महालेखा २०७९ को प्रतिवेदनले पनि फेवा मुहान बनाइएका सिल्ट्रेसन ड्याम कमसल भएको ठहर गरेको छ।
महालेखा परीक्षकको उन्साठिऔं वार्षिक प्रतिवेदनले फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्तिका कारणले नभइ कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो।
मुहानमा वर्षेनी बगेर आउने गेग्रान छेक्न पोखरा महानगरले सिल्ट्रेसन ड्यामको निर्माण गरेको थियो। त्यसरी वर्षेनी थुप्रिन आउने गेग्रानले फेवातालको आकार साँघुरिएपछि तालको संरक्षणका लागि पोखरा महानगरपालिकाले २८ करोड रुपैयाँ खर्चेर ड्याम निर्माण गरेको थियो। तर, फेवाताल बचाउन बनाइएको ड्याम नै कमसल भएपछि हर्पन खोलामा बनेको ड्याम भत्केर निर्माण सकिएको वर्षदिन पनि नबित्दै खण्डहर बन्न पुगेको थियो। हर्पन, लौरुक, बेत्यानी र लौरुक खोलामा बनेका ड्याममध्ये हर्पनको ड्याम वर्षदिन नपुग्दै भत्किएको थियो।
ड्याम निर्माण गरेर तालमा सोझै मिसिने ढुंगा, गिटी छेकेपछि तालको संरक्षण पनि हुने, ड्याममा थुप्रिने ढुंगा, गिटी बेचेर महानगरलाई आम्दानी पनि हुने उद्देश्य राखेर महानगरले ड्याम बनाएको थियो।
फेवा सिल्ट्रेसन प्रा.लि. नामक कम्पनीलाई २४ वर्षको लागि उक्त ड्याम ठेक्कामा दिइएको छ। कमसल निर्माण भएको भन्दै सुरुवातदेखि नै विवादित ड्यामलाई पुन: निर्माणका लागि ५४ करोड रुपैयाँको स्टिमेट निकालेर कम्पनीले महानगरमा बुझाएको छ।
महालेखाको प्रतिवेदनले ड्याम निर्माण गर्दा गुणस्तर निर्माणमा ध्यान नदिएको उल्लेख छ। २८ करोड १९ लाख ८६ हजार रुपैयाँ लागतमा बनेको ड्याम कुनै उपयोग बिना फेरि सुरुवातबाटै निर्माण गर्नुपर्ने छ।
निर्माणकै क्रममा विवादित ड्याम अध्ययनका लागि गण्डकी प्रदेश सरकारले अध्ययन समिति पनि बनाएको थियो। ‘फेवा सिल्ट्रेसन ड्याम समस्या र न्यूनीकरण’ नामको उक्त प्रतिवेदनले निर्माणमै गम्भीर त्रुटि भएको औँल्याएको थियो।
महालेखाको २०७९ को प्रतिवेदनले पनि ड्याम निर्माणको क्रममा गुणस्तरीय काम गर्नुपर्नेमा महानगरले ध्यान नदिएको बताएको छ।