नेपाली दूतावास लण्डनले दियो स्कटल्याण्डमा घुम्ती सेवा

लण्डनस्थित नेपाली दुतावासले स्कटल्याण्डमा संचालन गरेको घुम्तीसेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन्।

गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीकाअनुसार दुतावासले आइतवार र सोमवार गरी दुई दिन सो क्षेत्रमा घुम्तीसेवा संचालनमा ल्याएको थियो। गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दुतावासको सेवा लिएका थिए।

नेपाली दुतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो।

दुतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्याण्डले आभार व्यक्त गरेकोछ।

दुतावासको घुम्तीसेवा संचालन गर्न स्कटल्याण्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूर्ण सहयोग गरेका थिए।

एनआरएनए स्कटल्याण्डको विधान संशोधनको तयारी

यसैबीच गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदले आफ्नो विधान संशोधनको लागि सुझाव संकलन सुरु गरेको छ। सो विधान संशोधनको लागि आइतवार एक भेलाको आयोजना गरि सुझाव संकलन गरिएको विधान समितिको संयोजक उज्वल कार्कीले जानकारी दिए।

एनआरएनए स्कटल्याण्डले संघको आइसीसी सदस्य, सदस्यता शुल्क, महाधिवेशन प्रतिनिधि, सदस्यता वितरण सम्बन्धी व्यवस्थामा व्यापक विधान संशोधनको तयारी गरेको छ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा भएको भेलामा एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेल, मोहन कार्की, एनआरएनए स्कटल्याण्डका संरक्षक भोला खनाल, घनश्याम भण्डारी, सुमि भण्डारी लगायतले आआफ्नो सुझाव दिएका थिए। कार्यक्रम संचालन मनिष खत्रीले गरेका थिए।

प्रकाशित मिति: : 2022-06-28 06:01:00

प्रतिकृया दिनुहोस्