ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चितः मुख्यमन्त्री राउत

बिएल संवाददाता

मधेस प्रदेश
File photo
File photo

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपबाट वञ्चित भएको बताएका छन्।

मुख्यमन्त्री राउतले पहुँच भएका मात्रले खोप लगाएको पाइएको बताए। अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग, आड्रा नेपालको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहजीकरणमा प्रदेशको आठवटै जिल्लामा कोभिड–१९ विरूद्धको खोप सुदृढीकरणमा जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सो धारणा व्यक्त  गरेका हुन्। 

मुख्यमन्त्री राउतले खोपको पहुँच बढाउन सञ्चालित उक्त परियोजनाको कामको प्रशंसा गरे। परियोजना अन्तर्गत गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई घरघरमै गएर खोप लगाइँदैछ। बालबालिकालाई पनि आगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताए।

खोप लगाउनबाट वञ्चित भएका एक लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने परियोजनाको लक्ष्य रहेको बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीले हालसम्म चार जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको र बाँकी चार जिल्लामा मंगलबारदेखि खोप सेवा सुरू गरिएको बताए।

प्रकाशित मिति: : 2022-06-21 16:16:00

प्रतिकृया दिनुहोस्