज स्याउ उत्पादन हुने क्षेत्र हरेक वर्ष बढिरहेको छ। सुरूका दिनमा बजार वरिपरिमा सिमित उत्पादन हाल जिल्लाको सबै वडासम्म विस्तार भएको छ।
जुम्लामा यो वर्ष ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती गरिएको छ। प्रतिहेक्टर ४ मेट्रिक टन स्याउ फल्ने कृषि अर्थविज्ञ गणेश अधिकारीले बताए।
उनका अनुसार गत वर्ष करिब १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यो वर्ष झन्डै डेढ गुणाले उत्पादन बढ्ने अनुमान गरिएको छ।
हरेक वर्ष उत्पादन भएको स्याउबाट किसानले कति आम्दानी गर्छन्? भन्ने पुरा तथ्यांक छैन। कुल गार्हस्थ उत्पादनमा स्याउको योगदान कति छ? यो पनि एकीन छैन। उत्पादनको निश्चित बजार छैन। त्यसमाथि गुणस्तर खस्किने गरी काचाे स्याउ टिपेर बजारमा पुर्याइएकाे छ।
किसानहरूमा स्याउसम्बन्धी पर्याप्त जानकारीको अभाव हुनु, रोग किरा व्यवस्थापन नहुनु, आवश्यक मात्रामा सिँचाइ तथा मलको उपलब्धता नहुनु, उत्पादनपश्चात सुरक्षा दिन नसक्नु, कृषि विज्ञको अभाव तथा फल टिप्दा सुरक्षित उपाय अवलम्बन नगर्नू, विश्वव्यापी तापक्रम वृद्धि आदि कारणले उत्पादनमा आशातित उपलब्धि हासिल गर्न सकिएको छैन।
स्याउ नाशवान फल हो। यसमा ९० प्रतिशत पानीको मात्रा हुन्छ। बजारमुखी उत्पादनका लागि व्यवस्थापन महत्त्वपूर्ण मानिन्छ। किसानको बगैँचादेखि बजारसम्म पुर्याउँदा विभिन्न किसिमले क्षति हुन्छ। यसरी हुने क्षति २० देखि २५ प्रतिशतसम्म रहेको अध्ययनले बताएको छ।
स्याउमा हुने क्षति दुई प्रकारका हुन्छन्। पहिलो- फिजियोलोजिकल क्षति हाे। यसले श्वासप्रश्वास, ट्रान्सपिरेशन र स्याउ परिपक्व हुँदा उत्पादन हुने इथिलन हर्मोनमा असर गर्छ। यसको कारक स्याउभित्र हुने आन्तरिक तत्व हो। यसलाई रोक्ने सजिलो उपाय फल टिप्ने बित्तिकै उचित तापक्रमको भण्डार गृहमा भण्डारण गर्ने वा त्यही गुणस्तरमा बजारसम्म पुर्याउने हो।
दाेस्राे- भौतिक क्षति हाे। यो स्याउ टिप्दा, ग्रेडिङ गर्दा, प्याक गर्दा, ढुवानी गर्दा घाउ चोटपटक लागेर हुने गर्दछ।
फल टिप्दा परिपक्व अवधि पहिचान गर्नुपर्ने हुन्छ। स्याउ आफैंमा यस्तो फल हो, जुन रूखबाट टिपिसकेपछि मात्र पूर्ण रूपले पाक्छ। यसरी पाक्दा फलमा ग्लुकोजको मात्रा बढ्ने, एसिडको मात्रा घट्ने र वास्नादार हुने गर्छ।
परिपक्क अवस्था पहिचान गर्ने भौतिक, रासायनिक, फिजियोलोजिकल, गणितीय र इलेक्ट्रोनिक गरी पाँच वटा विधि छन्। यीमध्ये सबैभन्दा सजिलो भनेको भौतिक विधि हो। यसले फलको रंग ६५ प्रतिशत बढी हुनपर्ने, बिउको रंग सेतो-खैरोबाट कालो हुनुपर्ने तथा गुदीको रंग हरियोबाट पँहेलो हुनुपर्ने भन्छ। जुन सजिलै पहिचान गर्न सकिन्छ।
अर्को हो, गणितीय विधि। यो रमाइलो र सजिलो पनि छ। यसले हिसाब गर्न भन्छ। दिनगन्ती गर्न लगाउँछ। स्याउको जातअनुसार फूल फूलेको समयलाई ध्यानमा राखी फल टिप्न सुझाव दिन्छ।
रोयल डेलिसियस १२० देखि २५ दिन, रेड डेलिसियस १३४ देखि ३९ दिन र गेल्डेन डेलिसियस १४८ देखि ५४ दिनसम्ममा टिप्नुपर्ने हुन्छ।
फल टिप्दा हाँगाहरू नभाचिने, जोडले हाँगा नझट्कार्ने, हात नपुग्ने ठाउँमा भर्याङको प्रयोग गरेर टिप्नुपर्ने हुन्छ। जसले गर्दा अर्को वर्ष पनि सजिलै स्याउ फलाउन सकिन्छ।
टिपिसकेको फललाई आकार र रंगको आधारमा: सुपर, ए, वि, सि र डि ग्रेड गरि छुट्याएर राख्नुपर्ने हुन्छ। जसले गर्दा उपभोक्ताको मागलाई सजिलै पूर्ति गर्न सकिन्छ भने उचित मूल्य लिएर अधिकतम लाभ लिन सकिन्छ।
प्याकेजिङ र लेबलिङको कारण ढुवानी गर्दा बाहिरी वातावरणबाट बचाउन तथा खरिदकर्ताहरूलाई सुविधा प्रदान गर्छ।
स्याउ किसानका दुश्मन भनेर भुवादार लाही किरालाई मानिन्छ। यिनीहरूको व्यवस्थापन किसानको लागि युद्व जित्नु बराबर हो। यिनको संक्रमणले बुटाहरू रोगाउँदै जाने, बढ्न नसक्ने, फल कमसल फल्ने र अन्तमा बिरूवा नै मरेर जानेसम्मको हुन्छ। जिल्लाका लगभग सबै बगैँचामा यो समस्या देखिन्छ।
समयमा व्यवस्थापन गर्ने विषयमा ध्यान दिइएन भने कुनै दिन जुम्लामा चाइनिज, इन्डियन वा अमेरिकन स्याउ ठेलामा बेच्न राखेको प्रशस्तै भेटिने छ। जुम्लामा स्याउ फल्थ्यो भन्दा नयाँ पुस्ताले नपत्याउने स्थिति आउन सक्छ।
त्यसैले भुवादार लाही किराको व्यवस्थापनको लागि कोसेबाली लगाउने, बगैँचाको वातावरण सधैँ सफा राख्ने, बोडोमिक्स्चर आदि प्रयोग गर्नुपर्ने हुन्छ। यसका साथै एफिलिनस मालि भन्ने परजीवी किराको प्रयोगबाट पनि यसलाई व्यवस्थापन गर्न सकिन्छ। तर यो तरिका सामान्य किसानको पहुँचमा हुँदैन। यसका लागि सरकारी अनुदान र लगानी आवश्यक पर्छ।
२०७३ सालमा सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने लक्ष्य राखेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन स्याउ सञ्चालन गर्यो।
यसले किसानहरूलाई कृषि उत्पादन सामग्रीहरू, प्राविधिक सहयोग, प्रयोगशाला सेवाहरू, कृषि औजार तथा उपकरण, साना सिँचाइ पूर्वाधार र उत्पादनपरान्त कृषि व्यवसाय सेवा पूर्वाधारहरुमा अनुदान सहयोग गर्ने लक्ष्य लिएको थियाे।
जुम्लामा स्याउ उत्पादन हुन थालेको निकै थोरै मात्र समय भए पनि विश्वमा यसको महिमा र उत्पादनको लामो इतिहास छ।
सबै फलफूलको राजा मानिने स्याउ इसा पूर्व ६ हजार पाँच सय वर्ष अघिदेखि अर्थात आजभन्दा झण्डै ८ हजार ५ सय वर्ष अघिदेखि उत्पादन भइरहेको छ। एसिया र युरोपमा एक हजार वर्ष अघिदेखि स्याउको उत्पादन हुँदै आएको देखिन्छ।
इसाई धर्म ग्रन्थ बाइबलमा पहिलो मानव एडम र इबले स्याउ खाएको प्रसंगलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। इसाई धर्मावलम्बीहरू स्याउलाई पवित्र फलको रूपमा मान्ने गर्छन्। यद्यपि सबै धर्ममा फलफूललाई पवित्र मान्ने चलन छ।
अस्ट्रेलियामा स्याउको एउटा बुटाबाट वर्षमा चार पटकसम्म स्याउ फलाउन सकिन्छ। चीनले ठुलो मात्रामा स्याउ उत्पादन गरिरहेको छ। इटालियन फुजि जातको स्याउ अहिले जुम्लामा पनि उत्पादन भइरहेको छ। यसले लगाएको आठ माहिनामै फल दिन्छ। अमेरिका पनि स्याउमा उत्पादन र विकासमा राम्रो उपलब्धि हात पार्ने देश हो।
हरेक वर्ष विश्वभर आठ कराेड ७२ लाख दुई सय २१ टन स्याउ उत्पादन हुन्छ। जसमध्ये चाइनाले मात्रै चार कराेड २५ लाख २६ हजार पाँच सय ७८ टन स्याउ उत्पादन गर्छ भने अमेरिकाले ४९ लाख ९७ हजार ६ सय ८० टन स्याउ उत्पादन गर्छ। नेपाल ६६ औँ स्थानमा स्याउ उत्पादन गर्ने देश हाे।
जुम्लामा वर्षमा एक पटकमात्र स्याउ उत्पादन हुन्छ। एक वर्ष गतिलो फलेको स्याउ अर्को वर्ष कम फल्ने गर्छ। किसानको स्याउले उचित मूल्य पाउन सकेको छैन।
सबै दृष्टिले कम्तिमा पनि भदौ पहिलो सातादेखि दोस्रो सातामा स्याउ तयार हुन्छ। कृषि विकास कार्यालय र जिल्लाका सबै पालिकाले यस्तो खालको सूचना प्रशारण गरे पनि साउन महिनामै काचाे स्याउ टिपेर जिल्ला बाहिर लगिएकाे छ।
काचाे स्याउ टिप्दा स्याउमा हुने एसिड ग्लुकोजमा परिणत भइसकेको हुँदैन। त्यसैले स्याउ अमिलो हुन्छ। परिणाम बजारमा न्यून गुणस्तरको स्याउ पुग्छ।
नाफा खाने कमाउने उदेश्यले बिचौलियाले किसानलाई छिटो स्याउ टिप्न उक्साइरहेका छन्। यसले फेरि पनि किसानहरु मर्कामा पर्नेछन् भने बजारमा जुम्ली स्याउको ख्याती घट्नेछ। यसलाई नियन्त्रण गर्ने काम भएको छैन।
स्याउ जति गर्मीमा लगियो, त्यति यसमा हुने पानीको मात्रा कम हुँदै जान्छ र गुणस्तर पनि खस्कँदै जान्छ। त्यसैले स्याउ ढुवानीको लागि कुलिङ कन्टेनर प्रयोग गर्नुपर्ने हुन्छ। सडक पुगेको देशको जुनसुकै कुनामा जुम्लाबाट स्याउ टिपेर लग्न तीन/चार दिनभन्दा बड्ता लाग्दैन। यति समयको लागि कुलिङ कन्टेनर सजिलै प्रयोग गर्न सकिन्छ।
इटालियन फुजी जातको स्याउका बिरुवाहरू ल्याउँदा कुलिङ कन्टेनरमा कोलकत्ता बन्दरगाह हुँदै जुम्लासम्म झण्डै तीन महिना लगाएर पुर्याइन्छ। जुम्लाको स्याउ बजारसम्म पुर्याउन कुलिङ कन्टेनर सजिलै प्रयोग गर्न सकिन्छ। तर, याे किसानकाे पहुँचभन्दा बाहिरकाे कुरा हाे। सकारी अनुदानमा भयो भने सजिलो र सस्तो पर्न जान्छ।
नेपाली बजारमा हाल लगभग ८० प्रतिशत स्याउ, चीन, भारत र अमेरिकाको छ। जुन नेपालको कुनाकुनासम्म पुगेको छ र यहाँको भन्दा सस्तोमा पाइन्छ। यसरी ठुलो परिमाणमा भित्रिने स्याउ विस्थापन गर्न र आत्मनिर्भर हुन हाल भएका स्याउले मात्र सम्भव छैन। यसका लागि माटो सुहाउँदो नयाँ जातका रोगमुक्त र बढी उत्पादन दिने स्याउका बिरुवाहरुको विकास गरिनुपर्छ। यसमा हाम्रा कृषि विज्ञहरुकाे दिनरातकाे मेहनत जरुरी हुनेछ।
खाली भएको र उत्पादन सम्भाव्य जमिनमा एकीकृत खेती प्रणाली अपनाउनुपर्छ। यसका लागि सरकारी खर्चमा जिनेटिक इन्जिनियरहरुलाई प्रयोग गरिनुपर्छ। पछि बाहिरबाट आउने स्याउमा बढी कर लगाएर आफ्नो उत्पादनलाई सस्तोमा बजारसम्म पुर्याउन सकिन्छ। यसरी स्याउमा नेपाल सजिलै आत्मनिर्भर हुन सक्छ। जुम्लीहरूको जीवनस्तर बढ्छ। यो काम पनि सरकारी तवरबाट मात्रै सम्भव छ।
किसानको बगैँचामा सिँचाइको सुविधा पुग्नु, अनुदानमा सामग्रीहरू पाउनु सकारात्मक कुरा हो तर यति हुँदैमा कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित हुन सकिँदैन।
पन्ध्रौं योजनाले प्रतिशत आर्थिक वृद्धिदर १०.३ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ। जसमा कृषि क्षेत्रकाे याेगदानलाई प्रमुख मानिएकाे छ। चाैधाैं याेजनाले कृषि क्षेत्रबाट मात्रै ४.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएकाे थियाे। तर औसत उपलब्धि ४.२ प्रतिशत मात्रै हुन गयो। त्यसैले ठुलो उपलब्धि हासिल गर्न सरकारले कृषिमा आधारित ठूला स्केलका उद्योगहरू स्थापना गर्नुपर्छ। यसरी स्थापना हुने उद्योगको स्वामित्व, नियन्त्रण र रेखदेखको जिम्मेवारी पनि सरकारले नै लिनुपर्छ।
सुपर, ए र बि ग्रेटका स्याउहरू बजारमा पुर्याउने ग्यारेन्टी हुनुपर्छ भने बाँकी स्याउ उद्योगबाट नयाँ-नयाँ परिकार बनाइ अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्छ। यसको जिम्मेवारी कसकाे हुने र दायित्व कसले बहन गर्ने भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्छ। अनिमात्र जुम्ली स्याउ र स्याउ उत्पादक किसानकाे जीवनस्तर बदलिनेछ।