बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता (भिडियो)

बूढानीलकण्ठ नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बिहीबारदेखि सुरु भएको दशौँ नगरसभाको पहिलो बैठकमा चालू आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

नगरसभा सदस्यलगायत राजनीतिक दलको उपस्थिति रहेको नगरसभा उद्घाटन कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मिठाराम अधिकारीले आगामी आर्थिक वर्ष बूढानीलकण्ठमा नगरको लागि ‘तीव्र विकासको वर्ष’ हुने बताए।

त्यसैगरी नगर सरकारको नीति तथा कार्यक्रम ‘सुखी नागरिकः समृद्ध नगर’ को आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित रहने बताउँदै नगर उपप्रमुख अनिता लामाले नागरिकले अनुभूति गर्नेगरी विकासको प्रतिफल वितरण, शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार, क्रमागत आयोजना सम्पन्न, कृषि, पर्यटन, उद्योग, व्यापार, लगानीको वातावरण निर्माणलगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको बताइन्।

सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि चालू आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रमा हालसम्म भएका क्रियाकलापहरु समेटी ‘नागरिकको इच्छा, जीवन उपयोगी शिक्षा’ घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यसैगरी संस्थागत विद्यालयहरुबाट लिने गरिएको कक्षा ८ को परीक्षा शुल्कमा पूर्ण रुपमा छुट गरिने बूढानीलकण्ठको नीति तथा कार्यक्रममा उल्लेख छ।

‘स्वच्छ जीवन, सुखी नागरिक’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर उपप्रमुख लामाले हिंसा पीडित महिलाको लागि मनोपरामर्शसहितको अब्जर्भेसन कक्ष र फरेन्सीक ल्याबको व्यवस्था गरिने बताइन्।

कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सारिएको नीति तथा कार्यक्रममा किसानलाई उत्पादनमा आधारित अनुदान दिने नीति अवलम्बन गरिने जनाइएको छ।

कृषि उत्पादन मूल्य र बजारीकरणका लागि बीउ, बिजन प्राङगरिक मल, आधुनिक उत्पादन प्रविधियुक्त सामग्री सहुलियत गरिने बताउँदै अनुदानको व्यवस्था मिलाउने नीति नगरपालिकाले लिएको उल्लेख गरिन्।

स्वरोजगाार सृजना गर्न टेवा पुर्याएका साना तथा घरेलु उद्योग र स्थानीय सीप स्रोतमा आधारित व्यवसायीलाई कर छुट गर्दै स्तरोन्नतिका लागि अनुदानको व्यवस्था मिलाइने नगर सरकारको नीति कार्यक्रममा समेटिएको छ।

नगरपालिकाको वडा नंं १३ स्थित रहेको चुनिखेल क्षेत्रको खाली जग्गा वडा नं. ४ र ६ स्थित रहेको विष्णुमती करिडोर क्षेत्रमा व्यवस्थित शहरी विकास परियोजना सञ्चालन गरिने छ।

नगरभित्र बसोबास गर्ने सबै बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालय जाने अवस्था सृजनाका लागि आवश्यक पर्ने दिवा खाजाको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यसैगरी सबै प्रकारका रोजगारमा आवद्ध श्रमिकहरुको श्रम सूचीकृत व्यवस्थापन तथा प्रमाणीकरण गरी परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाइने जनाएको छ।

सार्वजनिक रुपमा आवाजजावत हुने क्षेत्रहरु जस्तै बूढानीलकण्ठ मन्दिर, गोल्फुटार। कपन क्षेत्रमा स्मार्ट सार्वजनिक तथा घुम्ती शौचालयको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: : 2022-06-23 16:07:00

प्रतिकृया दिनुहोस्