शिक्षण पेसा आफ्नो अन्तिम विकल्प मानेर काम गर्ने अधिकांश मानिस भेटिरहन्छु, म। अपवादमा मात्रै केही मानिस शिक्षण पेसा नै पहिलो लक्ष्य हो, भन्छन्। उसो त शिक्षण पेसा राम्रो हो तर पनि मिल्छ भने अरु नै काम खोज्नु निजामतीको लागि पढ्नु, अरु क्षेत्रतिर जानु इत्यादि भन्ने दिनमा ३/४ जनासँग ठोकिन्छु। हरेक बुबा-आमा ठुलो भएर म मेरो बच्चालाई डाक्टर, पाइलट, इन्जिनियर, वकिल वा समग्रमा ठुलो मानिस बनाउछु/बन्, भन्छन्। तर, शिक्षक बनाउँछु/बन् कहिल्यै भन्दैनन्।
शिक्षण पेसा गर्ने भनेको सरकारी विद्यालय पढेको व्यक्ति जो कक्षाकाे ‘ब्याकबेन्चर’ (कक्षा काेठमा प्राय: पछाडि बस्ने विद्यार्थी) हो, जो परीक्षामा ठिकठाकै नम्बर ल्याउँछ। शिक्षकको पढ्ने विद्यार्थीहरूकाे सूचीमा नपर्ने अझ ऊ मध्यम वर्गीय परिवारमा पर्छ। उसको विकल्प भनेको जागिर हो, सबैतिर कोसिस गर्ने अनि अन्तिमको विकल्प ठिक छ शिक्षकतिर ‘ट्राइ’ गरिदिउँ न त भन्ने हुन्छ। राम्रो अंक ल्याएका कुनै पनि विद्यार्थी शिक्षक बन्छु भन्दैनन् र बन्दैनन् पनि। अरु विषय पढेर यत्तिकै बस्छन् तर शिक्षक बन्नुपर्छ भन्ने स्वीकार गर्दैनन्। किनकी त्यो उनीहरुको लक्ष्य हाेइन।
हाम्रो समाज पनि हामीलाई त्यहीँ कुरा सिकाउँदै ठुलो बनाउँछ, जस्ताे कि नानी ठुलो भएर डाक्टर बन्नु, नर्स बन्नु, पाइलट बन्नु...। शिक्षक बन्नु त खै कसैले भन्दैन किन हो ? अझ आश्चर्यको कुरा त यहाँ छ जब शिक्षक नै पनि आफ्नो बच्चालाई ठुलो भएर शिक्षक बन्नुपर्छ कहिल्यै भन्दैन। हाम्रो लक्ष्य संसारको ठुला–ठुला काम गर्ने व्यक्ति बन्नु हो अनि शिक्षण पेसा त्यो ठुला काम गर्ने व्यक्तिमा पर्दैन।
हामीले चिनेको शिक्षक त्यो हो जो बिहान १० बजेपछि कक्षामा आएर हामीलाई जीवन पढाउँछ तर आफू पढाउँदैन। ठुलो लक्ष्य राख्न सिकाउँछ तर त्यो लक्ष्य शिक्षकको राख्न ऊ सिकाउँदैन। बिहान बेलुका पढ्–पढ् भनेर किताबभित्र कैद गरिदिन्छ। दिनकै त्यहीँ किताब त्यहीँ शिक्षक कहिले ४ बज्छ ? कहिले शनिबार आउँछ ? कहिले चाडपर्व वा जाडो महिना, वर्षातको महिना आउँछ ताकि बिदा होस् भन्ने मात्र हुन्छ।
‘कति बोरिङ हुन्छ यो टिचरको लेक्चर यार यो नआए पनि हुन्थ्यो।’ ‘क्लासमा हल्ला पनि गर्न दिँदैन कत्ति सिकाएको पढ्नुपर्छ भनेर छ्या हामीलाई चाहिँ था नभए जस्तो।’ ‘कतै नभएको अनुशासनको ज्ञान त्यही सँग मात्र छ है स्कुलमा जतिबेला पनि सिकाइरहन्छ, खुब जान्ने भको’ ‘जम्मा पढेर नआउँदा पनि कत्ति कुट्छ/कुट्छे त्यो शिक्षक/शिक्षिका ले धेरै पढेर हात्ती ठुलो भको होर ?’ ‘त्यसको नियम सुनेको छस् नि बाफ्रे ! हिटलरको शासन जस्तो, हाम्रो जीवन हाम्रो मर्जी हो नी। अहिले नरमाए कहिले रमाउने’ इत्यादि। अझ धेरै कुराहरू हुन्छन् र हामी पनि यस्तै यस्तै भन्दै ठुलो भएका हौँ खास गरी 'टिनेजर्स'मा यस्तो कुरा बढी बोलिन्छ र सुनिन्छ। त्यहीँ विद्यालय र शिक्षकले १ कक्षादेखि राम्रो पढ्नुपर्छ भनेर सिकाउँछन् १० कक्षामा पुग्दा त्यहीँ विद्यार्थीहरू त्यो शिक्षकको र त्यो विद्यालयको अब मुख पनि हेर्न नपरे हुन्थ्यो भन्छन्,‘बाहिर पढ्न जाउ न मात्र यो विद्यालय फर्केर आउदिनँ,’ ‘पढेर एकदिन ठुलो मान्छे बनौं न मात्र म त्यो मास्टरलाई फर्केर हेर्दिनँ।’ अनि पढ्नुपर्छ राम्रो पढ्नुपर्छ भनेर सिकाएको कसले ? यहाँ भन्दा पनि बाहिर ठुलो संसार छ गएर बुझ भनेर सिकाएको कसले ? ठुलो मान्छे बन्नुपर्छ भनेर सिकाएको कसले ? त्यहीँ विद्यालय र त्यहीँ शिक्षकले हाेइन ? यतिसम्म जान्ने हामी कहिले भयौं, जन्मिदै त पक्कै यस्तो थिएनौं होला।
यहाँ म केही आफ्नो कुरा जोड्छु। म मेरै उमेर समूहको वा अलिक सानो उमेरको विद्यार्थी साथीहरू जो म भन्दा अलिक सानो कक्षामा पढ्छन् उनीहरुलाई ‘अब अलिक ठुलो क्लासमा गएपछि पढ्न पाइदैन, जिम्मेवारी बढ्छ, खर्च बढ्छ, मेहनत बढ्छ, अहिलेदेखि नै बेस् बनाउँदै लैजानुपर्छ, शिक्षक यसरी पढ् न भन्दै तिमीहरूलाई खोज्दै आएर पढाउनु हुँदैन,’ यस्तै.. यस्तै.. र अन्त्यमा ‘नपढी चाहिँ हुँदैन है, पढाइ नबिगार, नछोड पढ्न वा राम्रोसँग पढ है ?’ भनिरहन्छु। उनीहरू जवाफ दिन्छन् कि ‘पढ्न चाहिँ तपाईंले सिकाउनु पर्दैन के मिस !’ अनि अहिलेसम्म पढेको के त ? अहो ! म छक्क पर्छु कि हामीलाई के सिकाइयो ? हामी के सिकाउँदैछौँ ? आउँदो पुस्ता के सिक्दैछ ? यहीँ हो नैतिकता ? हो कि हामी पनि शिक्षकलाई खासै राम्रो गर्दैन थियौँ तर राम्रो गर्दै नगर्ने भन्ने हुँदैन थियो। शिक्षक भनेपछि डर चाहिँ लाग्थ्यो, इज्जत चाहिँ गर्नुपर्छ भन्ने ज्ञान हामीमा थियो, हाँसम्म मलाई लाग्छ। तर, पनि धेरै जना शिक्षकको मन दुखाएको छु, मैले मेरो बाल्यकालमा। यसको हिसाब र पश्चताप छ, मलाई।
गुरु पूर्णिमाको दिन जुन मन छुने स्टाटसले सामाजिक सञ्जालमा भर्ने जो विद्यार्थी छन्, सबै भन्दिनँ तर धेरै विद्यार्थीहरू न त हिजो न त आज कहिले पनि शिक्षकको सम्मान गर्दैनन्। शिक्षक नै पनि आफूलाई पढाउने पुरानो शिक्षकलाई कमले मात्र सम्मान गरिरहेको हुन्छन्। कारण, हामीले हरेक शिक्षा हासिल गर्यौं, उपाधि जित्यौं तर नैतिक शिक्षा सिकेनौं र सिकाएनौं पनि।
हाम्रो शिक्षकले कहिले पनि हाम्रो लागि नराम्रो होस् भन्ने चाहेनन्। अपवादमा हिजो-आज केही सुन्न नसक्ने नराम्रो समाचारहरू आउँछन्, जसले यो सोच्न बाध्य बनाउँछ कि यस्तो बनाउनुमा कसको हात छ ? परिवार, समाज र शिक्षाको त हो नि हाेइन ? हामीले नै नैतिक शिक्षा दिन सकेनौं, हामीले नै उसलाई नकारात्मक सोचले ग्रस्त भएको मानव निर्माण गरेको हौ नि हाेइन र ?
धेरै दोष शिक्षकको पनि छ कि शिक्षकले विद्यार्थीलाई जहिल्यै पढ्नुपर्छ भन्ने दबाब मात्र दिएको हो। सबै पुस्तक बोकेर विद्यालय आउन समेत धौ–धौ पर्ने ती पुस्तकहरूको थुप्रोलाई सधै झोलामा मात्र समेट्न सिकाएको हौँ कि दिमागमा समेट्न सिकायौँ। विद्यार्थी शनिबार बाहेक हरेक दिन अधिकांश समय विद्यालयमा बिताउँछन् भने उनीहरुलाई राम्रो नागरिक बनाउन नसक्नुमा थोरै कमजोरी अभिभावकको हो भने केही कमजोरी शिक्षकको पनि हो। विद्यार्थीलाई पढ्नुपर्छ भन्ने ज्ञान त दियौँ तर सिक्नुपर्छ र जान्नुपर्छ भन्ने ज्ञान दिन नसक्नुमा गल्ती शिक्षकको हो। हिजोको दिनमा हामीलाई र आजको दिनमा हामी शिक्षकहरूले विद्यार्थीलाई यो विद्यालयभन्दा बाहिर पनि संसार छ, त्यसमा पनि प्रवेश गर/सामेल हौँ, यो पुस्तकभन्दा बाहिर पनि ज्ञानसागर छ, त्यसलाई पनि अध्ययन गर भन्ने पाठ पढाउन छुटायौँ कि। हामीले सधैं शिक्षक केन्द्रित शिक्षण गरेको छौँ, विद्यार्थी केन्द्रित शिक्षण ? सबै भन्दिनँ तर हामी धेरै शिक्षकहरूको शिक्षणमा नहुन सक्छ।
हामीले विद्यार्थीहरूलाई अनुशासनको डोरीले बाँधेर पढ्नैपर्छ भन्ने नियमका धारा उपधाराहरूले स्वीकार्न लगाउँदै, विवशताको कठघरामा उभाइ, जान्न नसक्नु नै तिम्रो हार हो भन्ने रट रटाएर बाल मस्तिष्कलाई हारको फन्दामा नकारात्मक ऊर्जाद्वारा फाँसी दिने सजायको आव्हान गरिरहेको छौँ। उसलाई पढ्न मन लाग्दैन तर मन लाग्ने कुरा के हो त्यो कुरा ऊ भित्रको प्रतिभालाई हामीले कहिले चिन्न प्रयत्न गर्यौं र ? यो त शिक्षा दिने नाममा विद्यार्थीमाथि भएको अत्याचार हो, नि हाेइन र ? हामी जागिर पूरा गर्न मात्र पढाइरहेका छौँ तर त्यो काम के हो ? त्यसको गहिराइलाई बुझेको छैनौं वा भनौँ बुझेर पनि भुल्दै आइरहेको छौँ। अरुलाई सुधार गर्छौँ भन्दै हिँडेको यो शिक्षितहरूको लहर आफ्नो कमजोरीलाई भने सुधार गर्नको साटो नजरअन्दाज गरिरहेको छौँ।
विद्यालय सधैं हामीले कारागार सम्झिएको हौँ, पढ्नु सजाय र पढाउने प्रहरी वा हिटलर सम्झिएको हौँ। एउटा शिक्षकको जीवन यो दुनियाँमा आउने हरेक नागरिकलाई सक्षम र शिक्षित बनाउँछु भन्दै बित्छ। शिक्षण मात्र एउटा त्यस्तो पेसा हो जसले सबैलाई शिक्षित हुनुपर्छ भन्ने माग राख्दछ। शिक्षक मात्र एउटा त्यस्तो पेसा हो जसले पारिश्रमिक पनि मानिसलाई क्षमतावान र विद्वान बनाए बापत पाउँछ। जति विद्यार्थीहरू राम्रो पढ्छन् नि त्यति नै शिक्षकले सम्मान, पारिश्रमिक र स्थान पाउँछ। यो विश्वका जो पनि ठुला–ठुला विद्वानहरू छन् वा ठुलो–ठुलो डाक्टर, पाइलट, इन्जिनियर, वकिल, कर्मचारी, इत्यादि छन् के लाग्छ ? डाक्टरलाई डाक्टरले पढाएर ऊ डाक्टर भएको हो ? अनि पाइलटलाई, इन्जिनियरलाई, वकिल, कर्मचारी ? यत्तिकै त्यो पद पाएको हाेइन पहिला उसलाई शिक्षकले कखग सिकाएर, पढ्नुपर्छ भन्ने बनाएर, लक्ष्य राख्न सक्ने बनाएर, उसको लक्ष्यसम्म डोहोर्याएर अनि त्यो ठाउँमा पुगेको हो। तपाईं, म आज यो स्थानमा हुनुमा दोस्रो योगदान आमा-बुवाको छ। पहिलो योगदान तपाईंलाई पढाउने हरेक शिक्षक शिक्षिकाको छ। तपाईं र म आफ्नो लक्ष्यसम्म पुग्ने मार्गतिर सक्षम भएर लाग्ने हो भने हरेक शिक्षकहरूको लागि हरेक दिन ‘टिचर डे’ हुनेछ। गुरूपूर्णिमा हुनेछ। आफ्नो लक्ष्य र लक्ष्य देखाउने वा त्यो लक्ष्यसम्म पुर्याउने मानिसको सम्मान गर्न सिकौं।
अन्त्यमा केही प्रश्न : तपाईं अनि मैले आज गुरु पूर्णिमाबाहेक अरु दिन आफ्ना शिक्षक/शिक्षिकालाई एकपटक राम्रोसँग सम्झिएको छौँ, हामीले ? हामीलाई याद पनि छ कि हामीलाई पढाउने शिक्षक/शिक्षिका को–को हुनुहुन्थ्यो र कसरी पढाउनु हुन्थ्यो ? हामी हाम्रो शिक्षकको बारेमा कस्ता धारण राख्छौँ ?