बर्दिवास नगरपालिकाको खानेपानी उपभोक्ता समितिले लामो समयसम्म साधारणसभा नगरेको भन्दै उपभोक्ताहरूले ध्यानाकर्षण गराएका छन्। मंगलबार कार्यालयमै पुगेर स्थानीय उपभोक्ताले अविलम्ब साधारणसभा गरेर खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन्।
उपभोक्ता समितिले विधानअनुसार काम नगरेको, आयव्यय सार्वजनिक नगरेको र कार्यअवधि सकिँदा पनि मार्गप्रशस्त नगरेको जस्ता आरोप लागेका छन्। विधानानुसार तीन वर्षमा कार्यकाल सकिनुपर्ने भए पनि सात वर्ष बितिसक्दा नयाँ नेतृत्व चयन हुन सकेको छैन।
‘म्याद नाघेको समितिले कुनै पनि निर्णय र चेकमा हस्ताक्षर गर्न नपाइने विधानमा ब्यवस्था छ, तर उहाँहरूले निर्वाध रूपमा हस्ताक्षर गरेर आर्थिक कारोबार भएको देखिन्छ,’ स्थानीय देवनारायण महतोले भने।
तर खानेपानी उपभोक्ता समितिबाट कुनै पनि प्रकारको अनियमितता नभएको समितिका अध्यक्ष भोला खड्काको दाबी छ।
‘नियतवश हामिले सार्वजनिक गर्न कन्जुस्याइँ गरेका हैनौ अघिल्ला समितिले गरेको ट्रेन्डअनुसार चल्दा यो अवस्था सिर्जना भएको हो,’ अध्यक्ष खड्काले भने।
तर उपभोक्ताहरूले खानेपानीभित्रको पारदर्शिता यथाशीघ्र सार्वजनिक गर्नुपर्ने अडान लिएका छन्। खानेपानी कार्यालयस्थित अध्यक्ष खड्काको कार्यकक्षम पुगेका उपभोक्ताहरूले साउनभित्र साधारणसभा सकेर भदौमा निर्वाचन गर्नुपर्ने माग राखेका छन्।
खड्काले उपभोक्ताहरूको मागप्रति आफू संवेदनशील भएको र साउनभित्र सम्पूर्ण काम सक्ने बताए। अझै पनि विधि-विधानविपरीत खानेपानी उपभोक्ता समितिले मनोमानी गरे खबरदारीका कार्यक्रम नै गर्ने समाजसेवी शकर फुयाँलले चेतावनी दिए।
खड्का निर्वाचित वडाध्यक्ष पनि हुन्। जनताको प्रत्यक्ष नभई नहुने खानेपानी जस्तो विषयमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने अर्का उपभोक्ता निरज अधिकारीको तर्क छ।