तातो पानीले नुहाउँदा डिप्रेसन कम हुने अध्ययनले देखाएको छ।
अमेरिकी वैज्ञानिकले डिप्रेसन हटाउनका लागि तातो पानीले नुहाउने सुझाव दिएका छन्।
अमेरिकाको विस्कन्सिन विश्वविद्यालयले गरेको अनुसन्धान अनुसार डिप्रेसनका बिरामीले तातो पानीको नुहाएमा मुडमा सुधार आउनुका साथै डिप्रेसनको जोखिमलाई पनि कम गर्छ।
सन् १९९५ मा जीवविज्ञान साइक्याट्री जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार उच्च तापक्रमले डिप्रेसनसँग सामना गर्न मद्दत गर्छ।
यस धारणाका साथ अमेरिकी वैज्ञानिकले डिप्रेसनबाट पीडित बिरामीको शरीरलाई हट कोइलको सहायताले ३८.३ डिग्री सेन्टिग्रेडसम्म तताएका थिए। र, एक घण्टापछि शरीरलाई चिसो पारिएको थियो।
अनुसन्धानको क्रममा उच्च तापक्रमले ६० प्रतिशत बिरामीहरूमा असर गरेको देखाएको छ। यसमा पनि ४० प्रतिशत बिरामीमा पहिलो पटक नै प्रभाव देखाएको थियो।
धेरैजसो डिप्रेसनका बिरामीमा सुस्ती, थकान र अनिद्राजस्ता लक्षण देखिने पाइन्छ। सामान्यतया डिप्रेसन पत्ता लगाउनका लागि काउन्सेलिङ गर्ने र उपचारका लागि एन्टिडिप्रेसेन्ट औषधिहरू दिइने गरिन्छ।
३० प्रतिशत डिप्रेसनको अवस्थामा, औषधिले पनि काम गर्दैन। र, लामो समयसम्म एन्टिडिप्रेसेन्टको सेवनले साइड इफेक्टको जोखिम पनि बढाउन सक्छ।
किङ्ग्स कलेज लन्डनका मनोचिकित्सक कामिन पेरिएन्टेका अनुसार डिप्रेसनको समस्या भएका केही बिरामीमा एन्टिडिप्रेसेन्टले काम गर्दैन। यस्तो अवस्थामा प्राकृतिक तरिकाले डिप्रेसनको उपचार गर्न उत्तम हुन्छ।
तापको माध्यमबाट पनि डिप्रेसन कम गर्न सकिने हुँदा तातो पानीबाट नुहाउन सुझाव दिइएको हो। तापको प्रभावले डिप्रेसन दिन प्रतिदिन घट्ने देखिन्छ।