सन १९९० को दशकको सुरूवातमा रसिया र अमेरिकाबीचको शीतयुद्ध अन्त्य भएदेखि अहिलेसम्म अमेरिकाको नेतृत्वमा एकल धुर्वीय विश्व रहेको छ। अमेरिकाको त्यो महाशक्ति राष्ट्रको ताज खोस्न आज चीन र रसियाले विश्व राजनीतिको मञ्चमा आफूलाई ससक्त ढंगले अगाडि बढाउँदैछन्। रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले अब विश्व व्यवस्था बदलिएको भनेर पटक–पटक भाषण गरिरहेका छन्। के विश्व व्यवस्था साँच्चिकै बदलिएकै हो ? वा के हुँदैछ विश्वमा।
यो लेख सैद्धान्तिकभन्दा पनि अहिले बिना कारणको युद्धले कसरी साम्राराज्यवादी विश्व व्यवस्थामा असर पार्दैछ भन्ने कोणमा छ। विश्व राजनीतिमा के हुँदैछ भन्ने विषयमा केही जानकारी राखौँ। विश्व कोरोना महामारीबाट तङग्रीन नपाउँदै अहिले महँगिको चपेटामा परिरहेको छ। यसको पछाडिको प्रमुख कारण प्राकृतिक नभएर मानवीय हाे वा युद्ध हो।
विगत ५ महिना अघिदेखि रुस–युक्रेन युद्ध जारी छ। यही युद्धका कारण विश्वमा महङ्गीले आकाश छोएको छ, किनभने रसिया र युक्रेनले पेट्रोलियम र अन्य खाद्यान्नको ठुलो मात्रामा निर्यात गर्ने गर्दथे। आज अमेरिकालगायतका देशहरुले रसियामाथि नाकाबन्दी लगाएको छ। नाकाबन्दीले रुस र युक्रेनमा उत्पादित उपभोग्य वस्तुको निर्यातमा समस्या उत्पन्न भएको कारणले उपभोग्यवस्तुको अभाव भएर मूल्यवृद्धि हुन गएको हो।
सन १९९१ अघि युक्रेन रुसकै भू-भाग थियो। शीतयुद्धकाे अन्त्य सँगै रूसको विघटन भयो र लगत्तै युक्रेन सन १९९१ मा स्वतन्त्र राष्ट्र पुग्यो। रुस र युक्रेनको विवाद सन् २०१३ देखि सुरु हुन थालेको हो। जब युरोपका अन्य २८ वटा देश जस्तै गरी युक्रेनले पनि नेटाे सैन्य संगठनमा सामेल हुन खोज्यो तब रुस युक्रेन विवाद बढ्न थाल्यो। आफ्नाे वरिपरिका सबै युरोपेली देशहरू नेटोमा सहभागी हुँदा रसियाले आफ्नो सुरक्षा चुनौती बढेको ठान्यो। रसियाले छिमेकी युक्रेनलाई नेटो संगठनमा सामेल भएको देख्न चाहदैनथ्यो। तर, युक्रेनले आफ्नाे छिमेकी रसियाको चासोलाई मतलब नै नगरी उसले सैन्य संगठनमा सामेल हुने कुराबाट यूक्रेन अलग हुन चाहेन उसले निरन्तर नेटो सदस्यता प्राप्तिका लागि पहल गरिरह्यो। यो रसियाको चाहनाविपरित थियाे। यसको परिणाम स्वरुप आज युक्रेनमा रसियाले आक्रमण गरिरहेको छ र सिङ्गो विश्वले यो युद्धको परिणाम भोग्नुपरेको छ। रुसले शीतयुद्धको असफलता सँगै आफ्नाे राजनीतिक व्यवस्था, भू-गोल र स्वाभिमान गुमाएको महसुस गरिरहेकै थियो।
यही सिलसिलमा उसले आफ्नाे छिमेकी युक्रेन पनि नेटो संगठनमा सामेल भए झन् खतरा महसुस गर्नु स्वभाविक थियो। रुसले आफ्नो सार्वभौमिकता जोगाउने नाममा युक्रेनमा रूसी सेना पठाएर भौतिक रुपमै युद्धको सुरुवात गर्याे। यो युद्ध भएको आज १ सय ५० दिनभन्दा बढी भइसकेको छ। संयुक्त राष्ट्र सङ्घ (युएन) को स्थापना सन् १९४५ मा भएपछि यसरी अमेरिकाबाहेक कुनै अरु देशले अर्को देशमा गएर सैनिक आक्रमण गर्न सकेका थिएनन्। युएनले जारी गरेको बडापत्रलाई अमेरिका बाहेकका अरु कसैले पनि यसअघि यसरी चुनौती दिएका थिएनन्। यसरी युएनको बडापत्रलाई चुनौती दिनेमा अमेरिकापछि दोस्रो देश रसिया बन्न पुगेको छ। रसियाले आफ्नो सेनालाई अर्को स्वतन्त्र राष्ट्रमा सैनिक हस्तक्षेप गर्न पठायो। यसले के पुष्टि गर्याे भने युएनलगायतका अन्तर्राष्ट्रिय संस्थाहरू स्वतन्त्र राष्ट्रहरूको संप्रभुसत्ता जोगाउन असफल भइसकेका त होइनन् ? लिग अफ नेसनन्स जस्तै युएनको भूमिका पनि कमजोर भएको त होइन ? भन्ने प्रश्न अर्कातिर उब्जेको छ।
अब विश्वमा शान्ति कायम गर्न कसरी सम्भव हुन्छ होला ? विश्वमा के युद्ध अपरिहार्य भइसकेको हो त ? वा तेस्रो विश्वयुद्धको तयारीमा विश्व गइसकेको हो ? आजको विश्वसामु यी र यस्ता प्रश्न गम्भीर भएर अगाडि आएका छन। कि भौतिक युद्धबाट मात्रै अब देशहरु अगाडि बढ्छन् त ? के आफ्नो कुटनैतिक रणकौशलताका साथ विश्वमा मडारिरहेको युद्धको कालो बादल हटाउन अब शक्ति राष्ट्रहरु असफल भएकै हुन् ? यी तथ्यहरुमा समय अगाबै कसैले पनि केही भन्न सक्दैनन होला ? तर यथार्थता के हो भने अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिकले विश्वमा आफ्नो सैन्य दबदबा कायम राखिराख्न चाहन्थ्यो र चाहन्छ। त्यसलाई अस्वीकार गर्दै रसिया, चीन, इरान, उत्तर कोरिया लगायतका देशहरु आज विश्वमा आफ्नाे शक्ति प्रदर्शन गर्नका लागि तयारी अवस्थामा रहेका छन्। शक्ति टकरावको अवस्थाले यो संकेत गर्दैछ कि अबको विश्व कता ? के अब नियमितभन्दा फरक तरिकाले विश्व अगाडि बढ्दै छ। यसको निकास शान्ति वा द्वन्द्ध के ? विश्व अब कुन रूपले अगाडि बढ्छ ? त्यो त समयले नै बताउला। तर, यथार्थता यो हो कि अहिले रसियाले युक्रेनमा आफ्नो सेना पठाएर युद्ध गरिरहेको छ। यसको अर्थ हुन्छ अब हिजोको जस्तो बिना सैनिक वा कुटनैतिक तरिकाले वा शीतयुद्धको माध्यमबाट राष्ट्रहरुले एकअर्कालाई पराजित गर्न सक्ने अवस्थामा छैनन्।
अबका दिनमा शक्ति राष्ट्रहरुले आफ्नो प्रभुत्व कायम गर्न उनीहरुले युद्ध नै गर्छन् त ? यदि अबको विकल्प नै युद्ध हो भने अबको युद्ध कति भयावह होला भन्ने कुरा अल्बर्ट आइन्स्टाइनको भनाइबाटै थाहा हुन्छ। उनले भनेका थिए– यदि तेस्रो विश्व युद्ध भयो भने कस्ता हतियार प्रयोग हुन्छन् मलाई थाहा छैन तर चौंथो विश्वयुद्धमा ढुंगामुढाका हतियारहरुको प्रयोग हुने छन्।
यसको मतलब अब विश्व युद्ध हुने हो भने सारा संसार नै ध्वस्त हुनेछ र मानव सभ्यता नै नयाँ शिराबाट सुरु भई मानवले पुनः जङगली युगबाट आफ्नो यात्रा प्रारम्भ गर्ने छन्। त्यसैले आज विश्व मानव जातिले विश्वलाई युद्धको विभिषिकामा जानबाट जसरी पनि रोक्नुपर्दछ। तर, बिडम्बना युद्ध अवश्यम्भावी भएर आज विश्वजगतका सामु खडा भएको छ। हामीले प्रथम र द्धितीय विश्वयुद्धका पछाडिका कारणहरु जस्तै अहिले पनि विश्वमा आर्थिक कारण र शक्ति राष्ट्रहरूमा जागेको चरम राष्ट्रवादले अबको विश्वलाई विश्वयुद्धको दिशामा अगाडि बढाइरहेको देखाउँछ।
अहिले एकातिर घोषित नेटो सैनिक संगठन छ। अर्कातिर झन खतरनाक एकताका साथ चीन, रसिया, इरान, उत्तर कोरिया लगायतका देशहरु अगाडि आइरहेका छन्। आज एक्लै रसियाले आर्थिकरुपमा पश्चिमा देशहरु र उसका पक्षराष्ट्रहरुलाई हायलकायल बनाइरहेको छ। नेटो सैन्य सम्बन्ध देशहरूले रसियालाई नाकाबन्दी लगाइरहेका छन्। तर, यो नाकाबन्दीको हतियार उल्टो पड्केको छ। यसको असर विश्वमा भइरहेको पेट्रोलियम पदार्थको चरम महंगी, खाद्यान्नमा भइरहेको महंगी, महंगीले विश्वका जनताको क्रयशक्तिमा ह्रास ल्याएको छ। आज विश्वका आधा जति उपभोक्ताहरुले पेट्रोलियम पदार्थको खरिद गर्नै छोडेका छन्। आज श्रीलंकाका जनताले प्रत्यक्ष भोगिरहेको पीडा यसको उदाहरणको रुपमा लिन सकिन्छ।
आज अन्तर्राष्ट्रिय मिडियाहरुमा युद्ध रसिया–युक्रेनबीच भएको बताए पनि युद्ध रसिया र अमेरिकाबीच भइरहेको कुरा सबैले भनिरहेका छन्। आज युक्रेनी जनतालाई बलिको बोका बनाएर अमेरिकी हतियार र आर्थिक सहयोगमा युक्रेनी सेना र जनतालाई रसियाको विरुद्ध युद्ध लड्न विवश बनाइएको छ। रसियाले पनि मुसा खेलाए झैं युक्रेनी जनतालाई दुःख दिइरहेको छ। तर, दुई महाशक्ति राष्ट्रहरुले एकअर्कालाई प्रत्यक्ष आक्रमण गर्न सकिरहेका छैनन्। यस्तो गर्न नसक्नुका पछाडिको कारण रुस र अमेरिका दुवैलाई राम्ररी थाहा छ। एकले अर्कालाई प्रत्यक्ष आक्रमण गर्न नसक्नुका पछाडिको कारण एउटै के हो भने यदि आक्रमण भयो भने दुवै शक्ति राष्ट्र मात्र नभई सारा विश्व जगतकै भविष्य ध्वस्त हुने हो कि ? भन्ने प्रश्नले नै दुवैले प्रतक्ष युद्ध गर्न डराएका छन्। कारण आज युद्ध जित/हारको दिशाभन्दा पनि फरक ढंगले अगाडि बढिरहेको छ।
रुस–युक्रेन युद्धबाट रुस फरक ढंगले उत्साहित भइरहेको छ। रुस विश्वमा अब आर्थिक र सैन्य दुवै रुपले आफू महाशक्ति बनिसकेको बताउँदैछ। उसले भनिरहेको छ कि अब विश्व व्यवस्था बदलिसक्यो। अब रसियाले म पनि महाशक्ति भनेर भन्न थालेको छ। अब अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व समाप्त भएको ठान्दा हुन्छ भनेर भन्दैछ, रसिया। अमेरिका त्यतिकैमा आफ्नो क्षमता र शक्तिमा प्रश्न उठाउने को हो ? भनेर भनिरहेको छ। यसरी शीतयुद्धबाट कमजोर र थिलाे–थिलो बनेको रसियाले आफूलाई महाशक्तिको रूपमा पुन: उदय गराइसक्यो र विश्वमा उसले आफ्नो आर्थिक र सैनिक क्षमतालाई महाशक्तिको रूपमा उभ्याइसक्यो। रसिया दोस्रो विश्वयुद्धपश्चातको शक्तिशाली रसियाका रुपमा रुपान्तरण भइसक्यो भन्दैछ। उता अर्कापट्टि सदाबहार महाशक्ति बनिरहेको अमेरिका आज एकपछि अर्को रुपमा आफ्ना चालेका रणनैतिकचालहरुमा एकपछि अर्को गर्दै असफल भइरहेको छ र टुलुटुलु हेरेर बस्न बाध्य छ। उसले रसियामा गरेको नाकाबन्दी उसकै लागि प्रत्युत्पादक सावित भएको छ।
अहिले अमेरिकामै महंगीले आकाश छोएको छ। आज इयुका राष्ट्रहरुमा रसियाले पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्नलगायतका चिजहरूको निर्यातमा कमी ल्याएको छ। जसका कारण युरोप महंगीको मारबाट गुज्रिँदै छ। अब युरोपमा चिसो बढ्न थालेसँगै यदि ग्यासको अभाव हुने हो भने चिसोमा युरोपेली जनता युरोपेली सशाकहरुकाविरुद्ध सडकमा नआउलान् भन्न सकिन्न। क्यानडाले रसियामा नाकाबन्दी लगाउन प्रत्युत्पादक भयो भनेर नाकाबन्दी लाउन नसकिने भन्दै छ। युरोपियनहरु रसियाबाट भारतले किनेको पेट्रोलियम पदार्थ खरिद गरिरहेका छन्। अहिलेसम्म सैनिकरुपले एक्लै लडिँरहेको रसियालाई इरानले ड्रोन दिएर हतियार सहायता दिन थालेको छ। यसबाट के देखिन्छ भने अब प्रत्यक्ष रुपले रुस युक्रेन बिचको युद्ध अप्रत्यक्ष रुपले बहुराष्ट्र सम्मिलित युद्ध बन्न पुगेको छ। अहिले झन एक कदम अगाडि बढेर रसियामा अमेरिका विरोधी प्रदर्शन सुरु हुन थालेका देखिन्छन्। जस्तो कि अमेरिकाको सबैभन्दा ठुलो राज्य अलास्का जसलाई मार्च ३०, १८६७ मा रसियाले अमेरिकालाई बिक्री गरेको थियो, त्यो हाम्रो हो भनेर रसियनहरुले भन्न थालेका छन्। अमेरिकाको अलास्का राज्यको बारेमा रसियामा प्रदर्शन भएको देख्न सकिन्छ। यसले अबको विश्व कता भन्ने ? भयानक स्थितिको तस्विर अगाडि ल्याईदिएको छ।
यही सन्दर्भमा हामीले हाम्रो देश नेपालको स्थितीलाई कसरी अन्तर्राष्ट्रिय राजनीतिमा अगाडि बढाउन सक्छौं ? भन्ने विषयमा हामीले ध्यान पुर्याउन सक्नुपर्दछ। यदि हामीले अबको विश्व राजनीतिमा हाम्रो भूमिकाको बारेमा ध्यान दिनसकेनौँ भने हामीले पनि आउँदै गरेको भयावह परीणाम भोग्नुपर्ने हुनसक्छ। त्यसैले त्यो खतराबाट जोगिन नेपालले अन्तर्राष्ट्रिय राजनीतिमा कसरी भूमिका खेल्न सक्ला भन्ने विषयमा सघन बहसको खाँचो छ। हामीले हिजोका दिनमा जे जसरी भूमिका निभाएर आयौँ, अब हिजोको जस्तो अपरिपक्व भएर अगाडि बढ्न सक्दैनौं। जस्तो हामिले युएनको मञ्चको प्रयोग गर्दा र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुको प्रयोग गर्दा पनि सावधानी अपनाउन जरुरी छ। युद्धमा जे पनि जायज हुन्छ भनिन्छ। तर, हामीले कसैको पक्ष वा विपक्षमा लाग्ने काम अन्जानमै पनि गर्नु हुँदैन।
हिजोका दिनमा अमेरिकासँग नजिक रहेको हाम्रो छिमेकी देश भारत आज तटस्थ छ। ऊ आज आफ्नै किसिमले आफ्नो स्वार्थ मात्र हेरिरहेकोछ। भारतले रसिया–युक्रेन युद्धको मतलब नै नगरी यसबाट फाइदा लिइरहेको छ। जस्तो अहिले कच्चा तेलको प्रतिब्यारेल मूल्य १ सय २० डलरभन्दा माथि रहेको बेला भारतले रसियाबाट प्रतिब्यारेल ८० डलरका दरले खरिद गरी अन्तर्राष्ट्रिय बजारको भाउमा युरोपलगायत हामीलाई पनि अन्तर्राष्ट्रिय बजारकै भाउमा पेट्राेलियम पदार्थ बेचिरहेको छ। अरु सारा विश्व महंगाहीले हायल कायल छ भने चीन र भारतले पेट्रोलियम पदार्थको बिक्रीबाट नाफा कमाइरहेका छन्। भारतलाई आज आफ्नो अर्थतन्त्र सवलीकरण गर्न र अन्तर्राष्ट्रिय बजार र व्यापारमा बिआरआइसीएसको संगठनमार्फत् भारतीय मुद्रा चलाउन पहल गरिरहेको छ। भन्न खोजेको सबैले आ–आफ्ना फाइदा मात्र हेरिरहेका छन्।
अर्कातिर चीनले आफ्नै भूमिका निभाइरहेको छ। जो विश्वलाई जगजाहेर छ। यस पृष्ठभूमिमा हामी कसरी अगाडि बढ्न सक्छौं ? भन्ने विषय नै आज बहसको गम्भीर विषय हो। हामीले हाम्रो संविधानले निर्देशित गरेको संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशिलकाे सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा हाम्रो राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति संचालन गर्न ध्यान दिनुपर्दछ। अन्तर्राष्ट्रिय राजनीतिको रंगमञ्चमा के चलिरहेको छ र के हुँदैछ भन्ने कुराबाट हामी अलग भएर रहन सक्दैनौं। जस्तो कोरोनाबाट सारा विश्व नै प्रभावित भयो र हामी पनि प्रभावित भयौं। अहिले महंगीको मारमा हामी सबै परेका छौं। कथमकदाचित विश्वमा युद्ध भइहाले पनि हामी कसरी सुरक्षित रहन सक्छौं भन्ने नै हाम्रो चासोको मुख्य विषय हो। यसका लागि हामीले अपनाउने उपाय नै हाम्रा मुख्य सुरक्षाका साधन हुन्।
हामी आर्थिकलगायत हरेक रुपले पूरै परनिर्भर छौं। विश्व समुदायसँग हाम्रा थुप्रै आशा, भरोसा र अपेक्षा छन्। हाम्रा आफ्नै बाध्यता र पीडा छन्। अहिलेको एक्काइशौँ शताब्दीमा पनि हामी गरिबी र पछौटेपनसँग जुधिरहेका छौं। यसको निराकरणका लागि हामीलाई विश्व समुदायको सहयोगको अपरिहार्य खाँचो छ। यसका लागि हामीले आर्थिक रुपमा आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्नुपर्दछ। हामी कृषिजन्य, वनजन्य र पशुजन्य वस्तुहरुमा आत्मनिर्भर बन्न सक्छौं। यसमा देखिएका बाधा, अप्ठ्यारा र समस्याहरुलाई समाधान गर्न सकिन्छ र सक्नुपर्दछ। यसको लागि हामीले यी क्षेत्रहरु प्राथमिकतामा राखी स्वदेशमै उद्योगधन्दा स्थापना गरी रोजगारी सिर्जना गर्नुपर्दछ। सामाजिक सेवाका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटनमा हामी सक्षम र सबल बन्न सक्नुपर्दछ। यसको लागि हामीले ठोस योजना बनाई ती योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ। व्यापारको क्षेत्रमा हामीले हाम्रो उत्पादन बढाएर बैदेशिक आयातलाई कम गर्न सक्छौं।
यसले हामी आन्तरिक रुपमा आर्थिक रुपले सबल बन्न सक्छौं। हामी पेट्रोलियम पदार्थमा चाहेर पनि आत्मनिर्भर बन्न सक्दैनौं। यसको विकल्प हामीसँग विद्युतीय उर्जा छ। विद्युतीय ऊर्जाका पूर्वाधार विकास गरी पेट्रोलियम पदार्थलाई विस्थापन गर्न सक्छौं। कुरा रह्यो भूपरिवेष्ठितताको यो हाम्रो अकाट्य सत्य हो, यसलाई हामीले अवसर र वरदानका रुपमा लिनुपर्छ न कि समस्याका रूपमा, किनकि हामी जे गरे पनि समुद्रबेष्टित हुन सक्दैनौं। यसको लागि हाम्रा दुई विशाल छिमेकी राष्ट्रहरुसँगको समदुरीकाे सिद्धान्तका आधारमा आफ्नो नीति तय गरी यी दुवै छिमेकीसँग समानताका आधारमा सुमधुर सम्बन्ध कायम राख्नुपर्दछ। यसको लागि हामीले यी दुवै छिमेकीका हामीप्रतिका उनीहरुका जायज चासोहरुलाई हामीले सम्बोधन गरिदिनुपर्छ। नाजायज चासो छन् भने नहिचकिचाई सरी ल भन्न सक्नुपर्छ। उनीहरुमध्ये कसैसँग अलि बढी नजिक भएर अर्कोलाई झुक्याउने भूल कहिल्यै जानेर वा नजानेर गर्नुहुँदैन।
हामीले आफ्नो देशलाई आर्थिक रुपमा सबल बनाउन बरु दुवै देशको विशाल बजारको उपयोग गर्ने गरी व्यापार गर्ने क्षमता विकास गर्नुपर्दछ। हामीले उनीहरूका अवाञ्छित चासोहरुमा फस्नु हुँदैन। हामीले नयाँ संविधानको माध्यमबाट आफ्नै राजनीतिक व्यवस्थाको सुरुवात गरेका छौं। अहिलेलाई अन्तर्राष्ट्रिय जगतले स्वीकारेको हाम्रो राजनीतिक व्यवस्थालाई हामीले व्यवस्थित गरेर अगाडि समाजवाद उन्मुख व्यवस्थामा लैजानुपर्दछ। हामीले शक्तिराष्ट्रहरूको गठबन्धनमा सामेल हुने गल्ती कहिल्यै गर्नु हुँदैन, किनकि हामीले अहिले जनतालाई सिमित राजनीतिक अधिकार मात्र प्रदान गर्न सकेका छौं। हामी आर्थिकरुपले विपन्न र अविकसित अवस्थामै छौं, त्यसैले पहिला हामीले राष्ट्रियरुपमा आर्थिक सम्पन्नता कोबाटोमा जानुपर्ने हुन्छ। यसका लागि सम्पूर्ण मित्र राष्ट्रहरुसँग मित्रताको सम्बन्ध कायम राख्नुपर्दछ। हाम्रा लागि कोही मित्र र कोही शत्रु छैनन् विश्वका सबै राष्ट्र हाम्रा असल मित्र हुन्।
हामीले सबै मित्रराष्ट्रहरुप्रति समान व्यवहार गर्न सक्नुपर्दछ र यसको माध्यमबाट मित्र राष्ट्रहरुसँग आर्थिक सहयोग बाहेकको अन्य सहयोग नलिन हुन्छ नदिनु नै हामीले विश्व समुदायलाई आग्रह गर्ने भनेकै आर्थिक सहायताका लागि हो। हामीले बदलामा दिने भनेकै न्यानो आत्मीयता, मानवीयता, बन्धुत्व र विश्वशान्तीको सन्देश हो। यसका अलावा कसले के गर्छ, कसले कस्तो कस्तो सैन्य वा अन्य यस्तै गठबन्धन गर्छ। त्यसमा हामीले चासो राख्नुहुँदैन। हामीले यसका लागि राष्ट्रिय रुपमै सहमति गरी प्रष्ट रुपले विदेश नीतिको निर्माण गर्न सक्नुपर्दछ, नेपालको जुन परराष्ट्र नीति हो, त्यसलाई नै हामी सबैले मान्नुपर्छ र त्यो नै प्रत्येक नेपालीको परराष्ट्र नीति बन्न सक्नुपर्दछ। कुनै फलानो जातिको फलानो नीति, फलानो पार्टीको फलानो नीति भनेर राष्ट्रहरुसँग फरक–फरक तरिकाले विदेश मामिलाका विषयमा कसैले पनि फरक तरिकाले डिल गर्नुहुन्न। हामीले हाम्रो विदेश नीतिलाई प्रष्ट पार्दै प्राथमिकता तय गर्नुपर्दछ। देशको राष्ट्रिय हितलाई शिरोधार्य गरी राष्ट्रिय एकताका साथ विदेश नीति तय गरिनुपर्दछ। प्रष्ट रुपले असंलग्नता र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै, समान सम्प्रभुताका आधारमा हामीले हाम्रा मित्र राष्ट्रहरुसँग समान व्यवहार प्रदर्शन गर्न सक्नुपर्दछ।
हामीले अहिले जुन क्रियाकलाप गरिरहेका छौं, यी र यस्ता क्रियकलाप बन्द गरिनुपर्दछ। जस्तो कि एमसीसी, एसपीपी सम्झौता, बिआरआई सम्झौता र विगतमा भएका असमान सन्धी सम्झौताहरुलाई प्रश्रय दिने कुरा वा कुनै शक्ति राष्ट्रसँग पक्षधरता देखाएर अर्को राष्ट्रलाई चिढाउने कुरा आदि। यसले हामीलाई भड्खालोमा पुर्याउँछ। राष्ट्रिय राजनीतिमा कसैलाई नजिक ल्याउने र कसैलाई मतलब नगर्ने यस्ता कृयाकलापहरूले हामीलाई असर पारिरहेको हुन्छ। त्यसैले हामीले अहिले उतारचढाव व्यहोरिरहेका राष्ट्रहरुप्रति तटस्थता प्रदर्शन गर्न सक्नुपर्दछ। यसका लागि हामीले सक्षम र राष्ट्रियहित अनुकूल हुनेगरी कुटनैतिक चातुर्यता प्रदर्शन गर्न सक्नुपर्दछ। यसमै हाम्रो राष्ट्रियहित हुनेछ। युद्धको आततायी सोचको अन्त्य होस्, हरेक खाले युद्धको विरोध गरौं। विश्व शान्ति कायम गर्न बुद्धको देशबाट विश्व शान्तिको सन्देश फैलाऔं र विश्वशान्तिको कामना गरौं।