म्यान्मार 'कू'पछि १ सय ३० भन्दा बढी पत्रकार पक्राउ

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारमा सैन्य 'जुन्ता'ले सत्ता कब्जा गरेपछि १ सय ३० भन्दा बढी पत्रकार पक्राउ परेका छन्।

नागरिक आन्दाेलन र आम–सञ्चारमाध्यमबाट तर्सिएकाे सैनिक सरकारले कैयाैँ पत्रकारलाई हिरासतमै थुनेकाे छ। तीमध्ये धेरैलाई प्रदर्शनकारी र विद्राेही संघ–संगठनसँग सम्पर्क गरेको अभियोग लगाउँछ।

सैन्य सरकारले गत हप्ता हिरासतमा लिएका जापानी पत्रकार टोरु कुबोटालाई अध्यागमन कानून उल्लङ्घन गरेको आराेप लगाएकाे छ। उनी सैनिक सरकारद्वारा पक्राउ परेका पाँचौं विदेशी पत्रकार हुन्।

पत्रकार कुबोटालाई पनि सेनाविरूद्धकाे असन्तुष्टिलाई प्रोत्साहन गरेकाे गम्भीर आराेप थुपारिदिएकाे छ। उनी चारजना प्रजातन्त्रवादी कार्यकर्ताको मृत्युदण्डविरूद्धकाे प्रदर्शनका क्रममा पक्राउ परेका हुन्। 

डकुमेन्ट्री फिल्म निर्माता २६ वर्षीय पत्रकार कुबोटासहित दुईजना म्यान्माली प्रदर्शनकारी पनि पक्राउ गरिएको थियाे। उनीहरूलाई धारा ५०५ (ए) र अध्यागमन कानून १३–१ अन्तर्गत अभियोग लगाइएको सैनिक सरकारले प्रकाशन गरेको एक विज्ञप्तिमा जनाइएको छ।

जापान सरकारका एक प्रतिनिधिले पत्रकार कुबोटाको रिहाइको लागि सैनिक–नेतासँग आह्वान गरेकाे बताइएकाे छ। उनको रिहाइको माग गर्दै आइतबार टोकियोस्थित परराष्ट्र मन्त्रालयबाहिर एउटा सानो भीड जम्मा भएको छ।

म्यान्मारकाे सैन्य शासनले पत्रकारहरूलाई पक्राउ गरी मुद्दा चलाउने, कार्यालयमा छापा मार्ने र सैनिक अत्याचारको कभरेजलाई दबाउन काम गरिरहेकाे छ।

सन् २००७ मा बौद्ध भिक्षुहरूको नेतृत्वमा भएको भगवा क्रान्तिको क्रममा प्रदर्शनकारीमाथि सैनिकले गोली चलाउँदा जापानी पत्रकार केन्जी नागाईको विरोध प्रदर्शनको कभर गर्ने क्रममा हत्या पनि भएको थियो।

प्रकाशित मिति: : 2022-08-05 05:57:00

प्रतिकृया दिनुहोस्