दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो ८६ करोडको बजेट तथा कार्यक्रम

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोडको बजेट तथा कार्यक्रम पेस गरेको छ।

शुक्रबार सम्पन्न आठौं नगरसभामार्फत नगरपालिकाले कुल ८६ करोड ३ लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको हो। 

उपमेयर बिसन राईले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा चालुतर्फ अनुमानित ६१ करोड ३९ लाख ३६ हजार र पुँजीगततर्फ २४ करोड ६४ लाख ४१ हजार बजेट प्रस्तुत गरिएको छ।

संघीय सशर्त अन्तरगत चालुतर्फ ४१ करोड ६१ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख, संघीय विशेष अनुदानबाट सञ्चालित आयोजनाका लागि १ करोड ८५ लाख विनियोजन गरिएको छ। यस्तै, संघीय समपुरकबाट सञ्चालित योजनाका लागि ४० लाख, प्रदेश समपुरकबाट सञ्चालित आयोजनाका लागि १ करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ ३३ लाख २३ हजार र पुँजीगततर्फ ६६ लाख ९३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधीन र निर्माण हुने योजनाका लागि १ करोड ४४ लाख ८६ हजार विनियोजन गरिएको छ। 

यस्तै, नगरको प्रशासनिक खर्चतर्फ १३ करोड ७५ हजार, कार्यक्रम सञ्चालन खर्च ३ करोड २४ लाख, वडागत पुँजीगत योजनाका लागि ४ करोड ७५ लाख ५० हजार, वडागत चालु खर्चतर्फ १ करोड ४६ लाख र क्रमागत ठूला आयोजनाका लागि ३ करोड ८ लाख विनियोजन गरिएको छ।

वडामा विगतको तुलनामा पुँजीगततर्फ ६ लाख र चालुमा १ लाख थप बजेट पठाइएको उपमेयर राईले जानकारी दिए। कार्यक्रममा मेयर तीर्थराज भट्टराईले नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: : 2022-06-24 20:26:00

प्रतिकृया दिनुहोस्