अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन्। जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो। विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक कदम हो।
यस सफल प्रत्यारोपणसँगै मानव अंगहरूको अभावलाई सम्बोधन गर्न सुँगुरका अंग प्रयोग गर्ने दीर्घकालीन लक्ष्यको एक कदमनजिक पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन्। शल्यक्रियापछिका दिनमा मुटुले सामान्य काम गरेको चिकित्सकहरूले बताएका छन्। जुन र जुलाईमा तीन दिनको प्रयोगमा अस्वीकारको कुनै संकेत नदेखिएको उनीहरूले बताएका छन्।
यही मार्चमा एक ६७ वर्षीय पुरुषको हृदय रोगका कारण मृत्यु भएका थियो। मृत्यु हुनु दुई महिनाअघि उनले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्राप्त गर्ने पहिलो व्यक्तिको रूपमा इतिहास बनाएका थिए। उनको मेरील्याण्ड विश्वविद्यालयमा शल्यक्रियामार्फत सुँगुरको मुटु प्रत्यारोपण भएको थियो। उनका नयाँ मुटुले काम नगर्नुको कारण अहिले पनि प्रष्ट हुन सकेको छैन्।
एनवाईयू लेंगोन इन्स्टिच्युटका मुटु प्रत्यारोपण सर्जिकल निर्देशक नादेर मोआजामीले प्रक्रियाको निरीक्षण गरेका छन्। इन्स्टिच्युटले भविष्यमा अंगहरूको प्रयोग गरेर क्लिनिकल परीक्षणसहित अगाडि बढ्ने आशा राखेको उनले बताए।
एक विज्ञप्तिमा उनले भनेका छन्, ‘ मुटुको कार्य उत्कृष्ट थियो भनी बताउन पाउँदा मलाई खुसी लागेको छ। हामीले प्रत्यारोपणको समयमा केही प्राविधिक शल्य चिकित्सा परिमार्जन गर्नुपर्यो। ’