यतिबेला हलहरुमा खगेन्द्र लामिछानेकाे फिल्म 'पानी फाेटाे' चलिरहेकाे छ। राम्राे प्रतिक्रिया पाएकाे समाचारमार्फत् जानकारी मिलेकाे छ। जुम्ला नछाेडी हेर्न नपाइने हुनाले कुन फिल्म कस्तो छ र व्यापार कस्ताे भइरहेको छ ? सबै थाहा हुने समाचारका टिप्पणीबाहेक अर्काे माध्यम छैन।
सुविधा सम्पन्न सहरमा बस्ने दर्शक र सचेत समीक्षकले फिल्मबारे टिकाटिप्पणी गर्दै गर्लान्, हामी भने जुम्लाकाे विकट भूगाेल चाैधबीसकाे तिर्खु गाउँ र यहीँकाे कथामा छाँयाङ्कन गरिएकाे तथा केही हदसम्म स्थानीय कलाकारलाई समेत स्थान दिइएकाे चलचित्र 'प्रकाश'बारे वात माराैं।
प्रदीप खड्काकाे मुख्य भूमिका भनिएकाे फिल्म 'प्रकाश' उनकै जन्मदिनकाे अवसर पारेर आगामी भदौ १० गते रिलिज हुँदैछ।
प्रसाद, नोभेम्बर रेन, क्लासिक निर्देशन गरिसकेका दिनेश राउत निर्देशित प्रकाश फिल्मकाे मुख्य भूमिकामा प्रदीप मात्रै नभएर अभिनेत्री दिया मास्के पनि रहेकी छिन्। सार्वजनिक भएका पाेस्टर र टिजरले उनीहरु मुख्य भूमिकामा रहेकाे विभिन्न संचार माध्यममा चर्मा चलिरहेको छ।
श्रम विभाजनमार्फत् महिलाले हलाे जाेत्न हुँदैन भनिने भूगाेलमा बिरलै देखिने दृश्यमा काँधमा हलो र जुवा बोकेर गोरु धपाइरहेकी दियालाई देख्दा रियल लाइफमा समेत हक्की देखिने उनकाे भूमिकालाई कम आँक्न मिल्दैन।
उनी सामाजिक संजालमा प्रस्तुत भएकाे हेर्दा याे पुष्टि हुन्छ कि,'चलचित्रमा साहित्य चेत बढेसँगै अभिनयमा पनि एक प्रकारको गहिराइ आउन थालेको छ। महिला पात्रहरू बिस्तारै उपस्थिति जनाउने तत्वहरू मात्र नभएर, चलचित्र न्यारेटिभको अभिन्न अङ्ग बन्न थालेका छन्,' सामाजिक सञ्जाल फेसबुकमा दियाले लेखेकी छन्,'जसको उदाहरण हो प्रकाश चलचित्रको प्रतिनिधि पात्र सीता। दियाबाट सीता बनिरहँदा चलचित्रको छायांकनस्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन। तर, कठिन हो भन्ने पनि कहिल्यै महसुस भएन।'
मुख्य पात्रहरु देखिने छाेटाे टिजरले सिंगाे फिल्मलाई संक्षेपमा प्रस्तुत गर्न खाेजेकाे संकेत मिल्छ। दृश्यमा मलिन अनुहार लिएर घुम्टो ओडेकी एक अधबैँसे महिलालाई परबाट नदेखिइकनै कसैले सोध्छ- के होला नाम ?
जवाफ : सूर्यबहादुर रोकाया
'मृतक हो कि बेपत्ता हो ?'
झसङ्ग भएकी महिलाको मुखबाट एक शब्द फुत्किन्छ - हँ ? आँखाबाट आँसु बगाइरहेकी उनी हलचन नगरी टक्क उभिइरहन्छिन्।
मन ढकढक हुने गरी बजेकाे धुनसँगै मधुराे दृश्यमा प्रकाश देखिन्छन्। 'प्रकाश' फिल्मकाे प्रकाश पात्रको भूमिकामा छन्, प्रदीप खड्का। जुम्लाकाे चाैधबीस क्षेत्रकाे तिर्खु गाउँ अगाडिकाे सानाे उपत्यकामा ओरालाेमा लास बाेकेर चिहान घाटतर्फ जाँदै गर्दा दृश्य उज्यालिन्छ।
ताला लागेकाे सरकारी कार्यालय, राजकीय सवारी जसरी गजधम्म परि ढिलाे गरी कर्यालय आउने कर्मचारी, उनीहरुकाे आगमनलाई घण्टाैं कुर्ने रैतीजस्ता देखिन्छन्, सुरुकै दृश्यमा देखिएकी महिला र मधुरो उज्यालोमा देखिएका युवक।
'खोइ के भन्ने ? बाउ आउने आशामा बसेको छु, बाउ पनि बाँचेको छ जस्तो लागेन,' पर्दा पछाडिबाट बोलेको सुनिन्छ। 'दुःख गरी–गरिकन पनि पैसा खुवाउनुपर्ने भए हुनु छैन मलाई मास्टरसास्टर' अबेर राति मझेरीमा बसेको प्रकाशले आक्रोश र पीडामिश्रित दु:ख पोख्छ।
'मेरो खेत...' उसकाे वाक्य पूरा हुँदैन। आँखामा आँखा जुधाउन पनि सक्दैन। अगाडि भन्छ,'मेरो मिहिनेत खेर गयो।' याे छाेटाे दृश्यले विकट भूगोलकाे समग्र शिक्षा क्षेत्रमा कसले रजाइँ गरिरहेको छ भनेर प्रष्ट्याएकाे छ।
गाउँमा आउने अधिकारीलाई फूलमाला अविरसहित बाजागाजाले स्वागत गर्नुपर्ने, पञ्चपरिकारयुक्त भाेजन खुवाउपर्ने यथार्थ छुटेकाे दृश्यमा छाेराे मान्छेले मास्टर जागिर खानलाई खेत बेचेर घुस खुवाउनु बाध्यता देखिन्छ। त्यही जागिर दिलाउन बिचाैलीया समेत लागेर घुस बाँडफाँड गर्ने दृश्यले पार्टी प्रवेश गराउने समेतकाे प्रपञ्च छुटाएकाे छ। सँगै त्यही ठाउँमा छाेरी मान्छेले अस्थायी, निजी स्राेत, बाल विकासकी शिक्षिका वा राहत जागिर खान खाेजेकी भए कम्तिमा एक रात जागिर मिलाइदिनेसँग गुजार्नुपर्ने दृश्य समेत छुटेकाे छ, सायद।
झिसमिझे अँध्यारोमा खिचिएको दृश्यमा प्रकाश पुल तरिरहेको बेला नेपथ्यमा उसको आवाज सुनिन्छ, 'बाउ यसैका लागि लडे। बाउको सपनामा टेक्दिनँ अब।' त्यहीबेला बजेकाे गीतले नेपत्थेकाे आवाजलाई ओभरल्याप गर्छ। ऐनामा उनै अधबैँसे महिलाको अनुहार उस्तै मलिन देखिन्छ। ठूलाे आगाेकाे राँकाेसँगै चलचित्र प्रदर्शनीकाे मिति भदाै १० अर्थात् प्रदीपकाे जन्मदिन देखिन्छ। टिजरले हराएको पुरुष प्रकाशको बुवा भएको संकेत गरेको छ। छाेटाे दृश्यले प्रसस्तै काैतुहलता सिर्जना गरेकाे छ।
ट्रिजरसँगै फिल्मका अरु दुईवटा गीत पनि सार्वजनिक भइसकेका छन्। गीतमा देखिने दृश्य र संवादले पनि फिल्मले भूगोल अनुसारको कथावस्तु समेटेका भान हुन्छ। कथा पूरा हुन्छ कि अधुरो ? त्याे फिल्म प्रदर्शनीमा आएपछि मात्रै थाहा हाेला।
टिजर र गीतमा उत्कृष्ट दृश्य देखाएर काफी चर्चा बटुलेकाे फिल्मले दर्शक पाउने दुईमत छैन। समग्र फिल्मकाे प्रस्तुति फिक्का भयाे भने आलोचना पनि स्वभाविक मानिनेछ।
अँध्यारा दृश्य, आरालो यात्रा, अँध्यारो चिर्न नसक्ने राँको, बन्द सरकारी कार्यालय, उज्यालो नेभेटिएको जिन्दगी, उदास ध्वनि र गीत, संवादअनुसारको रङ, लवज तथा भाषामा देखिएकाे सजगताले अँध्यारो समाजमार्फत् प्रकाश छर्न खाजेकाे संकेत मिल्छ। सामाजिक संजालमार्फत् बुटुलेकाे चर्चा फिल्म प्रदर्शनपछि पनि रहिरहनेछ भनि आश गर्ने ठाउँहरु छन् भने भर्जिन भूगाेलका अनगिन्ती कथा खाेजीकाे भाेग समेत जाग्नेमा विश्वास गर्न सकिन्छ।
यही फिल्मका कारण सामाजिक संजालमा प्रदीपले आफूलाई भूगोल अनुसारको पात्रमा ढाल्न सकेकाेमा गर्व गरेका छन् भने कलाकारितालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन्। दृश्यले उनलाई कर्णाली भाेगेमाे पात्रका रुपमा प्रस्तुत गरेकाे छ।
पोस्टर सार्वजनिक गर्दै उनले लेखेका थिए, 'यो चलचित्रमा काम गर्ने क्रममा कला र कलाकारिताप्रति हेर्ने मेरो दृष्टिकोणमा नै परिवर्तन आएको छ। एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त हुन सक्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरु समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौं दिन बिताएको छु।'
उनी अगाडि थप्छन्,'सोही क्रममा एउटा कलाकारले पात्र र कलाकारितालाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैले महसुस गरेको छु।'
सरकारी शिक्षक बन्न संघर्ष गर्ने एक विपन्न युवकको भूमिका र प्रदीपले प्रयाेग गरेकाे शब्दावलीले ताली नै पाउलान् भनेर आशा गर्न सकिन्छ। तर, यसअगाडि उनकाे अभिनय समीक्षककाे आलोचनाबाट बच्न सकेकाे छैन। सुरुवाती प्रशंसा बटुलेका उनले प्रकाशमार्फत् ताली वा गाली के पाउँछन् भदाै १० सम्मका लागि गर्भमै रहन दिउँ।
दियाले टिजरमा नबोलेरै धेरै कुरा भनेकी छन्। तथापि सामाजिक संजालमा भने उनले धेरै कुरा बाेलेकी छिन्। उनले कामप्रति इमान्दार नहुनु र मिहिनेत नगर्नु पात्रलाई गिज्ज्याउनु सरह हाे भन्दै आफ्नाे हक्की स्वभावमार्फत् दर्शकलाई हलसम्म तान्ने प्रयत्न गरेकी छिन्। प्रकाशमा आफूले चरित्र सीताप्रति लगाव प्रस्तुत गरेको र यो गौरव गर्न लायक रहेको उनको भनाइ छ।
'कथा छनोट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी पात्र छनोट र चरित्र निर्माणमा पटक्कै ध्यान दिदैनौं। कहिलेकाहीँ हाम्रा चलचित्रहरुमा महिला पात्र केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रजस्तो मात्र प्रतीत हुन्छ,' उनी भन्छिन्, 'हामी उनीहरुको चारित्रिक विशेषता खोज्नतिर शून्य बराबर नै समय खर्चिने गर्छौं।'
प्रकाशको टिजर हेरेर आफूलाई धेरैले मिठो प्रतिक्रिया दिएको भन्दै उनी अगाडि थप्छिन्,'सिनेमामा आफ्नो कामलाई लिएर अहिले बोल्नु अलि हतारो होला। मात्र यति भन्छु, समय बदलिएको छ र अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिकाद्वारा सिनेमालाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरुलाई सिनेमा आख्यानमा स्थापित गर्न थालिएको महसुस गरेको छु।'
सार्वजनिक भएकाे एउटा गीतमा लाेभलाग्दाे अभिनय पस्किएका जुम्लाका कलाकार गाेविन्द सुनारप्रति उत्तिकै भराेसा छ। आगामी दिनमा उनले फिल्म क्षेत्रमा स्थान पाउने छन् भनी ढुक्क हुन सकिन्छ। फिल्काे कथा र सार्वजनिक भएका केही दृश्यले आञ्चलिकताकाे महत्त्व बुझेका दर्शकलाई हलसम्म पक्कै पनि तान्ने नै छ भने यसले पात्रकाे उमेर समूहभन्दा अलग दर्शक समेत पाउने नै छ।
साविककाे कर्णालीकाे जुम्ला, त्यसमा पनि चाैधबीस क्षेत्रलाई राेजेर छायांकन गरिएकाे फिल्मले खस भाषा र संस्कृतिका कयाैं उज्याला पाटाेलाई अँध्यारा दृश्यमा उतारिएको भान भएकाे छ। तर, पूर्ण समीक्षाका लागि पूरै फिल्म नहेरी यसै भन्न सकिने अवस्था छैन।
च्यारीटी साे नभइकन फिल्म हल नभएकाे कर्णालीका अधिकतम् दर्शकले हेर्न पाउने छैनन्। कर्णाली इतरका दर्शकबाट हुने समीक्षाकै आधारमा फिल्म पूर्ण वा अपूर्ण हुने छैन। जुम्लामा कम्तिमा एउटा च्यारिटी साेकाे अपेक्षा गरिएकाे छ। अहिले त केवल प्रकाशले देखाएकाे अध्याँराे दृश्यमार्फत् समाज उज्यालिएला त! भन्ने काैतुहलता मात्रै छ।