इजरायलद्वारा गाजामा आक्रमण, कम्तिमा १० को मृत्यु

Reuters
Reuters

इजरेली हवाई हमलाहरूका कारण गाजा स्ट्रीपमा एक प्यालेस्टिनी लडाकू समूहका शीर्ष कमान्डरसहित कम्तीमा १० जना मारिएका छन्।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये एकजना बालिकासमेत छन् र अन्य दर्जनौँ घाइते भएकाे बीबीसीले जनाएकाे छ। इजरेलका प्रधानमन्त्रीले त्यस्तो कारबाही प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट 'एउटा तत्कालको जोखिम' देखिएपछि उक्त कारबाही गरिएको बताएका छन्।

यस साताको सुरुमा पीआईजेका एकजना सदस्य पक्राउ परेका थिए। ुसुरुवाती जबाफका रूपमा' पीआईजेले इजरेलतर्फ १०० भन्दा धेरै रकेटहरू प्रहार गरेको छ।

ती धेरैलाई इजरेलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले पहिचान गर्दै निष्क्रिय पारेको छ। कैयौँ इजरेली सहरहरूमा त्यसको जनाउ दिनेगरी साइरनहरू बजेका थिए। इजरेल डिफेन्स फोर्स आईडीएफले त्यसपछि आफूले लडाकुहरूका स्थान पहिचान गर्दै हमलाहरू सुरु गरेको जनाएको छ।

इजरेली प्रधानमन्त्री याइर लापिडले एक टेलिभिजन सम्बोधनमा आफ्नो देशले 'तत्काल हुनसक्ने जोखिमविरुद्ध एउटा सटिक ढङ्गको प्रतिआतङ्कवाद कारबाही' गरेको बताएका छन्। आईडीएफले आफूले प्रहार गरेका ठाउँहरू पीआईजेसँग सम्बन्धित रहेको जनाएको छ।

जसमा गाजा शहरको एउटा अग्लो भवन प्यालेस्टाइन टावर समेत परेको छ। त्यहाँ भएको ठूलो विस्फोटनले भवनबाट धूवाँको विशाल मुस्लो निस्किएको थियो। तैसिर जबारीसहित चारजना पीआईजे लडाकुहरू र एकजना पाँच वर्षिय बालिका हमलामा परेर ज्यान गुमाउनेमध्ये रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्

उनीहरूले अन्य ५५ जना मानिसहरू घाइते भएको जनाएका छन्। इजरेली सेनाका एकजना प्रवक्ताले आईडीएफले झण्डै १५ जना लडाकुहरू मारिएको अनुमान गरेको जनाएका छन्।

प्रकाशित मिति: : 2022-08-06 10:05:00

प्रतिकृया दिनुहोस्