लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा

File photo
File photo

लुम्बिनी जनरल इन्स्योरेन्सले २९ असारमा साधारणसभा बोलाएको छ। सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दै छ।

सभा प्रयोजनका लागि लुम्बिनी जनरलले १५ असार बुधबार बुक क्लोज गर्ने भएको छ। जसअनुसार १४ असार मंगलबारसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्। 

यस्तै, कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव पनि पेस गर्दै छ। सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ।

सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ। आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।

कम्पनीको अधिकृत पुँजी एक अर्ब २५ करोड रुपैयाँबाट बढाएर तीन अर्ब पुर्‍याउने एजेन्डा पनि छ।
 

प्रकाशित मिति: : 2022-06-26 11:25:00

प्रतिकृया दिनुहोस्