नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो 

साताको तेस्रो कारोबार दिन मंगलवार पनि नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घटेको छ।

यो दिन नेप्से परिसूचक २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको हो। यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर ४९ हजार ४१६ पटकमा रू. २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ मा खरीद विक्री भएको छ। गत सोमवार पनि नेप्से परिसूचक ९ दशमलव ७५ अंक घटेको थियो।

कारोबारमा आएका २२९ ओटा धितोपत्र मध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यसैगरी यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले गुमाएका छन्। कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६० प्रतिशत घटेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २११ मा झरेको हो। त्यसैगरी दोस्रोमा दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५ दशलमव ९२ प्रतिशत घटेर रू. २०५ कायम भएको छ। 

यो दिन सर्वाधिक खरीदविक्री सानिमा बैंकको प्रमोटर शेयरको भएको छ। कम्पनीको रू. ३० करोड २० लाख बराबरको शेयर खरीद विक्री भएको हो। कम्पनीको प्रमोटर शेयरको मूल्य प्रतिकित्ता रू. १५१ कायम भएको छ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण काबेली पावर रहेको छ। उक्त कम्पनीको रू. ११ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ।

कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो। १३ ओटा समूहमध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशलमव ८८ प्रतिशतले घटेको छ। यो दिन कुल बजार पूँजीकरण रू. २८ खर्ब ९६ अर्ब कायम भएको छ।

प्रकाशित मिति: : 2022-07-05 18:57:00

प्रतिकृया दिनुहोस्