१ लाख ६३ हजार भारतीयले त्यागे नागरिकता

Photo– PTI
Photo– PTI

भारतीय गृह मन्त्रालयका अनुसार सन् २०२१ मा १ लाख ६३ हजार ३७० जनाले भारतीय नागरिकता त्यागेका छन्।

व्यक्तिगत कारण देखाउँदै कैयौं व्यक्तिहरूले नागरिकता त्याग्न बाध्य भएको संसदमा पेस गरिएको एउटा दस्तावेजमा उल्लेख छ।

अमेरिकी नागरिकता प्राप्तिका लागि सबैभन्दा बढी ७८ हजार २८४ जनाले भारतीय नागरिकता त्यागेका छन्। यसपछि २३ हजार ५३३ जनाले अस्ट्रेलियाको नागरिकता लिएका छन् भने २१ हजार ५९७ जनाले क्यानडाको नागरिकता लिएका छन्।

चीनमा बस्ने ३०० जनाले त्यहाँको नागरिकता लिएका छन्। ४१ जना पाकिस्तानी नागरिकता लिनका लागि भारतीय नागरिकता त्यागेका छन्। सन् २०२० मा ८५ हजार २५६ जनाले भारतको नागरिकता त्यागेका छन्।

त्यस्तै, सन् २०१९ मा एक लाख ४४ हजार १७ जनाले दोस्रो मुलुकबाट नागरिकता लिएको बीबीसी हिन्दीले जनाएको छ। सन् २०१५ देखि २०२० सम्म आठ लाखभन्दा बढीले भारतीय नागरिकता त्यागेको अधिकारीहरूले जनाएका छन्।

भारतले नागरिकता त्याग्ने युवा–युवतीहरूको संख्या घटाउनका लागि दोहोरो नागरिकता नियम ल्याउनुपर्ने अमेरिकामा बस्दै आएकी भावनाले बताइन्।

उनी सन् २००३ मा जागिरको सिलसिलामा त्यहाँ गएकी थिइन्। त्यसपछि उनी विवाह गरेर त्यतै बस्न थालिन्।

एउटी छोरी हुर्काइरहेकी उनी सम्भवतः अब भारत फर्किने छैनन्। ‘अमेरिकी जीवन एकदमै सहज छ। जीवनस्तर धेरै राम्रो छ। बच्चाहरूल राम्रोे पढाइमा गर्छन्। उनीहरूले भारतमा भन्दा राम्रो अवसर पनि पाउनेछन्,’ भावनाले भनिन्।

क्यानडामा बस्ने २५ वर्षीय अभिनव आनन्दको विचार पनि भावनासँगै मिल्छ। उनी विगत एक वर्षदेखि अमेरिकी बिलासी जीवन बिताइरहेका छन्। उनीहरू अझैपनि भारतीय राहदानी प्रयोग गर्छन् तर भारतको नागरिकता त्याग्ने अभियानमा छन्।

‘अमेरिकामा काम गर्ने घण्टा तोकिएको छ। कार्यस्थलमा नियम–कानूनको पालना गरिन्छ। जति काम गरियो, त्यसैअनुसार पैँसा पाइन्छ। भारतमा नियम राम्ररी पालना नै हुँदैनन्। त्यसैले म भारत जान्नँ,’ अभिनवले भने।

विगत २२ वर्षदेखि इजरायलमा बस्दैआएका हरेन्द्र मिश्र वरिष्ठ पत्रकार हुन्।

उनी भारतसँग भावनात्मक रूपमा जोडिएकाले यहाँको नागरिकता त्याग्न नसक्ने बताउँछन्। उनकी श्रीमती इजरायलकी हुन्। छोराछोरी उतै जन्मिए र त्यहाँको नागरिकता लिएका छन्। तर भारतीय राहदानीका कारण कैयौं समस्या भएको उनी बताउँछन्।

उदाहरण दिँदै मिश्र भन्छन्, ‘लण्डन जानको लागि भिसा चाहिन्छ। तर इजरायली राहदानी हुँदा बिना भिसा जान पाइन्छ। त्यसैले भिसा लिनको लागि यहाँ अफिस नै छैन। भिसा स्ट्याम्प लिन इस्तानबुल जानुपर्छ। त्यहाँ जानको लागि लागत पनि ठूलो हुन्छ। त्यसैले यी चीजहरूले सताउँछ।’

स्रोतका अनुसार भारतीय राहदानीमार्फत् अहिले भिसा बिना ६० देश जान सकिन्छ।

प्रकाशित मिति: : 2022-07-25 15:05:00

प्रतिकृया दिनुहोस्