यु-२० पुरुष साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने पहिलो खेलमा आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ। यस्तै, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशबीच भिडन्त हुनेछ।
नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन्। भारतको यो दोस्रो खेल हो। यसअघि बुधबार भएको खेलमा भारत बंगलादेशसँग २–१ अन्तरले पराजित भएको थियो।
यता, श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० र नेपालसँग ३-० अन्तरले पराजित भएको थियो।
यता, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन्। बंगलादेश लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहन्छ। जितसँगै बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल नजिक हुन चाहन्छ। माल्दिभ्स भने पहिलो जित निकाल्ने दाउमा छ। माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४-० अन्तरले पराजित भएको थियो। खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ।
जारी प्रतियोगिता २ खेलबाट समान ६ अंक भएपनि नेपाल गोलअन्तरको आधारमा शीर्षस्थानमा छ भने सामना अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ। यस्तै भारत, माल्दिभ्स र श्रीलंका अंकविहीन छन्। तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
यसअघि यु-१८ र यु-१९ को आधारमा भएको प्रतियोगिता पहिलो पटक यु-२० को आधारमा भएको हो। नेपाल दुई पटकको च्याम्पियन हो भने भारत साविक विजेता हो।