मुसलधारे वर्षाले डुबायाे आधा हिन्दूस्तान

PTI
PTI

बर्खाको मुसलधारे वर्षाले आधा हिन्दूस्तान डुबेको छ।

अविरल वर्षाका कारण सबैभन्दा बढी गुजरात, महाराष्ट्र र मध्यप्रदेशको जनजीवन तहसनहस बनेको छ।

रेल, सडक र हवाई यातायात सेवा पूर्णरूपमा बन्द छन्। विभिन्न भेगमा चौबिस घण्टा यता बाढीले कम्तीमा ७९ जनाको ज्यान गएको बताइएको छ।

लगातार वर्षापछिको बाढीले गुजरातमा ६१ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा ९ र मध्यप्रदेशमा ७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

त्यस्तै असममा बाढीका कारण दुई जनाको मृत्यु भएको छ। दक्षिण र मध्य गुजरातमा बाढीका कारण विद्यालय र कलेज बन्द भएका छन्।

गुजरातमा आउँदो पाँच दिनसम्म भारी वर्षा हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका कैयौं जिल्लाहरूमा उद्धारका लागि दर्जनौँ प्लाटुन तैनाथ गरिएको छ।

पानीले मुम्बईको भित्री तथा बाहिरी भाग डुबेको छ। महाराष्ट्रको रत्नागिरीसहित विभिन्न भागमा बाढी बढ्न सक्ने अनुमानसहित ठूलो चेतावनी दिइएको छ।

त्यस्तै, सोमबार असममा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ। सोमबार नै देशभर चट्याङ लागेर सात जनाको मृत्यु भएको छ। 

मध्यप्रदेशको राजधानी भोपालमा पनि खराब मौसमको प्रभावले उडान प्रभावित भएको छ।

मौसम विभागका अनुसार मध्यप्रदेशको भोपाल, इन्दौर, जबलपुरलगायत ३३ जिल्लामा भारी वर्षातको सम्भावना छ। 

राजस्थानका धेरै ठाउँमा डुबानमा परेका छन्। कोटा, बरान, झालवार र बून्दीमा भारी बर्षात भएपछि नदीमा पानीको बहाव बढेको छ।

चम्बलमा अत्याधिक पानी आउँदा बाँधका ढोका खोल्नुपरेको स्थानीय अधिकार बताउँछन्। 

राजस्थानमा आगामी दुई दिनसम्म वर्षाको अलर्ट जारी गरिएको छ।

तेलंगानाको गोदावरी नदीले दोस्रो खतरनाक स्तर पार गरेसगैँ पानीको सतह ५० दशमलव ४ फिट पुगेको छ।

कर्नाटकमा पनि उच्च सतर्कतामा अपनाइएकाे छ भने बिहार झारखण्ड र उत्तरप्रदेशका धेरै क्षेत्रहरू अझै पनि डुबानमा छन्।

प्रकाशित मिति: : 2022-07-12 12:22:00

प्रतिकृया दिनुहोस्